दास प्रथालाई पछिल्लो समयमा निकै विवादास्पद बनाउन खोजिएको छ । मानव सभ्याताको विकासमा यो एक लामो चरणका रुपमा रहेको थियो । शायद आदिम साम्यवादभन्दा पछाडि र सामन्तवादको उदय र विकासको मध्यचरणसम्म दास युुग रह्यो । हाल मानव सभ्याता विकासको वर्गीकरणमा पनि र विशेषतः कार्ल माक्र्सकृत वर्गसंघर्षको इतिहासको चरणबद्ध व्याख्यामा पनि दास युग एक लामो र अन्यन्तै अमानवीय चरणका रुपमा रहेको पाइन्छ । माक्र्सको समय–विभाजनमा आदिम साम्यवाद, दासयुग, सामन्ती युग, पुँजीवादी युग, समाजवादी युग र साम्यवादी युग स्पष्ट रुपमा कोरिएको पाइन्छ ।
आजको युरोप र अमेरिका दासको रगत र पसिनाको जगमा निर्माण भएको हो । भलै युरोप र अमेरिका आजका दिनमा चर्को मानव अधिकारका कुरा गरेर पनि थाक्दैनन् । शायद यही अमानवीय कार्यबाटै विद्रोहको सिर्जना हुनगै मानवअधिकारका कुरा व्यवहारमा आएको हुनसक्छ । हामी यस्तो अमानवीय दास प्रथाका बखत गरिएका तर आजको मानव चेतनाले पत्याउनै नसक्ने केही चाखलाग्दा कुरा नियाल्दै छौं ।
दासको सिकार गर्ने कुकुर :
त्यतिबेला फार्म र मालिकका घरहरु छाडेर हिंडेका दासहरु समाउन ठूलाठूला कुकुर पालिएका हुन्थे । ती कुकुर पाल्नुको उद्देश्य नै भागेका दासहरुको सिकार गर्नु गराउनु हुन्थ्यो । ताकि यस्तो अवस्था देखेपछि अन्य दासहरु भाग्ने आँट नगरुन् । भागेका दासहरुलाई कुकुर लगाएर समाइन्थ्यो र सार्वजनिक स्थलमा धेरै कुकुरहरु जम्मा पारेर टोक्न लगाई ती कुकुरको आहारा बनाइन्थ्यो । यी कुकुरलाई ‘निग्रो डग’ नामाकरण गरिएको हुन्थ्यो ।
दासका लागि छुट्टै बाइबल :
दासका लागि छुट्टै बाइबल बनाइएको हुन्थ्यो । यो बाइबलमा हामी दास हौं र हामीले गोराहरुको सेवा गर्नुपर्छ भन्ने सिकाइएको हुन्थ्यो । भगवानले नै हामीलाई दास र गोरालाई मालिक बन्नका लागि सिर्जना गराएका हुन् भन्ने आशय त्यसमा प्रकट भएको हुन्थ्यो । अचम्मको कुरा त के थियो भने ती दासहरुलाई पनि क्रिस्चियन हुन सिकाइन्थ्यो । यसलाई ‘पवित्र बाइबल’को संज्ञा दिइएको थियो । यसको मुख्य उद्देश्य थियो– दासत्व भनेको सामान्य कुरा हो भन्दै यसलाई सामान्यीकरण गरेरै लैजानु ।
हैटीबाट लखेटिएका थिए गोरा मालिक :
इजरायली गोरा मालिकहरुले हैटीमा दास राखेर बिगबिगी मच्चाइरहेका थिए । बढ्दै गरेको असन्तुष्टि र दासहरुमा विकास हुँदै गरेको चेतनाका कारण हैटीबाट दासमालिक भाग्ने अवस्था सिर्जना हुन गयो । इजरायलीले छोडेपछि त्यहाँ रहेका गोरा मालिकले आफ्नो बर्चस्व गुमाउँदै गैरहेका थिए । यही मौका पारेर दासहरु एक जुटभै हैटीबाट गोरा मालिकलाई लखेटेर स्वतन्त्रताको घोषणा गरेका थिए । यो बिद्रोह दासत्व स्वीकार गर्नका लागि निकालिएको पहिलो बाइबलसँगै भएको थियो । यस्तो बाइबल प्रकाशन गर्नेको नाम, थर, ठेगाना केही पनि लेखिएको थिएन ।
पहिलो दासमालिक काला जातिका थिए :
झट्ट सुन्दा अनौठो लाग्न सक्छ । तर पहिलो दास मालिक काला जातिका थिए । जब गोराहरु अफ्रिकामा पुगे, त्यति बेला काला दासमालिक काला जातिमाथि दासताको अंकुशमा हुकुम फिराइरहेका देखिन्थे । यिनै दास मालिकसँग गोराहरुले मानव किनबेचको व्यापार थालेका थिए । त्यति बेला ऋणकर्ज लिएबापत मानिसले आफ्नो जीवन मालिकलाई बेच्ने गर्दथे । महिला र पुरुष सबैले यसो गर्नु सामान्य मानिन्थ्यो । भनिन्छ, गरीब गोराहरु पनि यसो गर्ने गर्दथे ।
दास उत्पादन फार्म :
जब दासको किनबेच र खपत बढ्दै गयो, दास उत्पादन फार्महरु निर्माण हुन थाले बच्चाबच्ची हुर्काउने र तिनलाई बेच्ने प्रक्रिया धमाधम चल्यो । युरोप र अमेरिकामा दासप्रथा विरुद्ध आन्दोलन नचल्दासम्म यो प्रक्रिया जारी रह्यो । यसका साथै अफ्रिकाबाट दास ओसार्ने प्रक्रिया पनि रोकिएन । अमेरिकाको भर्जिनिया दास उत्पादन फर्मको केन्द्र नै बन्न गएको थियो । उता केन्टुकी भने अफ्रिकाबाट दास ल्याउने केन्द्र र मार्ग दुवै बनिरहेको थियो । बच्चाबच्ची, महिला, बृद्ध सबैलाई नमर्दासम्म फार्ममा काममा लगाइन्थ्यो ।
भागेका र काम नगर्नेलाई पागलको संज्ञा दिइन्थ्यो :
काम नगर्नेलाई पागल भनिन्थ्यो र उनीहरुको समूहबाट टाढा राखेर यातना दिइन्थ्यो । भागेकालाई पनि त्यसरी नै राखिन्थ्यो । यसको उपचार भनेको ‘कोर्रा हान्ने’ र उनीहरुलाई ‘ठीक ठाउँमा ल्याउने’ नै हुन्थ्यो । गोरा मालिकहरुका बीचमा समान धारणा के थियो भने ‘निग्रो वा काला जातिमा यस्तो एक प्रकारको रोग हुन्छ, जुन कोर्राले हानेपछि ठीक हुन्छ ।’
स्वतन्त्र बनाइएका दास पुनः समातिन्थे :
स्तन्त्रता प्रदान गरिएका दासलाई समाएर पुनः बन्धक बनाइ दासतामा फर्काइन्थ्यो । यसका लागि ‘अन्डर ग्राउण्ड रेलवे’ मार्ग निर्माण गरिएको थियो । दास मालिकका लागि यो सर्वोत्तम उपाय थियो । यो दास व्यापार पुनस्र्थापनाका लागि ठूलो नेटवर्क बनिरहेको थियो । यो व्यापार दासप्रथामैत्री दक्षिणी भागबाट दासप्रथाउन्मूलन गरिएको उत्तरी भागमा निकै तीब्रताका साथ चलिरहेको थियो ।
अफ्रिकनले अफ्रिकनलाई नै बेच्थे :
दासप्रथाले अफ्रिकीहरु बीचमा पनि विभाजन ल्याएको थियो । अफ्रिकीहरु कोही दासमालिक त कोही दास नै थिए । उनीहरुले एकअर्कालाई बेच्ने गर्दथे । यसले दास प्रथालाई निकै जटिल बनाएको थियो ।
दाससँग सम्बन्धित अन्य रोचक तथ्य :
१. दास (स्लेभ) भन्ने शब्द पूर्वी युरोपको स्लेभोनिक जनताको नामबाट लिइएको हो । त्यो जातिलाई तात्कालिन शासकले दास बनाएर राख्ने गरेका थिए ।
२. अमेरिकामा सन् १८८५ सम्म प्रति दासको मूल्य तात्कालीन ४०० डलर वा हालको १२ हजार डलरसम्म थियो ।
३. सन् १८३३ मा बेलायती साम्राज्य कायमै रहेका बेला दास व्यवस्था उन्मूलन भएको घोषणा गरिएको थियो । तर वास्तविक रुपमा मानव तस्करी तथा घरेलु दास उन्मूलन आधुनिक दास ऐन निर्माण गरेर सन् २०१५मा मात्र खारेज गरिएको थियो ।
४. सन् १४५२ मा पोप निकोलास पाँचौंले पोर्चुगलका राजालाई ‘प्यागन’ (प्रकृतिपुजक) लाई दास बनाए राख्न अधिकार दिएका थिए ।
५. बेलायतमा दासप्रथा उन्मूलन गरिदा ४६,००० दास मालिकलाई क्षतिपूर्ति दिइएको थियो । तर, अनौठो कुरा, मुक्त गरिएका ८,००,००० दासलाई केही पनि दिइएको थिएन ।
६.सन् १५२६ देखि १८६७ सम्म अफ्रिकाबाट अमेरिकामा १२ लाख ५० हजार दास समुद्री मार्गमार्फत् युरोप भित्र्याइएका थिए । तर युरोप पुग्दा जम्मा १० लाख ७ हजार मात्र बाँचेका थिए ।
७. ‘दास’ र ‘दासहरु’ भन्ने शब्द राजा जेम्सको बाइबलमा भेटिन्छ ।
८. नाटककार शेक्सपियरको पालामा नै दासहरुको व्यापार फस्टाएको थियो । तर शेक्सपियरले दाससम्बन्धी शब्दहरु उनका कृतिहरुमा १८० पटक मात्र उल्लेख गरेका छन् ।
९. राजा जेम्सको बाइबलमा ‘दास’ र ‘दासहरु’ भन्ने शब्द एक पटक मात्र उच्चारण गरिएको छ ।
१०. बधुवादास र मानव तस्करीसँग सम्बन्धित ३०, ००० दास आज पनि विश्वमा छन् । यसरी इतिहासमा व्यक्त रुपमा उल्लेख गरिएको भने यो पहिलो पटक हो ।