• मंसिर ११ २०८१, मंगलवार

नेपाल पक्षलाई ओलीले कारबाही गरेपछि एमालेमा देखिएको विग्रह : पार्टी फुटको सँघारदेखि समानान्तर कमिटी निर्माणसम्म

चैत्र २० २०७७, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए । उनले उक्त सभा विघटन गरेपश्चात् पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, र माधवकुमार नेपाल (प्रचण्ड–नेपाल)ले संयुक्त रूपमा सडक आन्दोलन र विरोध सभा गरेका थिए ।

प्रचण्ड–नेपाल पक्षले झन्डै दुई महिना लामो समय सडक संघर्ष र विरोध सभा गरेका थिए । उसले आन्दोलन र विरोधकै क्रममा फागुन ११ गते सर्वोच्च अदालतले विघटित प्रतिनिधि सभा पुनःस्थापना गरेको थियो । प्रतिनिधि सभा पुनःस्थापना भएपछि प्रचण्ड–नेपालले सडक आन्दोलन र विरोध सभा अन्त्य गरेका थिए ।

सडक आन्दोलन अन्त्य भएपछि तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद केही हदसम्म मथ्थर भएको थियो भने पार्टी भित्रको विवाद पनि बिस्तारै शिथिल हुँदै गएको थियो । त्यसपछि फागुन २३ गते अदालतले नेकपा बदरको फैसला गर्यो । नेकपा बदर भएसँगै दुई ठूला राजनीतिक दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पुनर्जीवन पाए ।

यी दुवै पार्टीले पुनर्जीवन पाएसँगै ओली र प्रचण्ड आआफ्नो पार्टीमा फर्किएका छन् । उनीहरू आआफ्नै पार्टीमा फर्किए पनि विवाद अन्त्य भएको छैन । यता एमाले पार्टीमा विवादले झनभन् उग्ररूप लिँदै गएको छ ।

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच तत्कालिन नेकपामा रहँदा देखिएको विवाद नामेट भएको छैन । किनकि उनीहरू दुवै जना आआफ्नै पार्टीमा फर्किए पनि विवाद नटुंगिनु स्वभाविकै हो । कारण तत्कालिन नेकपामा हुँदादेखि नै ओली र प्रचण्डबीचको अन्तरसंघर्ष अन्त्य भएको थिएन ।

तर, सत्ता र शक्तिको राजनीतिक खिचातानी र विवाद भने ओली र प्रचण्डबीच कायमै छ । ओली, प्रचण्डमात्रै होइन, अन्य राजनीतिक दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा) र साना पार्टीबीच पनि राजनीतिक विवाद र द्वन्द्व निरन्तर भई नै रहन्छ ।

तथापि यतिबेला एमाले पार्टीभित्र ठूलो दरार उत्पन्न भएको छ । वर्तमान राजनीतिक घटना क्रमको सन्दर्भलाई हेर्ने हो भने प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल (नेपाल–खनाल) पक्षबीचको विवादले उग्ररूप लिँदै गएको छ ।

यसको मुख्य जड भनेको फागुन अन्तिम साता सर्वोच्चले नेकपा बदरको फैसला गरेको थियो । त्यस यता अदालतको फैसलाअनुसार एमाले र माओवादी केन्द्र एकीकरण पूर्वको अवस्थामा फर्केको र २३ गतेपछि शून्य अवस्था हुने भएकोले यसबीचमा भएका गतिविधि र निर्णयहरू दुवै पक्षबाट स्थगित र खारेज गरे पार्टी एकता निस्कर्षमा पुग्ने नेपाल–खनाल स्रोत बताउँछ ।

तथापि ओलीले शून्य अवस्थामा पनि आफ्नो गुटगत भेला गरेको भन्दै नेपाल–खनालपक्ष ओलीसँग निकै रुष्ट बनेका छन् । उनले फागुन २८ गते एकपक्षीय केन्द्रीय कमिटीको बैठक बोलाएर महाधिवेशनबाट निर्वाचित नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोस्नुका साथै पदसमेत खारेज गरिदिएका छन् ।

त्यसपछि झन् रुष्ट बनेको नेपाल–खनाल पक्षले ओलीलाई काउन्टर दिँदै चैत्र ४ र ५ गते छुट्टै राष्ट्रिय भेला गरेको थियो । उक्त भेला गरेसँगै ओलीपक्ष पनि रुष्ट बनेको छ । त्यस यता उसले आफ्नो गुटगत भेला गरेको भन्दै नेपाल–खनालपक्ष पनि आक्रोशित बन्दै गएको छ ।

तथापि पछिल्लो चरणमा नेपालपक्ष केही लचिलो बन्दै गएको थियो । उसले सार्वजनिक रूपमै ओली पक्षलाई फागुन २३ गते यता गरिएका सम्पूर्ण निर्णय खारेज गर्नुपर्ने अडान राखेको छ । यद्यपि यस बारेमा ओली पक्षले भने कुनै हालतमा पनि उक्त निर्णय खारेज नहुने बताएको छ ।

अध्यक्ष ओलीले नै सार्वजनिक कार्यक्रम एवम् विभिन्न सञ्चार माध्यमहरूमा फागुन २३ गतेभन्दा पछि गरिएका निर्णय आधिकारिक र वैधानिक भएको बताउँदै ती निर्णय खारेज नहुने अडान राखेका छन् । नेपाल पक्षले भने ओलीले गरेका सबै निर्णय गुटगत भेलाबाट गरिएकोले ती निर्णय कुनै हालतमा मान्ने नहुने बताउँदै आएको छ ।

ओली र नेपालको आआफ्नै अडानका कारण यी दुई पक्षबीच एकता नहुने ओलीनिकट नेता, पूर्वमन्त्री एवम् सांसद महेश बस्नेतले बताए । बस्नेतका अनुसार, –‘नेपाल पक्षले गरेका निर्णय पनि गुटगत र अवैधानिक छन् । यदि उहाँहरू सच्चिएर आएमा पार्टी एकता हुन्छ ।’

नेपालनिकट केन्द्रीय सदस्य एवम् युवा नेता निरज आचार्यका अनुसार, –‘ओली पक्षले गुटगत भेला गरेर पार्टीलाई मनमौजी ढंगले चलाउन पाइँदैन । उहाँहरूले फागुन २३ गतेपछि गरेका निर्णय अवैधानिक भएकाले ती सबै निर्णय बदर गरेमा पार्टी एकताका लागि सकारात्मक बन्न सकिन्छ । र, अहिलेको हाम्रो मुख्य बटम लाइन पनि यहीँ हो ।’

तर, यी दुवै पक्षले राखेको आआफ्नै अडान, ओली र नेपालको सार्वजनिक अभिव्यक्ति सुन्दा एकता हुन असम्भव जस्तै देखिन्छ । तथापि ओली र नेपालबीच चर्किएको विवाद र पार्टीको भित्री दरार देख्दा ओलीको अभिव्यक्ति पनि सार्थक होला जस्तो देखिन्छ ।

पछिल्लो चरणमा वरिष्ठ नेता नेपाल र एमाले स्थायी कमिटी सदस्य भीम रावल, धनश्याम भुषाल र सुरेन्द्र पाण्डे लगायतका नेताहरूलाई पार्टीबाटै निलम्बन गर्नुले एमाले पार्टी नै फुटको सँघारमा उभिएको छ ।

नेपाल–खनाल पक्षका नेतालाई ओलीले धमाधम कारबाही गरेपछि उसले देशका अधिकांश ठाउँमा सामान्तर कमिटी गठन गर्दै आएको छ । उसको भातृ संगठनले पनि समानान्तर कमिटी निर्माण गर्दै आएको छ ।

एमाले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको शुक्रबार बसेको स्थायी कमिटी बैठकले संगठन विस्तार तथा सुदृढीकरण, प्रशिक्षण लगायतका देशव्यापी अभियान सञ्चालन निर्णय गरेको छ ।

आज काठमाडौं कलंकीमा बसेको बैठकको निर्णयबारे जानकारी दिंदै नेता योगेश भट्टराईले राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा विभिन्न प्रस्ताव आइरहेको जनाउँदै यसबारे भोलि निर्णय गर्ने बताए ।

बैठकले अध्यक्ष केपी शर्मा ओली नै पार्टी विभाजन गर्न उद्यत रहेको भन्दै उनको यस किसिमको कदम रोक्न देशभर समानान्तर संगठन विस्तार गर्ने निर्णय समेत भएको नेपाल–खनाल पक्षले जनाएको छ ।