काठमाडौं । वैदेशिक रोजगारीले देशमा रेमिट्यान्स त भित्र्या तर, यसले सामाजिक सम्बन्ध र धेरै परिवारलाई छिन्नभिन्न पनि पारेको छ । छोरा विदेश जाने, बुहारी सहर पस्ने क्रम बढ्दो छ । देशका अधिकांश गाउँघरमा वृद्धवृद्धा मात्रै छन् । श्रीमान विदेशमा दुःख गर्ने, श्रीमती यता पैसा उडाउने गरेका घटना थुप्रै देखिएका छन् ।
विदेशमा रगतपसिना बगाएर फर्किंदा न श्रीमती न सम्पत्ति न त आफन्तकै अवस्थामा पुगेका छन् । यस्ता घटनामा पीडित भएकाहरूलाई न्याय दिलाउन कानुन अभाव देखिएको छ । श्रीमती हुँदाहुँदै अर्को विहे गर्ने पुरुषले बहुविवाहमा सजाय भोग्नुपर्ने हुन्छ तर, यस्तै अवस्थामा महिलालाई सजाय छैन ।
पहिलो श्रीमानसँग स्वतः सम्बन्ध विच्छेद भएको ठहरिने कानुनी व्यवस्था छ । अधिवक्ता प्रियहरि भण्डारीका अनुसार वैदेशिक रोजगारमा गएका व्यक्तिको हकमा सम्बोधन गर्ने विशेष कानुन छैन । घरसारमा पठाएको रकम मासियो, नासियो भनेको अवस्थामा सजाय गर्ने कानुन नै छैन । देवानी संहिताको लेनदेन महलमा साहु र आसामीको हकमा ऋण लिएको, दिएको, खाएको देखियो भने सावाँब्याज तिराइदिने, सम्पत्ति बन्डा गराइदिने व्यवस्था छ ।
कानुनअनुसार एकाघरमा श्रीमान श्रीमती, दाजुभाइको बीचमा भएको सगोलको कारोबारमा ऋणधनको अर्थ लाग्दैन । यसलाई सगोलको सम्पत्ति मानिन्छ ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।