• मंसिर १३ २०८१, बिहीबार

सकियो विमस्टेकको परराष्ट्रमन्त्रीस्तरीय बैठक, म्यान्मारमा भइरहेको नरसंहारको विषयबारे बोलिएन 

चैत्र १९ २०७७, बिहीबार

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (विमस्टेक) को १७ औं परराष्ट्रमन्त्रीस्तरीय बैठक आज बिहीबार सकिएको छ ।

विमस्टेकको अध्यक्ष श्रीलंकाले आयोजना गरेको भर्चुअल बैठकमा सदस्य राष्ट्रहरु भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यान्मार, थाइल्याड र भुटान थिए । म्यान्मारमा एक महिनादेखि भइरहेको नरसंहारको विषयबारे केही नबोली सबै मुलुकका परराष्ट्रमन्त्रीहरुले विमस्टेकको एजेन्डामाथि नै आफ्ना भनाइहरु राखे । बैठकमा उपस्थित मन्त्रीहरुले म्यान्मारले गलत गरिरहेको भन्ने कुनै अभिव्यक्ति नै दिएनन् ।

यस्तो अवस्थामा बहुपक्षीय अन्तर्राष्ट्रिय कार्यक्रममा म्यान्मारका सरकारी प्रतिनिधिहरुलाई बोलाएर सहभागिता गराउनु भनेको त्यहाँको सैनिक सरकारलाई अन्तर्राष्ट्रिय रुपमै मान्यता दिनु हो ।

म्यान्मारमा एक महिनाअघि माघ १९ गते जननिर्वाचित सरकारलाई अपदस्त गर्दै सैनिक ‘कु’ गरिएको थियो । यसबीचमा महिला, बालबालिका, विद्यार्थी, वृद्ध गरी पाँच सयभन्दा बढी बर्मेली नागरिकले सेनाका हातबाट ज्यान गुमाइसकेका छन् । 

नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भारतका विदेशमन्त्री एस. जयशंकरसहित अन्य सदस्य मुलुकका विदेशमन्त्रीहरुले निर्धारित एजेन्डामै विमस्टेकका सदस्य राष्ट्रहरुबीच सहकार्य गर्नेलगायतका धारणा राखे ।