• मंसिर ८ २०८१, शनिबार

सुदर्शन चक्रको रहस्य

चैत्र २० २०७७, शुक्रबार

हिन्दु धर्मग्रन्थमा सुदर्शन चक्रलाई अचुक तर रहस्यमयी अस्त्र मानिन्छ । देवताहरुसँग धेरै चक्रहरु रहेको व्याख्या गरिन्छ, धर्म ग्रन्थमा । तर तीमध्ये सुदर्शन चक्र सबैभन्दा प्रभावकारी रहेको मानिन्छ । शिवसँग भवरेन्दु चक्र, विष्णुसँग कान्ता चक्र र देवीसँग मृत्युमन्जरी चक्र रहेको मानिन्छ । तर सुदर्शन चक्र श्रीकृष्णसँग सम्बन्धित छ ।

सुदर्शन चक्रलाई ब्रह्माको ब्रह्मास्त्रसँग तुलना गरिन्छ । तर फरक यति छ कि ब्रह्मास्त्रले विश्वब्रह्माण्ड नै ध्वस्त पार्ने शक्ति राख्दछ भने सुदर्शन चक्रले भने छानेर ससाना अचुक निशानामा मार हान्न सकिन्छ । त्यसैले यो ब्रह्मास्त्रजस्तो विध्वंशक नभएको धर्मशास्त्रमा उल्लेख छ ।

सुदर्शन चक्र निकै तीब्र गतिमा विशिष्ट निशाना साँधेर प्रहार गरिन्छ । यसको प्रयोग गर्दा अर्को एउटा शर्त पनि छ कि यो अति आवश्यक अवस्थामा मात्र प्रयोग गरेमा निशाना अचुक र भेदनकारी रहन्छ । ब्रह्मास्त्र आफैमा बिष्फोट हुन्छ, तर सुदर्शन चक्र फर्केर पहिलेकै स्थानमा आउँछ । सुदर्शन चक्र आफैमा गति हो । यो गतिले संभावनायुक्त शक्तिलाई उर्जामय शक्तिमा परिणत गरिदिन्छ ।

सुदर्शन चक्रको निर्माण, प्रयोग र व्यवस्थापनबारे कुनै पनि कुरा बाहिर ल्याइएको देखिदैन । अहिले पनि अणु, परमाणु तथा अन्य अस्त्रहरुको कम्पोजिशन र सूत्र कसैलाई पनि भनिएको हुँदैन । त्यसैले आज संसारभर निर्माण गरिएका अणु बमहरुको सूत्र र कम्पोजिशनमा पनि विभिन्नता पाइएको छ ।

धर्मशास्त्रमा विष्णुलाई चक्रधर भनिएको छ । विष्णुको कान्ता चक्रको प्रयोग महादेवले यज्ञमा प्राण आहुती गरेकी सतीदेवीको शब बोकेर ब्रह्माण्ड विचरण गर्न थालेपछि सतीदेवीको शरीर छेदन गरी टुक्रा बनाइ खसाल्नका लागि प्रयोग गरिएको मानिन्छ । श्रीकृष्णको सुदर्शन चक्र भने धेरै पटक प्रयोग भएको महाभारत ग्रन्थमा उल्लेख गरिएको छ । सुदर्शन चक्र गीता वाचनका बेला आकाश ढाक्न, जयद्रथको बध गर्दा सूर्य ढाक्न, जरासन्ध, शिशुपाल आदिको बध गर्दा प्रयोग गरिएको उल्लेख छ ।

श्रीकृष्ण विष्णुको अवतार मानिएकाले सुदर्शन चक्र कान्ता चक्रकै अर्को रुप पनि मानिएको छ । सुदर्शन चक्रले असुर र दानव मात्र होइन, सुरलाई हराउन पनि काम गरेको देखिन्छ । यसलाई ‘अमोघ अस्त्र’ पनि भन्ने गरिन्छ ।


सुदर्शन चक्रलगायत सबै चक्रहरु देवी देवताले शिवको आराधनाबाट मात्र पाउन सफल भएका हुन् । यी सबैको निर्माण विश्वकर्माले गरेका थिए । धर्मशास्त्रका अनुसार विश्वकर्माले निर्माण गरेका तीन जादुगरी अस्त्र भनेका त्रिशुल, सुदर्शन चक्र र पुष्पक बिमान हुन् ।