• मंसिर ११ २०८१, मंगलवार

वैज्ञानिक टेस्ला: जसले मार्कोनीभन्दा पहिले नै रेडियो बनाएका थिए

चैत्र २१ २०७७, शनिबार

शीर्षक देखेरै सायद तपाईंलाई अनौठो लागिसक्यो होला । विज्ञानमा रुची राख्ने तपाईंलाई त अझ रिसै उठिसक्यो होला । किनकि हामीले सधैंभरि मार्कोनीले रेडियो निर्माण गरेको भनेर सुन्दै र पढ्दै पनि आएका छौं । आज फेरि यो कहाँको जान्ने पल्टिएर निकोला टेस्लाले रेडियो बनाए भनेर भन्दैछ भन्दै तपाईं मुर्मुरिंदै हुनुहुन्छ पनि होला । तर कुनै गाह्रो नमान्नुहोस र झर्को पनि नमान्नुहोस् । यो सत्य हो कि मार्कोनीको भन्दा टेस्लाले नै पहिले रेडियोको निर्माण गरेका थिए । आउनुस् बरु यी महान् वैज्ञानिक निकोला टेस्ला को थिए ? र, उनले यसबाहेक अरु केके गरेका थिए त्यो जान्ने कोसिस गरौँ ।

को हुन् निकोला टेस्ला ?

सर्बियाली वैज्ञानिक तथा अमेरिकी आविस्कारक, भौतिकशास्त्री, यान्त्रिक अभियन्ता र विद्युतका विशेषज्ञ उनी विज्ञान तथा प्रविधिको क्षेत्रका विशाल ज्ञानको विशाल भण्डार नै थिए । उनी ८ वटा भाषा ( English, French, Czech, Serbo-Croatian, German, Hungarian, Latin र  Italian)बोल्न र लेख्न सक्थे । एकचोटी पढेकै भरमा उनले पूरै किताब नै कण्ठ पार्न सक्ने मात्रै होइन, बाहिरबाट एकचोटी देखेकै भरमा कुनैपनि मेसिनको पूरा निर्माण गर्न सक्थे । वास्तवमा थोमस एल्बा एडिशनले चार्ज भनेको के होला भनेर थाह पाउनुभन्दा पहिले नै टेस्लाले एसी (अल्टरनेटिभ करेण्ट)( Alternative Current- AC)  को आविष्कार गरिसकेका थिए । रोयण्टजेनले बनाएको एक्स–रे मात्रै होइन, वाटसन–वाटले बनाएको रेडार साथै अमेरिकाको नायग्रा झरनाको संसारकै पहिलो जलविद्युत आयोजना, ट्रान्जिस्टर, अन्तरीक्षको रेडियो तरंग रेकर्डर सबै मानव समुदायको लागि टेस्लाले गरेका आविष्कार हुन् । यतिमात्रै होइन भू–कम्प मेसिन, आधुनिक विद्युतीय मोटर, नियोन लाइटिङ्ग साथै रिमोट कन्ट्रोल समेत टेस्लाले आविष्कार गरेर मानव समुदायलाई हस्तान्तरण गरेका योगदान हुन् । उनको  आफ्ना आविष्कार बिस्तार गर्दै जाने तर बाहिर प्रस्तुत नगर्ने भएकोले धेरै वैज्ञानिकले उनका आविष्कार चोरेका थिए । उनको आविष्कार चोर्ने मध्येका एक मार्कोनी थिए भने अर्का थोमस एल्बा एडिशन । मानव समुदायलाई विभिन्न आविष्कार गरेर दिने कुरामा उनी यति लीन थिए कि वैज्ञानिक अनुसन्धान र आविष्कारमै लगिरहन उनले बिबाह समेत गरेनन् ।

जन्म र बाल्यकाल

वैज्ञानिक निकोला टेस्ला
वैज्ञानिक निकोला टेस्ला

वैज्ञानिक निकोला टेस्लाको जन्म एक क्रिश्चियन धर्मगुरुको परिवारमा सन् १८५६ जुलाई १० मा क्रोएसियाको स्मिलजान (यो स्मिलजान एरिया हाल सर्बियामा पर्छ) एरियामा भएको थियो । उनका बुवाको नाम मिलुटिन टेस्ला र आमाको नाम जुका म्याण्डिक हो । निकोला टेस्ला उनका आमा बुवाका चौथो सन्तान थिए । स्मिलजानकै एक प्राथमिक विद्यालयमा उनको प्रारम्भिक शिक्षा सुरु भएको थियो । प्राथमिक विद्यालयमा उनले धर्मशास्त्र साथै गणित पढ्न थाले । १८६२ मा टेस्ला परिवार गोस्पिक भन्ने स्थानमा बसाइँ सर्यो । गोस्पिकमै टेस्लाले जिम्नेजियम विद्यालयमा भर्ना भएर प्राथमिक शिक्षा त्यही पूरा गरे । ‘हुने बिरुवाको चिल्लो पात’ भने झैं टेस्ला सानैदेखि तीक्ष्ण दिमागका थिए । कतिसम्म भने प्राथमिक विद्यालयमै शिक्षकले नजानेको इण्टिग्रिल क्याल्कुलशको एउटा समस्या उनले हल गर्दा शिक्षकले उनलाई चोरेर गरेको आरोप समेत लगाएका थिए । १८७३ मा १७ वर्षको हुँदा टेस्ला केही समय बिताउन भनेर आफ्नै गृहनगर स्मिलजान आए । स्मिलजान आएर बस्दा उनले मृत्युको सामना गर्नुपर्यो । हैजाले उनलाई समात्दा झण्डै त्यहाँ उनले जीवन नै गुमाए । नौं महिना ओछ्यानमा परेर बल्ल तल्ल उनी हैजाबाट उम्किए ।

उच्च शिक्षाको लागि अस्ट्रिया

हैजालाई जितेर उठेपछि १८७५ मा उच्चशिक्षा अध्ययनको लागि उनी अस्ट्रिया गए । अस्ट्रियाको ग्रेजस्थित पोलिटेक्निक इन्स्टिच्युटमा मेकानिकल साथै विद्युतीय इन्जिनियरिङ्ग विषयमा उनले अध्ययन थाले । तर अफसोच १८७८ मा पारिवारिक समस्याका कारण उनले बिचमै पढाइ छोड्नु पर्यो । १८७९ मा उनका बुवा मिलुटिन टेस्लाको निधन भएपछि त झन् उनी गोस्पिक फर्किनु पर्यो । गोस्पिकमा उनले आफूले पढेको विद्यालयमा केही समय पढाए । १८८१ मा उनी हंगेरीको बुढापेस्ट पुगे, जहाँ उनले त्यहाँको केन्द्रिय टेलिफोन एक्सचेन्ज कार्यालयमा काम पाए । त्यहाँ काम गर्दैगर्दा उनलाई चुम्बकीय क्षेत्रमा परिभ्रमणसम्बन्धी एकदमै नयाँ जुक्ति फुर्यो । त्यो जुक्तिलाई आविष्कार गरेर मुर्तरुप दिन उनले अमेरिका जाने निर्णय गरे ।

अमेरिका प्रस्थान

१८८४ मा २८ वर्षका कल्कलाउँदा युवा निकोला टेस्ला अमेरिकाको न्युयोर्क पुगे । त्यहाँ उनको त्यतिबेलाका विश्वकै महान वैज्ञानिक थोमस एल्बा एडिशनसँग काम गर्ने इच्छा थियो । न्युयोर्क एडिशनको कार्यालयमा पुग्दा टेस्लाको गोजी रित्तो भैसकेको थियो । उनीसँग थियो त केवल ४ सेन्ट पैसा, तर उनीसँग पैसा नभएपनि केही गणितका फर्मुलाहरु (Mathematical Computation) , उड्ने मेसिनको स्केच जुक्ति र थियो एडिसनका युरोपियन व्यापार साझेदार चार्ल्स व्याचलरको सिफारिस पत्र ।

चार्ल्स व्याचलरले सिफारिस पत्रमा लेखेका थिए, ‘प्रिय एडिसन महोदय, म दुई महान् मानिसबारे जानकारी राख्दछु र तपाईं तिनीहरुमध्ये एक हुनुहुन्छ । अर्को चाहिँ यही पत्र लिएर आएको केटो हो ।’ (My dear Edison, I know Two great men and you are one of them. The other is this young man.)  टेस्लासँग भेट भएको समयमा एडिशनले भर्खरै फिलामेन्ट चिमको आविस्कार गरेका थिए । एडिशन एक वैज्ञानिक मात्रै नभएर उनी एक व्यापारी समेत थिए । टेस्लाले आफूले गरेका इञ्जिनियरिङ्गसम्बन्धी कामबारे एडिशनलाई बताए साथै (एसी विद्युत) अल्टरनिटिङ्ग करेन्ट मोटर बारेको आफ्नो अवधारणा पनि उनलाई सुनाए । त्यतिबेला विद्युत प्रणाली एकदम जोखिमयुक्त थियो । डिसी करेन्टमा रहेका खराबीहरु हटाउन एडिशनले टेस्लालाई नियुक्त गरे । रातदिन काम गरेर टेस्लाले उक्त काम फत्ते गरे वा भनौं डीसी करेन्टमा भएका खराबी हटाए ।

वैज्ञानिक निकोला टेस्ला
वैज्ञानिक निकोला टेस्ला

थोमस एलल्बा एडिशनले टेस्लालाई धोका दिए

टेस्लाको दाबीअनुसार सो काम सफलतापूर्वक सम्पन्न गर्न सके एडिशनले उनलाई ५० हजार अमेरिकी डलर दिने सम्झौता थियो । काम सफलतापूर्वक सम्पन्न गरिसकेपछि टेस्लाले सम्झौता अनुसारको रकम एडिशनसँग माग गरे । महिनौंसम्म रात र दिन नभनी अथक परिश्रम र अनुसन्धान गरेर आफ्नो जिम्माको काम टेस्लाले सफलतापूर्वक सम्पन्न गरेका थिए । रकम माग गर्दा सम्झौता अनुसारको रकम दिनुको सट्टा एडिशनले टेस्लालाई हाँसो मजाकमा उडाउँदै एक हाँस्य पात्रको रुपमा चित्रित गरे । सम्झौता अनुसारको रकम नदिने बरु उनको साप्ताहिक पारिश्रमिक १० डलरबाट बढाएर १८ डलर पुर्याइदिने प्रस्ताव एडिशनले उनलाई राखे । एडिशनको यस्तो व्यवहारबाट टेस्लाले आफूलाई धोका भएको साथै अपमान गरेको महशुस गरे । एडिशनलाई छोडेर टेस्ला हिंडे ।

एडिशनसँगको प्रतिस्पर्धा 

मानिसलाई कसैले धोका दिएपनि कोही न कोही साथ निभाउन आइहाल्छ । झन वैज्ञानिकलाई त त्यस्ता साथ दिने मानिस पाउन अझ सजिलो हुन्छ । अब टेस्लाले उद्योगपति जर्ज वेस्टिङ्ग हाउस सँगको सहकार्यमा एसी विद्युत सिस्टम (AC Current System) सम्बन्धी काम गर्न थाले । टेस्लाले पछि एसी विद्युत सिस्टम (AC Current System) सम्बन्धी  आफूले पत्ता लगाएका ४० आविष्कारका स्वामित्व वेस्टिङ्ग हाउसलाई दिएका थिए । जसको पेटेण्ट मूल्यबापत उनले वेस्टिङ्ग हाउसबाट ६० हजार अमेरिकी डलर प्राप्त गरेका थिए । यस बाहेक उनले प्रति हर्षपावर विद्युत उत्पादन वापत साढे दुई अमेरिकी डलर रोयल्टी पाउने भए । वेस्टिङ्ग हाउसबाट भएको आम्दानीले उनले आफ्नै प्रयोगशाला स्थापना गरे । अब अमेरिकामा टेस्लाको एसी  करेन्ट (AC)  प्रयोग गर्ने कि एडिशनको डीसी करेन्ट (DC) प्रयोग गर्ने भनेर ठूलो हलचल मच्चियो । टेस्लाको एसी करेन्ट (AC) सिस्टम कम त्रुटिरहित र प्रयोग योग्य थियो त्यसकारण एडिशनको डीसी करेन्ट( DC) प्रयोग नगरेर मानिसले टेस्लाको एसी करेन्ट (AC) सिस्टम प्रयोग गरे । टेस्लाले सन् १८९१ मा घरायसी प्रयोजनमा प्रयोगमा आउने ६० हर्जको एसी करेन्ट (AC) सिस्टमसम्बन्धी पेटेन्ट दर्ता गराए । त्यसपछि उनले टेस्ला क्वाइल  (Tesla Coil) आविष्कार गरे । हो त्यही टेस्ला क्वाइल  (Tesla Coil) आज प्रर्यन्त रेडियो तथा टेलिभिजन सेटहरुमा प्रयोग हुँदै आएको छ ।

साढे दुई करोड मानिसमा विस्वास 

कोलम्बसले अमेरिका पत्ता लगाएको चारसयौं वर्षगाँठको अवसरमा अमेरिकाको शिकागो शहरमा शिकागो विश्वमेला  (Chicago World Fair) आयोजना हुँदै थियो । यो यसकारण पनि अर्थपूर्ण थियो विद्युतीय प्रकाश प्रयोग गरेर सम्पन्न गर्न लागेको यो पहिलो ठूलो प्रदर्शनी थियो । मेलालाई झलमल बनाउने जिम्मा टेस्ला र वेस्टिङ हाउस कर्पोरेशनलाई आएको थियो । यो जिम्मा टेस्ला र वेस्टिङले एडिशनलाई प्रतिस्पर्धामा जितेर प्राप्त गरेका थिए । मेलामा जम्मा भएका साढे दुई करोड मानिसको बीचमा १८९३ मे १ को साँझ अमेरिकाका तत्कालिन राष्ट्रपति ग्रोभर क्लेभल्याण्डले जब स्वीच अन गरेर मेला उदघाटन गरे, तब त्यो मेला स्थल एउटा प्रकाशको शहर जस्तै बन्यो । उक्त मेलामा उपस्थित मानिसहरुलाई टेस्लाले एकैचोटी AC करेन्ट सिस्टमको बारेमा जानकारी गराउन सफल भए । त्यसपश्चात आजपर्यन्त AC करेन्ट विद्युतीय क्षेत्रमा उर्जा प्रणालीको मानकको रुपमा स्थापित छ ।

वैज्ञानीक निकोला टेस्ला
वैज्ञानीक निकोला टेस्ला

संसारको पहिलो विद्युत गृह

उनी अर्थात् निकोला टेस्ला बाल्यकालदेखि नै प्रकृतिबाट कसरी उर्जा उत्पादन गर्न सकिन्छ ? भनेर चिन्तन मनन गरिरहन्थे । दिन यस्तो पनि आयो अब चिन्तन र कल्पनाले साकार रुप लिने भयो । उत्तर अमेरिकामा अवस्थित नायगरा झरणामा ‘पावर हाउस’ निर्माण गर्न सन् १८९५ मा एउटा अन्तर्राष्ट्रिय स्तरको नायगरा झरना आयोग बन्यो । टेस्लाले सो नायगरा झरणामा बन्ने जलविद्युत गृहको  डिजाइन सफलतापूर्वक सम्पन्न गरे । डीसी (DC) करेन्टमाथि एसी (AC) करेन्टको विजयको यो अर्को स-शक्त कदम साबित भयो । सो काम सफल भएपछि टेस्ला न्यूयोर्कमा भएको आफ्नै प्रयोगशालामा आए । उनको प्रयोगशालाको नाम South Fifth Avenue थियो ।  आफ्नो प्रयोगशालामा उनले १८९६ मा एक्स–रे ट्युवको डिजाइन मात्रै गरेनन् निर्माण पनि गरे । तर टेस्लाले एक्स–रेको आविस्कार आफूले पहिले  गरेको भनेर कहिल्यै दाबी गरेनन् । बरु अर्का वैज्ञानिक रोयण्टजनले टेस्लाको स्तरीय एक्स–रे इमेजको प्रशंसा गर्दै विभिन्न लेखहरु लेखे ।

रेडियोका वास्तविक आविस्कारक टेस्ला

अब हामीमाथि शीर्षकमा लेखिएको विषयबारे बुझ्ने बिन्दुमा आइपुगेका छौं । हुन पनि आजसम्म रेडियोको आविस्कार मार्कोनीले गरेका हुन् भनेर पढ्दै, पढाउँदै र सुन्दै आएका हामीलाई यसरी एक्कासी टेस्लाको बारेमा सुन्दा अस्वाभाविक लाग्नु ठीकै हो । किनकि जे लेखिएको छ त्यो पढ्नु पनि नराम्रो कहाँ हो र ? तर बुझ्दै जाँदा कुरा अर्कै भेटिने रहेछ त । निकोला टेस्लाले सन् १८९६ मा नै रेडियोको आधारभूत प्रणालीसम्बन्धी प्रतिलिपि अधिकार (पेटेन्ट राइट) दर्ता गराइसकेका थिए । जसमा उनले रेडियो ट्रान्समिटरमा लाग्ने सबै मूलभूत तत्वहरुको व्याख्या गर्दै रेखाचित्र  (Schematic Diagrams)  निकालेका थिए । त्यही वर्ष उनले आफ्नो प्रयोगशालाबाट म्यानहटनसम्म रेडियो संकेत प्रसारण गर्ने काममा सफलता प्राप्त गरे ।

उनले बनाएको यही रेडियो उपकरणबाट नै आधुनिक रेडियोको आविस्कार भएको हो । बरु कुरा यो हो कि त्यही समयमा इटालीका वैज्ञानिक मार्कोनीले बेलायतमा यही विषयमा अनुसन्धान गरिरहेका थिए । मार्कोनीले  १८९६ मा नै  तारबिहीन टेलिग्राफीको पहिलो प्रतिलिपि अधिकार (पेटेन्ट राइट) दर्ता गरेका थिए । मार्कोनीको रेडियो संकेतले केही दुरी मात्र पार गर्न सक्थ्यो । अर्को कुरा के हो भने सन् १९०१ मा मार्कोनीले टेस्ला ओसीलेट (Tesla Oscillator) प्रयोग गरी रेडियो संकेतलाई English Channel पार गराउन सफल भएका थिए । टेस्लाले १८९६ मै रेडियो अप्लिकेशनसम्बन्धी प्रतिलिपि अधिकार (पेटेन्ट राइट) अमेरिकामा दर्ता गराएका थिए । जबकि पछि मार्कोनीले १९०० नोभेम्बरमा मात्रै आफ्नो प्रतिलिपि अधिकार (पेटेन्ट राइट) दर्ता गराएका थिए । यो आविष्कारको विषयलाई लिएर १९०० देखि १९०३ सम्म चर्को बिबाद भयो । १९०३ मा अमेरिकाको प्रतिलिपि अधिकार कार्यालय (पेटेन्ट अफिस) ले यसबारे निर्णय गर्दै मार्कोनीले दर्ता गरेको एप्लिकेशन प्रतिलिपि अधिकार (पेटेन्ट राइट) दिन योग्य नभएको बताएको थियो । किनकि यही खालको अप्लिकेशन आविष्कारका पेटेन्ट ६४५,५७६ र ६२१ टेस्लाले पहिल्यै दर्ता गराइसकेका थिए । एक सन्दर्भमा टेस्लाले भनेका थिए कि मार्कोनीले उनका १७ वटा पेटेन्ट प्रयोग गरिरहेका छन्, तर पनि उनले मार्कोनीलाई एक असल विद्वान भएको बताएका थिए ।

निकोला टेस्लाको रेडियो तरङ्ग
निकोला टेस्लाको रेडियो तरङ्ग

तर अमेरिकाको पेटेन्ट कार्यालयले आफ्नो निर्णय उल्ट्याउँदै १ वर्षपछि सन् १९०४ मा रेडियो आविष्कारको पेटेन्ट राइट एक्कासी मार्कोनीलाई दियो । पेटेन्ट कार्यालयको यस्तो विवादित कदमप्रति टेस्ला निक्कै आक्रोशित भए । उनले मार्कोनीविरुद्ध क्षतिपूर्ति सहितको मुद्दा अदालतमा दायर गरे, तर अफसोच टेस्लाको मुद्दामा फैसला हुन ढिला भयो । ३९ वर्षपछि सन् १९४३ मा टेस्लाले दायर गरेको मुद्दामा फैसला गर्दै अमेरिकी सर्वोच्च अदालतले रेडियो आविष्कारको वास्तविक हकदार निकोला टेस्ला नै भएको बतायो । बिडम्बना नै मान्नुपर्छ कि अर्काको आविष्कारबाट सन १९०९ मा मार्कोनीले रेडियोको आविष्कार गरेको भन्दै भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार नै प्राप्त गरिसके ।

१९४३ जतिबेला अमेरिकाको सर्वोच्च अदालतले रेडियो आविष्कार टेस्लाले नै गरेको फैसला गर्यो । त्यतिबेला टेस्लाको भौतिक शरीरले यो पृथ्वी छोडिसकेको थियो । अर्थात् रेडियो आविष्कार गरेको श्रेय पाउने बेला टेस्लाको मृत्यु भैसकेको थियो । टेस्लाले रेडियो आविस्कारबारे पहिलो प्रदर्शन १८९३ मा अमेरिकामा फिलाडेल्फियाको फ्रांकलिन इन्स्टिच्युटमा प्रस्तुत गरेका थिए । उनले आविष्कार गरेका ४ वटा सर्किटहरु आज पनि रेडियो र टेलिभिजनमा प्रयोग भइरहेका छन् । यति बुझिसकेपछि अब तपाईं भन्नुहोस् कसले रेडियो आविस्कार गर्यो ।

नोबेल पुरस्कार अस्वीकार गरेका वैज्ञानिक

प्रयोगशालामा सघाएवापत दिने भनेर सम्झौता गरेको रकम नदिएपछि टेस्ला थोमस एल्बा एडिशनबाट धोका खाएर छुट्टिए । छुट्टिएपछि आविष्कारको दुनियाँमा टेस्लाको टकराव एडिशनसँगै पर्यो । धोका दिएको कारण टेस्ला एडिशनको नाम समेत सुन्न नसक्ने भएका थिए । उता सहकार्य टुटेपछि आफूलाई एकपछि अर्को स्थानमा हराउँदै गएकाले एडिशन पनि टेस्लालाई देखिखान नसक्ने गरी मुर्मुरिएका थिए । यी दुई महान वैज्ञानिकहरुबीचको सम्बन्ध कतिसम्म खराब भएको रहेछ भने सन् १९१५ मा भौतिकशास्त्रको नोबेल पुरस्कार एडिशन र टेस्लालाई संयुक्त रुपमा प्रदान गर्ने घोषणा गरियो, तर उनीहरु दुबैजनाले यो पुरस्कार अस्वीकार गरे । त्यतिबेला वैज्ञानिक वृत्तमा उनीहरुको व्यक्तिगत सम्बन्धमा भएको तिक्तताको कारण पुरस्कार लिन उनीहरुले अस्वीकार गरेको चर्चा समेत चलेको थियो । सायद उनीहरुबीचमा रहेको जब्बर प्रतिद्वन्द्विताले गर्दा उनीहरुले यो पुरस्कार अस्वीकार गरे ।

निकोला टेस्लाको जन्मस्थान स्मिलजानमा बनेको उनको शालिक
निकोला टेस्लाको जन्मस्थान स्मिलजानमा बनेको उनको शालिक

र, अन्त्यमा :

भनिन्छ, वैज्ञानिक टेस्लाले युद्ध अन्त्य गर्ने पनि हतियार बनाएका थिए । युद्ध अन्त्य गर्ने हतियार बारेको उनले एउटा अवधारणा पत्र बनाएका थिए र सो अवधारणा पत्र उनले अमेरिका, बेलायत, क्यानडा, फ्रान्स र सोभियत युनियन (रुस) लगायतका देशमा पनि पठाए । तर कुनै पनि देशले यो अनुसन्धानमा चासो देखाएनन् । टेस्लाले यो पृथ्वी र मानव समुदायलाई जति योगदान दिए त्यसको तुलनामा उनको चर्चा एकदमै कम हुने गरेको छ । उनको नाममा ६०० भन्दा बढी आविष्कार र अनुसन्धानका प्रतिलिपि अधिकारहरु रहेका छन् । उनकै सम्मानमा चुम्बकीय फ्लक्स घनत्व ( magnetic flux density)  इकाइको नाम नै टेस्ला राखिएको छ । अमेरिकाको हुलाक सेवा विभागले १९८३ मा उनको चित्र अंकित हुलाक टिकट निकालेको छ । १९७६ देखि इन्स्टिच्युड अफ इलेक्ट्रिकल इञ्जिनियर्सले सम्मानित पुरस्कार ‘द टेस्ला अवार्ड’ स्थापना गरी वार्षिक रुपमा प्रदान गर्दै आएको छ । नायगरा पावरस्टेशनमामा उनको शालिक स्थापना गरिएको छ । साथै उनी जन्मिएको स्मिलजानमा पनि उनको शालिक स्थापना गरिएको छ ।

बीसौं शताब्दीका यी महान वैज्ञानिकको जब १९४३ जनवरी ६ मा हृदयघातका कारण मृत्यु भयो । संसार शोकमग्न बन्यो । उनको अन्त्येष्टीमा दुई हजारबढी मानिस सहभागी भए, जसमा कयौं नोबेल पुरस्कार प्राप्त गरेका वैज्ञानिकसमेत थिए । तर अचम्म र दुःखको कुरा यो छ कि उनको मृत्युको खबर पाउनासाथ अमेरिकी सरकारको गुप्तचर निकायले उनका सम्पूर्ण अप्रकाशित महत्वपूर्ण अनुसन्धानका डायरी कब्जा गर्यो । कब्जा गरेका उनका ती डायरीहरु अमेरिकाले दुनियाँलाई कहिल्यै सार्वजनिक गरेन ।

टेस्लाको फोटो अंकित हुलाक टिकट
टेस्लाको फोटो अंकित हुलाक टिकट

 

टेस्लाका केही भनाइहरु:

१. ‘यदि तपाईं ब्रह्माण्डको रहस्य पत्ता लगाउन चाहनुहुन्छ भने ऊर्जा, फ्रिक्वेन्सी र कम्पनको हिसाबले सोच्नुहोस् ।’

२.‘महान् गतिविधिले महान् अवसर पैदा गर्छन् ।’

 

३. ‘आविष्कारकसँग विवाहित जीवनको लागि समय छैन’ ।

 

४.  ‘आविष्कार मानिसको रचनात्मक मस्तिष्कको सबैभन्दा महत्वपूर्ण देन हो ।’

 

५.‘हाम्रो अन्तिम उद्देश्य भनेको भौतिक संसारमा दिमागले पूर्णरुपले प्रभुत्व जमाउनु हो र प्रकृतिलाई मानव आवश्यकतामा उपयोग गर्नु हो ।’

 

६. ‘भविष्यमा सत्य बोल्नुहोस्, र प्रत्येकलाई उसको कार्यहरु र उपलब्धीअनुसार मूल्याङकन गर्नुहोस् । वर्तमान तिनीहरूको भविष्य हो, जसको लागि मैले वास्तवमै काम गरेको छु’ त्यो मेरो हो ।’

नायगरा जलविद्युत गृह अगाडी बनेको टेस्लाको शालिक
नायगरा जलविद्युत गृह अगाडी बनेको टेस्लाको शालिक