• मंसिर १३ २०८१, बिहीबार

भिन्न परिस्थिति सिर्जना भयो, नयाँ सरकार बन्छ : प्रचण्ड

चैत्र २१ २०७७, शनिबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिस्थिति बदलिंदै गएकाले अबका केही दिनमा नयाँ सरकार बन्ने दाबी गरेका छन् । ‘वेटिङ सरकार’ का रुपमा रहेको प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्री केपी शर्माओलीको राजीनामा मागेसँगै नेपाली राजनीतिमा भिन्न माहौल सिर्जना जान थालेका बेला प्रचण्डको यो अभिव्यक्ति आएको हो ।

शुक्रवार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको वैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय लिएसँगै देशको राजनीतिले कोल्टे फेर्न थालेको महसुस हुन थालेको हो । यसैलाई इंगित गर्दै प्रचण्डले आफ्ना कार्यकर्ताहरुका माझ शनिवार कपिलवस्तुमा बोलेका छन्– ‘सम्भवतः छिट्टै नयाँ सरकार बन्छ ।’

ओली सरकारका विपकल्पमा नयाँ सरकार निर्माण गर्न हर प्रयत्नमा जुटेका उनी नेपाली कांग्रेसको पछिल्लो निर्णयबाट निकै उत्साहित देखिएका छन् । नयाँ सरकार निर्माणका लागि उनी आफैले पनि सरकारइतरका सबै पक्षहरुसँग कुराकानी गर्ने बताएका छन् । नयाँ सरकार गठनका लागि विना ढिलाई लागि पर्ने उनको भनाइ रहेको छ ।

मौका पाउनासाथ अन्तरविरोधमा खेलिहाल्ने बानी रहेका प्रचण्डले सरकारी एमाले र जनता समाजवादी पार्टीका बीचमा चारो खोजेर कुरा अघि बढाउन थालिसकेका छन् । कार्यकर्ता माझ बोल्दा उनले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर ‘आफू ओलीसँग बस्दा हैरान भएकाले मधेसी अधिकारको पहिचान बोकेको जनता समाजवादी पार्टी कसरी ओलीसँग सँगै बस्नसक्छ’ भनेर प्रश्न पनि गरिसकेको खुलासा गरेका छन् । उनले ठाकुरलाई ओलीसँग मिलेर मधेसी जनताको आत्मसम्मानमा चोट नपुर्याउन आग्रह गरेको पनि बताएका छन् ।

नेपाली राजनीतिमा आउन थालेको थोरै वा पात्र परिवर्तन मात्र पनि ठूलो इश्यु बनाइने प्रचलन नेपालमा विगत देखि रहिआएको छ । हाल पनि ओलीको ठाउँमा शेरबहादुर देउवाको विकल्प देखिदा प्रचण्डमा यही उत्साहले काम गरिरहेको देखिन्छ । नेपाली कांग्रेसले खुट्टा नकमाएमा र बोली नफेरेमा नेपालमा सरकार परिवर्तनको बलियो संकेत भने देखा परिसकेको छ ।