• मंसिर १२ २०८१, बुधबार

लुम्बिनी प्रदेश ट्राफिक प्रहरीले उठायो साढे १२ करोड राजश्व

चैत्र २१ २०७७, शनिबार

दाङ, २१ चैत । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले चालु आर्थिक वर्ष ०७७/७८ को फागुन मसान्तसम्म साढे १२ करोड राजश्व संकलन गरेको छ । १२ जिल्लामा रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय र प्रदेश कार्यालयले ट्राफिक नियम मिच्ने सवारी साधनलाई कार्वाही गर्दा उक्त राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

१२ जिल्ला र प्रदेश कार्यालयगरी १३ वटा कार्यालयले चेकजाँच गर्दा १ लाख ९४ हजार ९ सय ७४ सवारीका साधन कार्वाही परेका छन् । कारवाहीमा परेका सवारी साधनवाट १२ करोड ६० लाख ६२ हजार रुपैयाँ राजश्व संकलन भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले सवैभन्दा धेरै २ करोड ९६ लाख १६ हजार राजश्व संकलन गरेको छ भने सबैभन्दा कम रुकुम पूर्वले ७ लाख ९० हजार ५ सय रुपैयाँ राजश्व उठाएको कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही पछि धेरै राजश्व संकलन गर्नेमा दाङ जिल्ला रहेको छ । दाङमा २ करोड ४७ लाख ४० हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको छ । विगतका वर्षहरुमा सवैभन्दा धेरै राजश्व संकलन गर्नेमा दाङ जिल्ला रहेको भएपनि यो पटक भने प्रदेशमै रुपन्देही धेरै राजश्व संकलनगर्ने जिल्ला बनेको छ ।

त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले १ करोड ९० लाख ७० हजार, नवलपरासीले ८८ लाख हजार ५ सय, कपिलबस्तुले १ करोड १४ लाख ९५ हजार, पाल्पाले ६५ लाख ३९ हजार, बर्दियाले ७५ लाख ५७ हजार ५ सय, गुल्मीले ३७ लाख ९१ हजार, अर्घाखाँचीले २८ लाख २१ हजार, प्युठानले २३ लाख ५ हजार ५ सय र रोल्पाले १५ लाख ३८ हजार ५ रुपैयाँ र लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले ६९ लाख ९७ हजार ५ सय राजश्व संकलन गरेका छन् । प्रदेश ट्राफिक प्रहरी प्रमुख डम्बर विकका अनुसार विभिन्न वर्गका सवारी साधन ट्राफिक नियम विपरित सञ्चालन भएका कारण कार्वाहीमा परेका हुन् ।

“ट्रक, बस, जिप, कार, ट्रयाक्टर, मोटरसाईकल, टेम्पो जस्ता सवारी साधनहरु धेरै कार्वाहीमा परेका छन्” प्रदेश ट्राफिक प्रहरी प्रमुख विकले भने । प्रदेश भरमा कार्वाहीमा परेका सवारी साधन मध्ये सवैभन्दा धेरै ट्रकहरु रहेका छन् । चालु आर्थिक वर्षको फागुन मसान्त सम्ममा ८५ हजार ७ सय ८८ वटा ट्रक कार्वाहीमा परेका छन् । त्यस्तै १० हजार ८ सय ७४ वटा बस, २७ हजार ३ सय ४५ वटा जिप, कार, भ्यान, १४ हजार ८ सय २६ वटा ट्रयाक्टर, ४८ हजार ६ सय ८३ मोटरसाईकल र ७ हजार ४ सय ५८ वटा टेम्पो र अन्य कार्वाहीमा परेको विकले बताए ।

यता जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जिल्लाका सडकहरुको दुरावस्थाका कारण चेकजाँचमा कमि आएका कारण वितेको ८ महिनामा राजश्व संकलनमा कमि आएको बताएको छ । विगतका वर्षहरुमा प्रदेशका १२ जिल्ला मध्ये सवैधन्दा धेरै राजश्व संकलन गर्ने जिल्ला दाङ रहेकोमा बितेको ८ महिनामा रुपन्देहीले सवैभन्दा धेरै राजश्व संकलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख थम्मन जीसीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा चेकजाँचमा कमी ल्याएका कारण राजश्व संकलनमा कमी आएको हो ।

“जिल्लाका घोराही तुलसीपुर सडकखण्ड, घोराही लमही सडकखण्ड, मर्मतकालागि साँघुरो भएका कारण चेकजाँच गर्दा सडक जाम हुने भएकोले कम गरीएको छ, जिल्लाका भित्री सडकमा नियमित चेकजाँच गरेर अहिलेको राजश्व संकलन भएको हो” कार्यालय प्रमुख जीसीले भने ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा नियम विपरीत सञ्चालन भएका ४१ हजार ५० वटा सवारी साधन कार्वाहीबाट २ करोड ४७ लाख ४० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख जीसीले जानकारी दिएका छन् । “जिल्लामा ओभरलोड बोकेका ट्रक टिप्पर, काजगात बिना चलेका, मापसे, चालकले मोबाईल फोन प्रयोगगर्दै सवारी चलाएका सवारीचालकहरु बढी कार्वाहीमा परेका छन्” जीसीले भने । त्यस्तै ओभर स्पिड चलाउनेलाई पनि कार्वाही गरिएको उनले बताए ।