• मंसिर १३ २०८१, बिहीबार

राष्ट्रपति भण्डारीमार्फत खनाललाई प्रधानमन्त्री बन्न ओलीको अफर

चैत्र २२ २०७७, आईतवार

काठमाडौं । सर्वोच्च अदालतले नेकपा बदरको फैसला गरेपश्चात् तत्कालिन दुई ठूला राजनीतिक दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पुनर्जीवन पाएका छन् ।

यी दुवै ठूला राजनीतिक पार्टीले पुनर्जीवन पाएसँगै एमाले पार्टीमा विग्रह सुरु भएको छ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल (नेपाल–खनाल) पक्षबीचको अन्तरद्वन्द्वका कारण पार्टीमा विग्रह सुरु भएको हो ।

ओली र खनालबीच चलेको अन्तरद्वन्द्वका कारण पार्टी दिनानुदिन विवादित बन्दै गएको ओली पक्षका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले बताए । बस्नेतका अनुसार, –प्रधानमन्त्री ज्यू र नेपाल–खनाल पक्षको अन्तरसंघर्षले पार्टी विग्रहको भयावहबाट गुज्रिरहेको छ । यसबाट जोगाउन नेपाल–खनालपक्ष लचिलो भएर आउनुपर्ने हुन्छ ।’

तर, नेपाल–खनाल पक्षले यो स्वीकार्न तयार छैन । नेपाल–खनाल पक्षका केन्द्रीय सदस्य निरज आचार्यका अनुसार, –‘ओली पक्षले विधान विपरीत मनमौजी पार्टीको कार्यसम्पादन, पार्टी पुनर्गठन, गुटको भेला, नेताहरूलाई पार्टीबाट निलम्बन गर्ने जस्ता कार्यले पार्टीमा उहाँहरूको पक्षले नै विग्रह ल्याएको छ ।’

नेपाल–खनाल पक्षका नेता आचार्यले भनेझै ओलीको मनमौजीका कारण आजसम्म ओली र नेपाल पक्षको मनसुबा हुन सकेको छैन । बरु ओलीलाई काउन्टर दिँदै उक्त पक्षले राष्ट्रिय भेलासमेत गरेको छ । यसका साथै उसले देशका ७७ वटै जिल्लामा समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको छ ।

उसले देशका केही जिल्लामा आफ्नो पक्षको समानान्तर कमिटी गठन गरेको जनाएको छ भने आफ्नो पक्षको भातृ संगठनमा पनि समानान्तर कमिटी गठन गरेको छ ।

यो सँगै एमाले पार्टीमा फुटको सम्भावना झनै नजिकिएको कतिपय विज्ञको आकलन छ । एउटै पार्टीमा दुई/दुई पक्षको अन्तरसंघर्ष हुनु, ओली र नेपाल–खनाल पक्षले भिन्ना–भिन्नै कमिटी गठन गर्नुले पार्टीभित्रै फुटको संशय पैदा भएको दुवै पक्षका नेताहरूले शंका गरेका छन् ।

यी दुई पक्षबीच चर्किएको विवादका कारण पार्टी फुटको सँघारमा उभिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता बढेको छ । उनी शनिबार (हिजो) खनाल निवास स्वयम्भू (डल्लु) पुगेकी थिइन् । राष्ट्रपतिले खनालसँग केही समय भेटवार्ता गरि फर्किएकी थिइन् ।

भण्डारीले एकता कायम गरेर अघि बढ्न नेता खनाललाई आग्रह गरेकी छन् । एमाले विभाजनको डिलमा पुगेका बेला राष्ट्रपतिले एकताको खाँचो परेको भन्दै खनाल निवास पुगेकी थिइन् ।

राष्ट्रपतिसँगको भेटवार्ता पश्चात् नेता खनाल भने, –‘उहाँले पार्टी एकता कायम होस्, लोकतन्त्र सुदृढ भएर जाओस् भन्नुभयो ।’ खासगरी खनालको छिमेकमा रहेका इतिहास संशोधन मण्डलका अध्यता एवं प्रवद्र्धकहरू दिनेश पन्त र महेश पन्तको घरमा जाँदा आफ्नो घरमासमेत आउनुभएको बताए ।

भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विवाद समाधान भएर जाओस् भन्ने चाहना राख्नु भएको खनालले बताए । भेटमा आफ्नो स्वास्थ्यप्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेको खनालले बताए । खनाल विगत केही महिना यता अस्वस्थ छन् ।

तथापि नेता खनाललाई राष्ट्रपति भण्डारीले भेट्नुको मुख्य उद्देश्य खनाललाई ओली पक्षतिरै फर्काउनु रहेको रहस्य खुलेको छ । खनाल पछिल्लो समय माधव नेपाल पक्षसँगै रहेर विभिन्न राजनीतिक गतिविधि गरिरहेको भएपनि स्वास्थ्य समस्याका कारण त्यति सक्रिय देखिदैनन् ।

खनाल आफ्नो पक्षका केही कार्यक्रममा अनुपस्थित भएपनि नेपाल प्रायः एक्लै सहभागिता जनाउँदै आएका छन् । खनाललाई ओलीले राष्ट्रपति भण्डारीमार्फत विभिन्न पदिय लोभ देखाउँदै आफ्नो पक्षमा फर्काउन कोसिस गरिरहेको बुझिएको छ ।

शनिवार (हिजो) खनालसँगको भेटवार्ताको क्रममा भण्डारीले ओली पक्षतिर फर्किनु भन्दै विभिन्न आश्वासन दिएको स्रोतको दाबी छ । स्रोतका अनुसार राष्ट्रपति भण्डारीले खनाललाई अबको प्रधानमन्त्री बन्नसमेत आग्रह गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले तत्काल खनाललाई भेट्न नहुने भन्दै राष्ट्रपतिलाई भेट्न पठाएको बुझिएको छ । उनले राष्ट्रपतिमार्फत खनालाई आफ्नो पक्षमै फर्किन आग्रह गरेको स्रोत बताउँछ । यदि खनाल आफ्नो पक्षमा फर्किए प्रधानमन्त्रीसमेत बनाउने अफर दिएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) र आफ्नो पक्षको नयाँ सत्ता गठबन्धनका लागि छलफल भैरहेको प्रधानमन्त्री ओलीले बताएका छन् । जसपा र आफ्नो पक्षको सरकार बन्ने भएको भन्दै खनाललाई तत्काल आफ्नो पक्षमा फर्किन भण्डारीमार्फत आग्रह गरेका हुन् ।

यदि खनाल आफ्नो पक्षमा फर्किए प्रधानमन्त्री नै बनाउने भन्दै राष्ट्रपति भण्डारीमार्फत अफर गरेको स्रोतको दाबी छ । तथापि यो अफरलाई खनालले बेवास्ता गरेको बुझिएको छ । यतिबेला राजनीतिक अवस्था अस्थिर र अपरिपक्व भएको भन्दै खनालले राष्ट्रपतिमार्फत आएको ओलीको प्रधानमन्त्री बनाउने अफर अस्वीकार गरेको स्रोत बताउँछ ।

पछिल्लो समय राष्ट्रपति भण्डारी आफ्नो काम, कर्तव्य र अधिकार विमुख हुँदै आएकी छिन् । उनी आफ्नो पदिय दायित्व र जिम्मेवारी भुलेर पार्टीको कार्यमा लिप्त छिन् ।

नेता खनाल आफू पदलोलुपताको पछि नलाग्ने बताउँदै आएका छन् । बरु पार्टी एकताको पक्षमा सधैँ उभिरहने उनको तर्क छ । यसका लागि प्रधानमन्त्री ओलीले फागुन २३ गतेपछि गरेका पार्टीका सबै निर्णय खारेज गर्नुपर्ने विभिन्न सार्वजनिक कार्यक्रममार्फत बताउँदै आएका छन् ।