• मंसिर ११ २०८१, मंगलवार

दाङको इज्जत जोगाउने साझा घर भाडाको चक्करमा

चैत्र २० २०७७, शुक्रबार

‘यो मुर्दा कुरेर बस्दैन, चाँडै लगे हुन्छ ।’ यो वाक्यले प्रगतिशिल लेखक संघ दाङका अध्यक्ष भुवन देवकोटालाई निकै घोंच्छ । साझा प्रकाशनको मुख्य शाखा कार्यालय घोराहीका तत्कालीन प्रमुख भिमकल्याण पौडेलले भनेको धेरै भयो, तर देवकोटालाई ताजै लाग्छ ।

गत फागुन २५ गते साझा प्रकाशनका सदस्यहरु हरिप्रसाद भण्डारी र डोरप्रसाद अर्यालको टोली समस्या बुझ्न घोराही पुग्योे । उहाँहरुलाई सल्लाह दिने क्रममा पनि देवकोटाले त्यही मुर्दा शब्दबाट शुरु गर्नुभयो । उपस्थित सबैजसोले मधुवन टोलमा रहेको साझा पायक पर्ने ठाउँमा सार्नुपर्ने मुख्य सुझाव दिए र साझाको विकास गर्ने अनेक उपाएहरु सुझाए ।
देखिने भेटिने ठाउँमा नहुँदा पनि कारोबार कम भएको नागरिक समाज दाङका संयोजक केवी मशालको भनाई थियो । सरकारी कार्यालयका भवन प्रशस्तै भएकाले पहल गर्न आग्रह गर्नुभयो । यत्रो वर्षसम्म चलेको साझा अहिले चल्नै सक्दैन भन्नु लाजमर्दो हुने उहाँको भनाई थियो ।

पुस्तक राख्ने सटरमात्रै खोजेपछि बहस र छलफल गर्ने हल आफूले व्यवस्था मिलाउने सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको भनाई थियो । नयाँ पुस्तकको विषयमा चर्चा गर्ने । साहित्यकार लेखक पत्रकार संग छलफल गर्ने काम नहुँदा महत्व घटेको गौतमको भनाई थियो । मासिक पत्रिका ‘गरिमा’लाई निरन्तर प्रकाशन गरेमात्रै पनि प्रगति हुने राप्ती साहित्य परिषदका केन्द्रिय  अध्यक्ष पुरुषोत्तम खनालले सुझाव दिनुभयो ।

यस अघिको समितिले दाङबाट हटाउने निर्णय गरिसकेको छ । त्यसबेला जोगाउन हस्ताक्षार संकलन, ज्ञापन पत्र बुझाउने लगायत अनेकौं संघर्षका कार्यक्रम देवकोटाकै अगुवाईमा गरिएका थिए । घर भाडा तिर्न नसकेपछि घोराही उपमहानगरपालिकाको न्यायीक समितिमा घरबेटीले उजुरी दिए । साझाको जीवनमा सबैभन्दा लाजमर्दो अवस्था सिर्जना भयो ।

तत्कालीन महाप्रबन्धक डोलेन्द्र शर्मा न्यायीक समितिमा उपस्थित भई समस्याको समाधान गर्नुभएको थियो । त्यसपछि साझा हटेन । आन्दोलन पनि उग्र बनाउनु नपरेको त्यस बेला नेतृत्व गर्नुभएका देवकोटा सम्झिनु हुन्छ । तर, साझाले विकास गर्न भने कत्ति पनि सकेन ।

एउटा कर्मचारी पठायो । साझा दिनदिनै जसो बन्द भयो । नयाँ पुस्तक आउँदै आएनन् । फेरि पनि संकट आयो । त्यसअघि तिन चार जना कर्मचारी हुन्थे । मार्केटिङ गरिन्थ्यो, सब बन्द भयो । भेटघाट र छलफल गर्दै गरिएन । सुधारको लागि केन्द्रले पनि चासो राखेन । व्यक्तिका पुस्तक पसलसँग भिड्न असक्षम भयो । फेरि मुर्दाको रुपमा निरन्तरता पायो । साझाको भन्दा थोरै पुस्तक छन् । मैले परिवार चलाउँछु । कर्मचारीलाई तलव दिन्छु घर भाडा तिर्छु ।

पुस्तक व्यवसायी लालमणि लम्सालले भन्नुभयो, साझाका कर्मचारीले पुस्तकको धुलोपनि झार्नुहुन्न । खोजेको पुस्तक भेटाउन पनि सक्नुहुन्न कसरी हुन्छ ? उहाँका अनुसार साझाका कर्मचारीहरुमा लगाव र इमान्दारीता छैन । यसैबाट कमाई खाने हो, मेरो व्यवसाय हो भन्नुपर्छ ।
लुम्बिनी प्रदेशको राजधानी बनिसकेपछि साझा घोराहीबाट अन्त सार्न सजिलो छैन । यस क्षेत्रका साहित्यकार पत्रकारले कुनैपनि हालतमा सर्न नदिने अडान लिएका छन् । सार्ने शब्द पनि उच्चारण नगर्न प्रेस काउन्सील नेपालका सदस्य शरद अधिकारीको सुझाव छ ।

सबैभन्दा ठूलो समस्या घर भाडा तिर्न नसक्नु रहेको लामो समय निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नुभएका दुर्गाबहादुर डाँगीको भनाई छ । त्यससँगै आवश्यक कर्मचारी र नयाँ पुस्तक आउँदैनन् । कारोबार नहुँदा बत्ति, टेलिफोन र पानीको बिल तिर्न मुस्किल पर्छ ।

आफ्नै प्रकाशनका नयाँ संस्करण निजी पुस्तक पसलमा भेटिन्छन् । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले छाप्ने पुस्तक मात्रै बेच्न पाएपनि साझा उभो लाग्ने जानकारहरुको सुझाव छ । विद्यालयका पुस्तक साझाले बिक्री गर्दथ्यो । शब्दकोष, व्याकरण तथा कापीहरुपनि साझाले बेच्ने गर्दथ्यो । स्टक सकिएको पुस्तक अर्डर गरिन्थ्यो । नयाँ प्रकाशन भएको चाँडै शाखामा पुग्थ्यो । त्यति व्यवस्थित साझालाई सञ्चालक समितिले लथालिङ्ग भताभुङ्ग बनाएको आम बुझाई रहेको छ ।

आफ्नै जमिन बनाएर दिगो रुपमा साझा चलाउने व्यवस्था मिलाउन शाखाको सञ्चालक समितिले आग्रह गरेको थियो । अल्पकालका लागि भएपनि निःशुल्क सटर उपलब्ध गराउन पहल गर्न देवकोटाकै संयोजकत्वमा राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष पुरुसोत्तम खनाल, लेखक संघका अध्यक्ष खगराज न्यौपाने, परिषदका जिल्ला अध्यक्ष कमलमणि देवकोटा, पुस्तक व्यवसायी लालमणी लम्साल र पत्रकार गोविन्द खड्का सहित शाखा प्रमुख सदस्य सचिव हुने गरी साझा सहयोग समिति गठन गरेको थियो ।

त्यसै सहमितिले जिल्ला हुलाक कार्यालय दाङलाई आग्रह गर्यो । साझालाई उपलब्ध गराउन लचिलो हुने हुलाक कार्यालय प्रमुख शोभाराम बस्नेतले विश्वास दिलाउनु भयो । कार्यालयको नयाँ भवनमा तिनवटा सर्टर खाली छन् । एउटा उपलब्ध गराउन आग्रह गरेको थियो । त्यसका लागि केन्द्रबाट निर्देशन आउनुपर्ने हुलाक अधिकृत बस्नेतले जवाफ दिनुभयो । यसरी निःशुल्क सटर प्राप्त भयो भने साझाले विकास गर्ने स्थानीय अगुवाको विश्वास छ । साझा मौलायो भने दाङको प्रतिष्ठा र इज्जत बढ्ने विश्वास छ तर साझा घर भाडामै अल्झिएको छ ।