काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा सांसद मिनबहादुर विश्वकर्माले सबै दल र स्वतन्त्र सांसदरुको सहमतिमा नयाँ सरकार बन्ने बताएका छन् ।
वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदरुको सहमतिमा नयाँ सरकार बन्ने स्पष्ट पारेका हुन् उनले भने,‘नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा नेपालबीच बृहत्त परामर्श भैरहेको छ, अब छिट्टै नयाँ सरकार गठन हुन्छ ।’
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘जनताले केपी ओली नेतृत्वको सरकारको विकल्प खोजिरहेका छन् । यो सरकारले गरेको ज्यादती अति भयो, यसले संविधान मिच्यो, यसले कानून मिच्यो, यसले जनजिविकाको विषयलाई पटक्कै हेरेन, उखान टुक्का र छलछाममा मात्रै यो सरकार व्यस्त भयो, भ्रष्टाचारमा लिप्त भयो, मुलुकमा विसंगति बढायो, त्यसको भएको हुनाले यसको विकल्पमा अर्को सरकार गठन गर्नुपर्यो, कांग्रेस किन चुप लागेर बसेको छ भन्ने दबाबका बीच हिजो भएको केन्द्रीय समितिको बैठकमा हामीले पनि आन्तरिक रुपमा लामो छलफल र बहस गरेपछि अब जनताको भावनालाई आत्मसात् गर्दै राष्ट्रिय राजनीतिक दलहरुको बेला बेलाको परामर्श र सुझावलाई ग्रहणलाई गर्दै हामीसँगै रहेको, आन्दोलनमा सँगै रहेको, सरकारमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पनि कांग्रेसको नेतृत्वसँग पटक पटक परामर्श गरिसकेपछि कांग्रेसले पनि वैकल्पिक सरकार गठन गर्ने बाटो हिजो केन्द्रीय समिति बैठकबाट खोल्यो ।’
उनले नेकपा (माओवादी केन्द्र) ले पनि तत्काल समर्थन फिर्ता लिनुपर्ने सुझाव दिए । उनले भने,‘माओवादी केन्द्रले छिटोभन्दा छिटो समर्थन फिर्ता लिनुपर्छ । आन्तरिक कारणले हो कि, वा रणनैतिक कारणले हो, अथवा प्राविधिक कारणले हो, किन हो ? उहाँहरुले फिर्ता लिनुभएको छैन् । उहाँहरुले समर्थन फिर्ता लिएर बाटो खोलिदिएपछि नेपाली कांग्रेसले सबै राजनीतिक दल, सबै भनेको केपी ओली नेतृत्वको एमाले होईन है, तर एमालेभित्रपनि उत्पीडनमा परेकाहरुसँगपनि बृहत्त परामर्श र छलफल गरेर अघि बढ्छौं । र, यो मुलुकलाई राजनीतिक निकास दिनको लागि, संसदीय पद्धतीलाई सुचारु गर्नको लागि, र अब बजेट र योजना तर्जुमा गर्ने बेलामा वैधानिक र बहुमत, र जनताको सरकार निर्माण गर्नको लागि सरकार तयार छ । यो भन्दा अगाडि पनि कांग्रेसले पहल गरिरहेको थियो । अब औपचारिक रुपमा वार्ता तथा छलफलबाट नयाँ सरकारको गठनको तयारीमा हुन्छौं ।’