काठमाडौँ /
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले संविधान अनुसार बालबालिकाको हक सुरक्षित गर्ने देशमध्ये नेपाल एशियामै उत्कृष्ट रहेको बताएकी छिन् । आइतवार काठमाडौंमा सम्बाद डबलीले आयोजना गरेको ‘बालबालिकाको नीति निर्माणको तहमा हाम्रो चासो’ विषयक एक कार्यक्रममा बोल्दै मन्त्री महतोले यस्तो धारणा व्यक्त गरिकी हुन् ।
बालबालिकालाई सडक मुक्त बनाउन सरकार लागि परेको बताउँदै मन्त्री महतोले बालबालिकालाई व्यवस्थित गर्न केही व्यवहारीक कठिनाइहरु झेलिरहेको समेत बताइन् । आफूले मन्त्रालय सम्हालेको तीन महिनामा बालबालिकाको क्षेत्रमा विभिन्न कामहरु गरेको जानकारी दिंदै उनले मन्त्रालयले बालबालिकाको अधिकार थप सुरक्षित गर्न १० वर्षे रणनीनि बनाउन लागेको समेत जानकारी गराइन् । देशमा महिलाहरुलाई आर्थिक रुपमा शसक्त बनाइयो भने बाल अधिकार समेत सुरक्षित हुने धारणा कार्यक्रममा मन्त्रि महतोले व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलन धरेलले नेपाल सडक बालबालिका मुक्त देश भएको दावी गरे । कुनैपनि समस्याको दिगो समाधानको नेतृत्व स्वयम् राज्यले नै लिनुपर्ने अनि मात्रै समस्या खास रुपमा समाधान हुने बताउँदै बालबालिकाको हकमा पनि राज्य नै लागेपछि मात्रै केही रुपमा सफल भएको धारणा उनले व्यक्त गरे । चालू आर्थिक वर्षमा मात्रै १२ सय बढी बालबालिकाको विभिन्न स्थानबाट उद्वार गरिएको बताउँदै उनले सीमापार भएका बालबालिकाको उद्वार गर्ने कार्यविधि सरकारसँग नभएको बताए । बालबालिकाको अधिकार सुनिश्चितता आर्थिक पक्षसँग मात्रै नभएर यो विषय व्यवहार र संस्कृतिसँग समेत जोडिएको उनले बताए ।
कार्यक्रममा बोल्दै बालबालिकाको खोज तलासमा काम गरिरहेको संस्था बेथेनी समाज नेपालका केन्द्रिय अध्यक्ष सुरेन रसाइलीले बालबालिकाको क्षेत्रमा नेपालमा नीतिगत तहमा धेरै काम भएको भएपनि यसलाई कार्यान्वयनमा लैजाने कुरामा सफलता प्राप्त नभएको धारणा व्यक्त गरे ।
कार्यक्रममा बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था आधार नेपालका कन्ट्री डाइरेक्टर प्रल्हाद ढकालले देशको जनसंख्याको ४२% ओगट्ने बालबालिका देशका राजनैतिक पार्टीहरुको प्राथमिकतामा नपर्नु दुःखद कुरा भएको बताए । ‘बालबालिकाले भोट नहाल्ने भएकोले होला उनीहरु पार्टीहरुको प्राथमिकतामा परेनन्’ उनको गुनासो थियो । बालबालिकाको लागि राज्यले दिएको अधिकार बढिजसो कर्णालीका बालबालिकाले प्राप्त गर्न नसकेको धारणा उनले व्यक्त गरे ।
कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्ण थापाले नेपालमा बालबालिका ओसारपसार गर्ने गिरोह नै सक्रिय रहेको बताए । थापाले अभिभावकबिहीन बालबालिकाको नागरिकताको सवाल व्यवस्थापन छिट्टो गर्नुपर्ने भनेर सरकारलाई सुझाए ।
कार्यक्रममा सिविक नेपालकी कानुनी अधिकृत देवकी पोखरेलले नेपालमा हिंसामा परेका बालबालिकाले क्षतिपुर्ती नपाएको तथ्य औंल्याइन् । कार्यक्रम सम्बाद डबलीका अध्यक्ष दिपेन्द्र रावलको अध्यक्षता भएको थियो भने डबलीका धनन्जय बुढाले संचालन गरेका थिए ।