दिल्लीमा सम्झौता हुनासाथ नेपालको तराईका विद्यालयहरुमा भारतबाट ल्याइएका पाठ्य पुस्तकहरु पढाउन थालिएको थियो, जुन पाठ्य पुस्तकमा ‘हमारा राष्ट्रपति डा.राजेन्द्रप्रसाद है, हमारा प्रधानमन्त्री पं जवाहरलाल नेहरू है’ भनेर लेखिएको थियो । तराईमा भएका विद्यालयमा त्यस्ता पुस्तक विद्यार्थी पढ्न नेपाली विद्यार्थीहरु बाध्य थिए ।
हरेक विद्यालयमा भारतीय राष्ट्रिय गान गाउन लगाइन्थ्यो । अन्तरिम सरकारको मन्त्रिमाण्डलको बैठकमा भारतीय राजदुत बस्दथे । जनरल शारदा सिंहको कमाण्डमा सैनिक टुकडीले नेपाली सैनिकहरुलाई आधुनिकीकरण गर्ने नाउँमा नेपाली सैनिक अफिसरहरुलाई भारतबाट सुवेदार र हवल्दारहरु झिकाएर तालिम दिन लागे ।
फलस्वरुप कतिपय अफिसरहरुलाई फेल गराएर साम्राज्यवादी अङ्ग्रेजी फौजसँग लडेर इतिहास कायम गरेको जनरल भीमसेन थापाद्वारा स्थापित नेपाली राष्ट्रिय सैनिकको मनोबल गिराउने काम भएको थियो ।
भारतसँग त्रिभुवनले सम्झौता गर्नुभन्दा पहिले भारतबाट शिवरात्रिमा नेपालमा पशुपतिनाथको दर्शन गर्न आउने जोगीहरु र भारतबाट आउने भालु र बाँदर नचाउने चटकेहरु पनि एकहप्ता भन्दा बढी नेपाल भूमिमा बस्न पाउँदैन थिए । सम्झौताले भारत र नेपालको सिमाना खुला गराएपछि यस्ता सबै कुराहरू समाप्त भएर गए ।
पुण्यप्रताप राणाद्वारा लिखित ‘पृथ्वीनारायण शाहदेखि राजा ज्ञानेन्द्रसम्मको नेपालको राजनीतिक इतिहास’बाट ।