काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए उनीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । शुक्रवार बसेको कांग्रेस केन्द्रीय कार्य समितिको वैठकको निर्णय सार्वजनिक भएपछि सिर्जित राजनीतिक माहौलको बीचमा नेता पौडेलले यस्तो कुरा बताएका हुन् ।
प्रम ओलीविरुद्ध अलि कडा रुपमा प्रस्तुत हुँदै आएका नेता पौडेलका लागि नेपाली कांग्रेसको शुक्रवारको निर्णयले थप कडाइका साथ बोल्ने आधार प्रदान गरेको छ । उनको दाबी छ- ओलीलाई प्रमबाट नहटाए लोकतन्त्र खतरामा पर्छ । उनी थप्छन्- ‘उहाँले राजीनामा दिनुहुन्न भने अविश्वास प्रस्ताव राखेर हामी हटाउँछौं ।’
शनिवार नुवाकोट कांग्रेसले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा नेता पौडेलले प्रतिनिधिसभा बिघटनविरुद्ध आवाज उठाएका दलहरुका बीचमा सहमति गरेर अविश्वासको प्रस्ताव अघि बढाउने बताए । यसका लागि प्रतिगमनविरुद्ध संघर्ष गरेका दलबीच समझदारी र सहमति गरेर हटाउने प्रस्ताव तयार गरिने उनको दाबी रहेको छ ।
नेपाली कांग्रेसकै नेतृत्वमा सरकार गठनको पहल गरिने र जनता समाजवादी पार्टीका मागहरु पनि पूरा गर्न कुनै कसर बाँकी नराख्ने नेता पौडेलको भनाइ रहेको छ ।