काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि मेलम्ची खानेपानीको औपचारिक उद्घाटन गर्ने भएकी छिन् ।
काठमाडौँको भृकुटीमण्डपमा धाराको टुटी खोलेर राष्ट्रपति भण्डारीले मेलम्चीको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको निर्देशनालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीले दिउँसो २ बजे मेलम्ची उद्घाटन गर्ने आयोजना कार्यान्वयन उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने छन् ।
मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्देशनालयले भृकुटीमण्डपमा बनाएका ढुंगेधारामा रहेको ३ वटा धारा खोलेर उद्घाटन गर्ने तयारी रहेको आयोजनाका प्रमुख कमलराज श्रेष्ठले बताए । भृकुटीमण्डपमा नवनिर्मित सार्वजनिक ढुंगेधारामा मेलम्चीको पानी निरन्तर आउने व्यवस्था मिलाइएको छ ।
यसअघि आयोजनाले २३ गते उद्घाटन गर्ने तयारी गरेको थियो । तर पानी वितरण भइसकेपछि ढिला गर्न नहुने भन्दै उद्घाटन कार्यक्रम भोलि गर्न लागिएको हो ।
काठमाडौं उपत्यकाका सर्वसाधरणले आइतबारदेखि नै मेलम्चीको पानी खान थालिसकेका छन् । हाल पुरानो पाइपलाइनबाट पानी वितरण भइरहेको आयोजनाले जनाएको छ । हालसम्म महांकाल, मीनभवन र खुमलटारको ट्याङ्कीबाट एक दिन बिराएर पानी पठाइएको छ भने अनामनगरको ८ सय घरमा भने २४ सै घण्टा पानी वितरण भइरहेको छ ।