काठमाडौं । राष्ट्रिय सहकारी दिवसको अवसरमा काठमाडौंको सामाखुशीस्थित आर्जन बचत तथा ऋण सहकारी संस्थाले संस्थाका सक्रिय सदस्यहरुबीच सहकारी सम्वाद कार्यक्रम सम्पन्न गरेको छ । ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा संस्थाले आफ्ना सक्रिय सदस्यहरुबीच सम्बाद कार्यक्रम गरेको हो ।
राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित सम्वाद कार्यक्रममा संस्थाका अध्यक्ष डीबी आलेमगरले संस्थालाई ३० करोडको कारोबारमा पुर्याउने लक्ष्य लिएको बताए । अध्यक्ष आलेमगरले आफ्नो संस्था सदस्यमुखी बन्ने बताउँदै अब संस्थाले केही मानिसहरुलाई सक्रिय सदस्य बनाउने समेत बताए । उनले आफ्नो संस्थाको सक्रिय सदस्य बनाउने योजना नेपालभरकै लागि नयाँ भएको धारणा राखे । उनले यो योजनाले आफ्नो संस्था २२ करोडबाट ३० करोडको कारोबारमा पुग्ने विश्वास पनि व्यक्त गरे ।
संस्थालाई समुदायमा स्थापित गरेर लैजाने र शहरी क्षेत्रमा एउटा पहिलो सदस्यमुखी नमुना सहकारी बनाउने लक्ष्य लिई सोही अनुसार संस्था अघि बढीरहेको जानकारी गराए। संस्थामा एउटा सकृय सदस्य समूह बनाई समूहलाई परिचालन गरेर अघि बढ्दा छिट्टै लक्ष्यमा पुगिने विस्वास उनले व्यक्त गरे।
सम्वाद कार्यक्रम संस्थाकी प्रशासन प्रमुख सुल्जा पौडेलले संचालन गरेकी थिइन् भने लेखा समिति प्रमुख कविता गुरुङ, शिक्षा समिति प्रमुख त्रिलोचन घिमिरे, संस्थाकी सदस्य तथा महिला उद्यमी बसुमाया तामाङ लगायतले सम्वादमा सहभागिता जनाएका थिए ।
सन् १९२३ देखि अन्तरराष्ट्रिय सहकारी संगठन मार्फत हरेक वर्षको अंग्रेजी जुलाई महिनामा विश्वभरी सहकारी दिवस मनाउने चलन छ । सन् १९९५ देखि संयुक्त राष्ट्रसंघले समेत यस दिवसलाई अंगीकार गरेको छ ।
यसवर्षको राष्ट्रिय सहकारी दिवसको नारा ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ रहेको छ।