म निवेदक कोशी अञ्चल, संखुवासभा जल्ला, वाना ७ (हाल पाँचखपन न.पा. ४) खप्टुवामा जन्म भै विगत ४४ वर्षदेखि काठमाडौं उपत्यका (हाल सूर्यविनायक न.पा. ६ चुनदेवी हाइट) मा बस्दै आएको स्वतन्त्र पत्रकार, लेखक, कवि एवं ज्योतिर्विद् रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ हुँ । म निवेदकले कहिले शिक्षक, कहिले स्तम्भकार, कहिले पुस्तक-पत्रिकाको भाषा सम्पादन र कहिले ज्योतिषको काम गर्दै जीविका चलाउँदै आएको सबैमा विदितै छ । कठिन श्रमबाट आर्जित रकमबाट काव्य, खण्डकाव्य तथा कविता संग्रहहरू प्रकाशित गर्दै आएको छु । यसै क्रममा मेरा १ दर्जनजति पुस्तक र २ वर्ष पञ्चाङ्ग पनि प्रकाशित भएका थिए ।
यी बाहेक विभिन्न पत्रपत्रिकामा मेरा सयौं लेखहरू प्रकाशित भइरहेकै छन् । मैले जीवनमा भाषा, साहित्यको सेवामा समर्पित रही व्यक्तिगत जीवन बाँचिनँ । तसर्थ म आर्थिक रूपमा कमजोर छु भन्ने ध्रुवसत्य हो । पोहोरको लकडाउन अवधिमा पनि १ ग्रन्थ र २ पुस्तकहरू सम्पादन गरेको थिएँ । यसरी कहिल्यै खालि नबस्ने स्वभावले हाल २ कृतिहरू प्रकाशनको तयारी गर्दै थिएँ । यसै बीचमा गत माघ २३ गते म काम विशेषले २।३ दिन बाहिर बस्नुपर्यो । त्यही बीचमा म बसेको टहराको ढोका फोरी, ताला तोडी, एकातर्फको जस्तासमेत काटी ल्यापटप, तामा र पित्तलका भाँडाकुँडा, लुगाफाटो र सम्मानमा आएका ताम्रपत्रहरूसमेत चोरी भएछ ।
छिमेकका श्री रामेश्वर खत्रीज्यूले खबर गरेपछि म माघ २४ गते आइपुग्दा टहरो लथालिंग र भताभुङ्गको अवस्थामा रहेछ । मैले कटुञ्जे प्रहरीमा खबर गरें, त्यहाँबाट खटिएका प्रहरीले जगाती प्रहरीलाई खबर गरेपछि बेलुका ७ बजेतिर मुचुल्का पनि भयो । आजसम्म यो विषय अनुसन्धान गरिंदैछ भन्ने जवाफ मात्र पाएकाले फेरि जगातीमा निवेदन गरेको छु ।
यो घटना भएको ३/४ दिनपछि देखि ९८०३०२५२३६ नम्बरबाट कल र मैसेजको ओइरो लाग्नथाल्यो, मैसेजमा भन्न नमिल्ने शब्दहरू आउन थालेपछि मैले धेरैजना प्रहरीलाई मौखिक जानकारी गराएँ, निवेदन पनि दिएको छु ।
यो विषय आफ्नै ठाउँमा छ, तर मैसेज र फोनले गर्दा म अहिले मानसिक तनावमा परेको छु । मानसिक तनावले होला मेरो शरीरको एकापट्टिको भाग निदाउन थालेको र गोडा हिंड्नै नहुने गरी दुख्नथालेको छ । यसअघि यसतो भएको मलाई थाहा थिएन । यही तनावले मेरा २ कृतिहरू आधामै रोकिएका छन् । मैले कसैको हानी, नोक्सानी गरेको थिइनँ, कठोर परिश्रम गरेर बाँचिरहेको सर्जकलाई दुःख दिने यो को होला ? हुन त ओली राजमा यसतो कुरा मामुली बन्न सक्छ, अपराधी छुटाइपाउँ भनेर धर्नामा बस्ने गृहमन्त्रीले के चासो देलान् र ?
तैपनि हिजो आफूलाई मर्दापर्दा आमसञ्चारले जसरी सहयोग गरेका थिए, आज पनि गर्नेछन् भन्ने आशा लिएको छु । यस्तो गम्भीर विषयलाई आलटाल गर्ने प्रहरी प्रशासनका कारण आफू मानसिक आघातमा परेकाले अब मैले कुन बाटो हिंड्नुपर्ला ? भन्ने जिज्ञासाले सञ्चार जगत समक्ष यो गुनासो राखेको हुँ ।