काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । सो पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप पार्टीले आज बैठक बोलाएको थियो । तर, अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले आजको बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिए ।
काँग्रेसले ओली सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको छ । माओवादीले काँग्रेससहित जसपासँग सत्ता सहकार्य गर्न चाहेको छ ।
शनिबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने उद्घोष गरेका थिए । शनिबार कपिलवस्तुमा आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले घनिभूतरुपमा छलफल अगाडि बढाउने बताएका हुन् ।
सम्भवत छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दाबी छ । उनको भनाइ छ, ‘नयाँ परिस्थिति बन्ने छ । सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ ।’ यस्तै प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको निर्णयबाट देशको राजनीतिले कोल्टे फेरेको पनि दाबी गरेका छन् ।