काठमाडौं । माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी गरेको छ । सो पार्टीका एक नेताले समर्थन फिर्ता लिन अब ढिला गर्न नहुने अवस्था आएकाले पार्टीले सोहीअनुसार निर्णय गर्ने बताए ।
उनका अनुसार सोही विषयमा छलफलका लागि आइतबार पार्टी स्थायी समितिको बैठक बोलाइएको छ । काँग्रेसले ओली सरकारको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेपछि उत्साहित बनेको माओवादीले समर्थन फिर्ता लिने तयारी गरेको हो । माओवादीले काँग्रेससहित जसपासँग सत्ता सहकार्य गर्न चाहेको छ ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लगायतका विषयमा छलफल हुने जानकारी दिए । बैठक बिहान ११ बजेपछि बस्नेछ । शनिबार मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने उद्घोष गरेका थिए ।
शनिबार कपिलवस्तुमा आयोजित पार्टीको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले घनिभूतरुपमा छलफल अगाडि बढाउने बताएका हुन् । सम्भवत छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दाबी छ । उनको भनाइ छ, ‘नयाँ परिस्थिति बन्ने छ । सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ ।’ यस्तै प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको निर्णयबाट देशको राजनीतिले कोल्टे फेरेको पनि दाबी गरेका छन् ।