• मंसिर ११ २०८१, मंगलवार

ओलीको कदम असंवैधानिक मान्नेहरु मिलेमा अविश्वासको प्रस्ताव पास हुन्छ : प्रदीप पौडेल, युवा नेता, नेपाली कांग्रेस

चैत्र २२ २०७७, आईतवार

(शुक्रवार नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बसेर वर्तमान ओली सरकारको विकल्प दिन आफ्नो पार्टी तयार रहेको निर्णय सार्वजनिक गरेपछि के अब नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ त भन्ने जिज्ञासा सबैतिर उठेको छ । देशमा राजनीतिक बेथिति उत्पन्न भएकाले नेपाली कांग्रेसले आइपरेको आफ्नो भूमिकासहितको जिम्मेवारी निर्वाह गर्न पछि नपर्ने धारणा अघि सारेको सन्दर्भलाई उप्काउँदै समसामयिक राजनीतिक विषयमा केन्द्रित रही गोलमिडिया संवाददाताले कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलसित लिएको अन्तर्वार्ता पाठकसामु प्रस्तुत गरिएको छ- सं)

देशमा सिर्जित राजनीतिक समस्याको समाधान गर्न नेपाली कांग्रेसले चासो देखाएन भन्ने छ, साँचो हो ?

कुरा त्यसो होइन, देशको वर्तमान असहज राजनीतिक वातावरणको अन्त्य गर्न कांग्रेस लागि परेको छ । जनताले हामीलाई पाँच वर्षसम्म प्रतिपक्षमा रहेर देश र जनताको सेवा गर्ने म्यान्डेट दिएका हुन् । यो कुरा साँचो हो । तर दुईतिहाई बहुमतको नाममा निर्मित ओली सरकारले म्यान्डेटअनुसार काम गर्न नसकी देशमा असहज वातावरण सिर्जना गरिसकेपछि हामी यही सरकारको निरन्तरता चाहेका छैनौं ।

त्यसका लागि नेतृत्व कसले गर्ने त ?

प्रतिपक्षको म्यान्डेट पाएको नेपाली कांग्रेस आफैमा ‘गभमेन्ट इन वेटिङ’ पनि हो । यसले अब हुने आवधिक निर्वाचनमार्फत् ‘फुल म्यान्डेट’ लिएर जाँदा राम्रो हुने थियो । तर देशमा राजनीतिक संकट आएपछि त्यसप्रति निरपेक्ष भएर बस्न पनि त मिलेन । प्रतिपक्षको भूमिका यहाँ आएर आकृष्ट हुन्छ । राजनीतिक पार्टीको काम कर्तव्य भनेको सिर्जित राजनीतिक संकटको समाधान पनि हो । त्यसका लागि नेपाली कांग्रेस तयार छ ।

त्यही भूमिका निर्वाह गर्नका लागि हो शुक्रवारको केन्द्रीय कार्य समितिले आफ्नै नेतृत्वमा सरकार निर्माणका लागि पहल गर्ने भनी लिएको निर्णय ?

त्यसो गर्नु पर्ने अवस्था नै सिर्जना हुन आयो । यसैका लागि नेपाली कांग्रेसले शुक्रवार संस्थागत निर्णय लिएको छ । यसको उद्देश्य भनेको वर्तमान ओली सरकारको विकल्प दिने नै हो । नेपाली कांग्रेस यसका लागि तयार छ । यो वर्तमान नेपाली राजनीतिले माग गरेको संकट समाधानको उपाय पनि हो । नेपाली कांग्रेस चूप रहँदा यसले ओली सरकारलाई समर्थन गरेको जस्तो गलत सन्देश प्रवाह पनि हुन गएको छ । यसको चिरफार पनि हुनु जरुरी छ । ओली सरकारको विकल्पमा नयाँ सरकार गठनले यो भ्रमको चिरफार पनि गर्छ । अब सरकारको विकल्प दिने गरी सबै राजनीतिक पार्टीसँग छलफल अघि बढाउने अवसरको ढोका खुलेको छ । कांग्रेस यो अवस्थामा पहल लिन तयार छ ।

कांग्रेस आफैमा गुटैगुटले भरिएको छ । सक्ला विकल्प दिन र नेतृत्व गर्न ? एमाले-माओवादीको त्यो हालत भइसक्यो ।

नेपाली कांग्रेस मात्र होइन, नेपालका राजनीतिक पार्टीहरु सबै संयुक्त मोर्चाजस्ता छन् । नेपाली कांग्रेस पनि संयुक्त मोर्चाजस्तो देखिएको छ । नेपालका राजनीतिक पार्टीहरु वास्तवमा राजनीतिक पार्टीजस्ता देखिन सकेका छैनन् । तथापि एउटा राजनीतिक पार्टीमा विचार र कार्यदिशाका हिसाबले फरक मत देखा पर्नु, पार्टीमा बहस र छलफल चल्नु स्वाभाविक पनि हो । तर हालका पार्टीमा विचार, मत र कार्यदिशाका हिसाबले भन्दा पनि स्वार्थहरुको गुट देखिन थालेको छ । यो राम्रो कुरा होइन । नेपाली कांग्रेसले आफूभित्र रहेको यो प्रवृत्तिलाई प्रजातान्त्रिक छलफलको प्रक्रियाद्वारा हल गर्दै अघि बढिरहेको छ । हामी अहिले सरकारको विकल्प दिन सक्ने अवस्थामा पनि छौं । अविश्वासको प्रस्ताव लिएर अघि बढ्छौं ।

के पारित होला अविश्वासको प्रस्ताव ?

परित हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लगिन्छ । नेपाली कांग्रेसको नेतृत्वमा नै यसलाई अघि बढाइन्छ । तर हामी एक्लैले यो काम पूरा गर्न सक्छौं भन्ने होइन । अरु राजनीतिक दलहरुको सहयोगमा यो प्रस्ताव पारित हुन्छ भन्ने हाम्रो विश्वास हो । किनकि हिजो प्रमको कदमलाई असंवैधानिक भन्ने हामी नेपाली कांग्रेस मात्र थिएनौ । अरु धेरै दलहरु थियौं । असंवैधानिक भन्ने जति सबै मिल्यौं भने अविश्वासको प्रस्ताव पारित हुन्छ । अथवा, प्रम ओलीले विश्वासको मत लिन नसक्ने अवस्था सिर्जना हुन्छ । सबै मिलेर गएमा यो कुरालाई निष्कर्षमा पुर्याउन सक्छौं ।

होइन, विकल्प दिनेबारे नेपाली कांग्रेसमा विवाद र अन्यौलता कायमै छ भन्ने कुरा बाहिर आएको छ त ?

हामी सरकारमा जाने कुरा त्यति धेरै लोकप्रिय होला जस्तो त मलाई पनि लाग्दैन । अहिले सरकारमा गएर आगामी निर्वाचनका लागि यो फलदायी होला जस्तो पनि मलाई लाग्दैन । सरकारको विकल्प दिए पनि समय धेरै लामो छैन । विकास निर्माणका काम यति छोटो समयमा निकै नै गर्न सकिएला जस्तो पनि देखिदैन । निर्माण गरिने आखिर संयुक्त सरकार नै हो । त्यसैले नेपाली कांग्रेस निर्वाचनमा गएर म्यान्डेट लिएर सरकारमा जाने चाहनामा छ ।

त्यसो भए वैकल्पिक सरकारको नेतृत्व दिन नेपाली कांग्रेस तयार छ भनेको के हो त ?

नेपाली कांग्रेसको चाहना जे भए पनि अहिले देशमा राजनीतिक संकट त खडा भएरै छाडेको छ । यसको समाधान दिन प्रतिपक्षी तयार हुनुपर्छ । किनकि, सरकार आफैले यो समस्या खडा गरेर चुनौती तेर्साएको छ, प्रतिपक्षीमाथि । देशलाई थप समस्यामा पर्न नदिन प्रतिपक्षले केही न केही कदम त उठाउनै पर्छ । यस्तो बेलामा पनि वैकल्पिक सरकार गठनमा प्रतिपक्षीले ध्यान दिएन, पहल लिएन र अरु राजनीतिक पार्टीसँग विचार विमर्श गरेन भने यसले ओली सरकारलाई समर्थन गरेको भन्ने गलत सन्देश कसरी चिरफार गर्न सक्ला ! वास्तवमा देशमा ओली सरकारको गलत कदमविरुद्ध लड्ने र त्यसको विकल्प दिने त प्रतिपक्षी नेपाली कांग्रेस नै देखियो । यो त सत्य कुरा हो । यो सत्यताको बोधसहित अब ओली सरकारको विकल्प दिन अबेर गर्नु हुँदैन भन्ने कांग्रेसको ठम्याइ हो ।

उसोभए ओली सरकारको विकल्प दिएरै छाड्छ प्रतिपक्षी नेपाली कांग्रेसले ?

मैले पहिले नै स्पष्ट पारिसके पनि । नेपाली कांग्रेस यो विकल्प दिनका लागि नै पूर्णरुपमा लागि परिरहेको छ र सत्ताविना बाँच्नै सक्दैन भन्ने होइन । हामी यो कुरामा सचेत छौं पनि । हामी नेपाली कांग्रेसको नेतृत्वमा मात्र होइन, अरुको नेतृत्वमा पनि विकल्प खोजेर अघि बढ्न तयार छौं । यसको अर्थ नेपाली कांग्रेस आफै पनि विकल्प हुुन सक्छ । अरुको नेतृत्वमा रहेको विकल्प कांग्रेसका लागि स्वीकार्य पनि हुन सक्छ । तर नेपाली कांग्रेस वर्तमान सरकारको विकल्पको पक्षमा उभिइसकेको छ ।