काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबारबाटै नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने उद्घोष गरेको छन् । शनिबार कपिलवस्तुमा आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आज ४ बजेबाट घनिभूतरुपमा छलफल अगाडि बढाउने बताएका हुन् ।
‘साढे तीन बजे काठमाडौं फर्केर ४ बजेबाट काठमाडौंमा नयाँ सरकार गठन बारेका बैठकहरु घनिभूतरुपले अगाडि बढाउने छु भनेर आएको हुँ । देशको राजनीतिले कोल्टे फेरेको छ, म तपाईंहरु सबैलाई बधाई भन्न चाहन्छु,’ उनले भने । सम्भवत छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दाबी छ । उनले भने, ‘नयाँ परिस्थिति बन्ने छ । त्यही कामका निम्ति मैले छिटो जानुपरेको हो । सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ ।’
यस्तै प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको निर्णयबाट देशको राजनीतिले कोल्टे फेरेको पनि दाबी गरे । उनले भने, ‘नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा माग्ने र अर्को सरकार गठनका निम्ति पहल लिने भनेर हिजो निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ ।’
नयाँ सरकार गठनका लागि तुरुन्तै पहल लिनुपर्ने सुझाव आएको पनि उनले खुलासा गरे । ‘मलाई साथीहरुले आज कपिलवस्तु नजानुहोस् । नयाँ सरकार गठनका लागि तपाईंले तुरुन्तै पहल लिनुपर्छ भन्नु भएको थियो । तर मैले भनेँ म आज कपिलवस्तु जानै पर्छ । म त्यहाँको जनता र साथीहरुलाई भनेर छिट्टै फर्किन्छु,’ प्रचण्डले भने । उनले काठमाडौं पुगेर कोकोसँग छलफल गरिँदैछ भन्नेबारे भने उल्लेख गरेका छैनन् ।