• मंसिर १० २०८१, सोमबार

भारतले मिच्यो दशगजाः घर भारततिर, गोठ नेपालतिर

चैत्र २० २०७७, शुक्रबार

काठमाडौं । भारतले नेपालाई सधैं हेप्दै आएको छ । हालै सिराहा नगरपालिका–२० गदियानीमा ज्ञानी मुखियाको घर छ । उनको आँगनमै सीमा स्तम्भ छ । यो नेपाल–भारत सीमा छुट्याउने  पिलर हो । मुखिया भारतको लगडी गाउँका हुन् । उनको घर पिलरदेखि भारतपट्टि पर्छ भने गाईगोरु नेपालतिर बाँध्ने गर्छन् । दशगजा क्षेत्रमा पुर्खादेखि बस्दै आएकाले यहाँ बस्न नहुनेबारे आफँलाई थाहा नभएको उनले बताए ।

‘पहिले दशगजा ऐलानी पर्ती थियो । सीमा जोडिएका खेतवालाले बिस्तारै मास्दै गए,’ नेपालतर्फको गदियानी गाउँका ६७ वर्षीय राजेन्द्र यादवले भने, ‘अब त सीमामा पिलर देखिन्छ, दशगजा देखिँदैन । दुवैतिरका बासिन्दाले पाएसम्म मिचेका छन् ।’ उनका अनुसार दशगजा मिचिएको ठाउँमा केहीले खेती गरका छन् भने केहीले स–साना टहरा बनाएर पसल खोलेका छन् ।

सिरहाको लगडी–गदियानीस्थित दशगजा क्षेत्र अतिक्रमण गरी भारतीय नागरिकले बस्ती नै बसालेका छन् । सो ठाउँमा २ सय ५० भारतीय परिवारको बसोबास छ । उक्त बस्ती भारतको पदमा ग्राम पञ्चायतको वडा नम्बर ४ लगडी गाउँ हो। भारतीय नागरिक जयनारायण मुखियाले आफ्ना पूर्वजले नै दशगजा क्षेत्रमा बसोबास गर्दै आएको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।