काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी कमिटी बैठकले संगठन विस्तार तथा सुदृढीकरण, प्रशिक्षण सञ्चालन लगायतका देशव्यापी अभियान सञ्चालन निर्णय गरेको छ ।
शुक्रबार कलंकीमा बसेको बैठकको निर्णयबारे जानकारी दिंदै नेता योगेश भट्टराईले राष्ट्रव्यापी अभियान सञ्चालनका विषयमा विभिन्न प्रस्ताव आइरहेको जनाउदै सो बारे भोलि निर्णय गर्ने बताए ।
बैठकले अध्यक्ष केपी शर्मा ओली नै पार्टी विभाजन गर्न उद्यत रहेको जनाएको छ । ओलीको यस किसिमको कदम रोक्न देशभर समानान्तर संगठन विस्तार गर्ने निर्णय समेत भएको नेता भट्टराईले बताए ।
बैठकले आफ्ना समूहका नेताहरुमाथिको कारबाही पार्टीको नवौं महाधिवेशनले पारित गरेको विधान विपरीत, स्वेच्छाचारी र पूर्वाग्रही भएको निष्कर्ष निकालेको नेता भट्टराईले बताए।
‘नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि ओलीले गरेको कारबाही स्वेच्छाचारी, पार्टीको नवौं महाधिवेशनको विधानविपरीत र पूर्वाग्रही छ, यसको भर्त्सना तथा निन्दा गर्दछौँ’, नेता भट्टराईले भने ।