• मंसिर १३ २०८१, बिहीबार

माओवादीले पनि फिर्ता लिनेभयो मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव

चैत्र २३ २०७७, सोमबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध केही महिना पहिले दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिने निर्णय गरेको छ । तात्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा हुँदा माधव नेपाल र प्रचण्ड मिलेर राखेको अविश्वासको प्रस्ताव हाल प्रचण्ड नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रले फिर्ता लिन लागेको हो ।

चैत्र २३ गते दिउँसो २.० बजे बस्ने प्रदेशसभाको सातौं हिउँदे अधिवेशनका क्रममा माओवादी केन्द्रले औपचारिक रुपमा प्रस्ताव फिर्ता लिने भएको छ । नेकपा माओवादी केन्द्र प्रदेश नं. १ का संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले यसको पुष्टि गर्दै भनेका छन्– सोमबार बस्ने प्रदेश सभामा प्रस्तावक र समर्थकको सम्बोधनपछि उक्त अविश्वासको प्रस्ताव फिर्ता गरिने छ । सो अविश्वासको प्रस्ताव आफ्नो पक्षको तर्फबाट माधव नेपाल समूहले यस अघि नै फिर्ता लिइसकेको घोषणा गरेको छ ।

राईविरुद्ध अविश्वासको प्रस्ताव गत पुस १२ गते दर्ता गर्दा तत्कालीन नेकपाको माधव नेपाल र प्रचण्ड समूहका ३७ जना सांसदले हस्ताक्षर गरेका थिए । जसमा माधव नेपालका २२ जना र प्रचण्डका १५ जना प्रदेश सांसदहरु थिए । हाल सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रलाई आआफ्नो घरमा फर्काइदिएपछि चैत १७ गते नै माधव नेपाल समूहले उक्त प्रस्ताव फिर्ता लिइसकेको छ ।

अबका दिनमा माओवादी केन्द्रले उक्त अविश्वासको प्रस्ताव फिर्ता नलिए पनि एमालेको एकलौटी प्रदेश सरकार कायम रहने अवस्थामा माओवादीले यस्तो निर्णय गरेको हो । ९३ जना प्रदेश सांसदको सदस्य संख्या रहेको उक्त प्रदेशमा एमालेका ५१ सांसद छन् । जब कि प्रदेश सरकार निर्माणका लागि मात्र ४७ सांसद भए पुगिहाल्छ ।