• मंसिर ११ २०८१, मंगलवार

केपी शर्मा ओलीका सबल र दुर्बल पक्ष

चैत्र १९ २०७७, बिहीबार

सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति कस्तो छ भनी सार्वजनिक रूपमै मूल्यांकन हुने गर्दछ । आदर्श र नैतिकवान व्यक्ति पनि कतिपयको नजरमा आलोचक बन्न पुग्छन् । व्यक्तिको बहुआयामिक पक्षलाई विस्तृत रूपमै बुझ्ने र मूल्यांकन गर्ने दृष्टिकोण सबैमा समान नहुने भएकैले एउटै व्यक्ति कतिपयको नजरमा उत्कृष्ट मानिन्छ भने कतिको नजरमा उही व्यक्ति सामान्य ठानिन्छ । यसलाई सामान्य रूपमा लिनुपर्दछ । सबैका सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । यसैको आधारमा कोही समाजमा चर्चित बन्छ त कोही आलोचक । काम गर्ने व्यक्तिले नै बढी आलोचना सहनुपर्दछ । आफ्नो बारेमा प्रशंसा होइन आलोचना सुन्ने महान व्यक्तिको विशेषता हो । किनकि प्रशंसाले त व्यक्तिलाई चुलीमा पुर्याएर शिथिल गराउँछ, तर आलोचनाले कमीकमजोरी सच्याउँदै सफलताको शिखरमा पुर्याउन निरन्तर जागरुक गराउँछ । राजनीतिज्ञले अवलम्बन गर्नुपर्ने यो महत्वपूर्ण कुरा हो ।

सहकार्यको साझेदारी नभए पनि एउटै गाउँको बासिन्दाको हैसियतले बाल्यकालदेखि अहिलेसम्म मैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविछिन्न अध्ययन अवलोकन गर्दै आएको छु । ओलीलाई हेर्ने मेरो दृष्टिमा, दृष्टिदोष पनि हुन सक्ला जसको कारण मेरो दृष्टिकोण अरूको जस्तो नहुन सक्छ । तथापि केपी ओलीकै राजनैतिक सहकर्मी, निकटतम सहयोगी, विरोधी एवम् प्रतिपक्षसँगै राखेर उनलाई तुलनात्मक रूपमा अध्ययन गर्दा मैले पाएको केपी शर्मा ओलीको सबल दुर्बल पक्षलाई यहाँ उजागर गर्ने प्रयास गरेको छु । मैले जाने बुझेका केपी शर्मा ओलीको नितान्त व्यक्तिगत व्यवहार र कार्यशैलीमा आधारित स्तम्भकारको यो व्यक्तिगत टिप्पणी मात्रै हो । यसैले यसलाई अन्यथा नठानीदिन अनुरोध गर्दछु । साथै ओलीको सम्माननीय प्रधानमन्त्रीको पदीय हैसियतसँग भने यो टिप्पणी सम्बन्धित छैन, किनकि प्रधानमन्त्रीको पदीय हैसियत, पदीय गरिमा, कार्यसम्पादन प्रणाली एवम् कार्य प्रकृतिको आफ्नै विशेषता हुन्छ । गहन सार्वजनिक दायित्व बहन गर्ने व्यक्तिको पदीय दायित्व सम्पादनमा व्यक्तिगत व्यवहार र कार्यशैलीको अन्तरसम्बन्ध भने रहन्छ । यस आलेखमा मैले अनुभूति गरेका केपी शर्मा ओलीको व्यक्तिगत बानीव्यहोरा, जविनशैली र व्यक्तित्वसँग सम्बन्धित विषय वस्तुलाई नै स्रोत सामग्री बनाएको छु ।

kp sharma oli

(क) केपी शर्मा ओलीको सबल पक्षः

१. कुशल र दृढ नेतृत्व: केपी शर्मा ओलीमा विद्यार्थी जीवनदेखि देखापरेको नेतृत्व क्षमता क्रमिक रूपले सुदृढ र विस्तारित हुँदै अहिले राष्ट्रियस्तरमा फैलिएको छ । ओलीमा एक कुशल र दृढ नेतृत्वमा हुनुपर्ने गुण र क्षमता छ । यसले अहिलेसम्म नेपाली जनतालाई प्रभावित बनाउँदै ल्याएको छ । गन्तव्यतर्फ क्रियाशील रहँदा पहिल्याउँदै जानुपर्ने मार्ग पनि सबैको लागि सधैँ प्रशस्त भैरहँदैन । कतिपय स्थानहरूमा खाल्डाखुल्डी हुन सक्छन्, कति स्थानमा अवरोधको पहाडै ठडिएको हुन सक्छ । बाटोमा आइलागेका यस्तै चुनौतीसँग डराउने व्यक्ति सफलताको शिखरमा पुग्दैन । त्यस्तो व्यक्तिको नेतृत्व दृढ र सफल पनि हुँदैन । यो एक कुशल नेतामा हुने गुण होइन । जङ्घार पनि तर्न खोज्ने तर खुट्टा पनि कमाउने व्यक्तिको नेतृत्व कुशल हुन सक्दैन । आइलाग्ने जस्तोसुकै परिस्थितिलाई सामना गरी अगाडि बढ्ने व्यक्ति नै सफलताको शिखरमा पुग्छ । चुनौतीको पहाड भत्काउन व्यक्तिमा आवश्यक पर्ने गुण भनेकै दृढ अठोट, उत्साह र साहस, आत्मबल, निरन्तर प्रयास एवं असफलतालाई स्वीकार गर्दै निरन्तर अगाडि बढ्ने जुझारु प्रवृत्ति हो । केपी शर्मा ओलीमा यस्तो आदम्य साहस र उत्साह छ, जसले उनलाई कुशल र दृढ नेतृत्ववाहक नेता हुन भनी चिनाउँछ ।

२. राष्ट्रभक्त आदर्श व्यक्तित्व:

केपी ओली राष्ट्रभक्तिले अभिप्रेरित व्यक्ति हुन भन्ने कुरा उनका पछिल्ला कामकार्यले नै पुष्टि गर्दै ल्याएको छ । राष्ट्रभक्तिको भावना सबैको समान नहुन सक्छ । आफूमा निहित राष्ट्रभक्तिलाई स्वार्थमा सम्झौता गर्ने उच्च पदस्थ व्यक्ति विगतमा पनि थिए, अहिले पनि छन् । कनिष्ट व्यक्तिमा राष्ट्रभक्तिको भावना नहुने वरिष्ठमा हुने भन्ने कुरा हुँदैन । सामान्य नागरिक पनि राष्ट्रभक्तिको उदाहरण बनेका सयौँ दृष्टान्तहरु छन् । हाम्रै वीर पूर्खाले राष्ट्रभक्तिको निम्ति पुर्याएको योगदानको छाप हाम्रो मनमस्तिष्कबाट कहिल्यै हट्न सक्दैन । विगतका केही उच्चस्तरीय राजनीतिक व्यक्तिकै राष्ट्रभक्तिको भावना हेर्ने हो भने तत्कालिन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको कार्यकालमा वि.सं. २००९ सालमा नेपाली सेनाको सुदृढीकरणको लागि झिकाइएका भारतीय सैनिक अहिलेसम्म कालापानी क्षेत्रबाट हटेका छैनन् । मातृकाप्रसाद कोइरालादेखि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालसम्म २० जना नेपालका प्रधानमन्त्री बने । राजाकै कुरा गर्ने हो भने त्रिभुवनदेखि ज्ञानेन्द्रसम्मको तीन पुस्ताका चारजना राजा भए । तर उनीहरू चौबीसै जनाले भारतीयले कब्जा गरेको भूमि हाम्रो हो, भारतीय सेना सो क्षेत्रबाट हटोस् भनेर भारतीय समकक्षीसँग स्पष्टसँग कुरा राख्ने हिम्मत गरेनन् । उल्टै आफ्नै अतिक्रमित क्षेत्र कटौती गरेरै नेपालको नक्सा प्रचलनमा ल्याए । यसो गर्नुको मुख्य कारण उनीहरूको सत्ता लिप्सालाई राष्ट्रिय भावनासँग सम्झौता गर्नु नै थियो । केपी शर्मा ओलीले अतिक्रमित आफ्नो भूमि समेटेर कमसेकम नेपालको नक्सा त बनाए । भारतीय सेना सो क्षेत्रबाट फर्कियोस् भन्ने उद्घोष पनि गरे । तर पछिल्लो नक्सालाई प्रचलनमा ल्याउन उनले तत्परता भने देखाएका छैनन् । तथापि यो उनको राष्ट्रभक्तिको अनुपम नमूना हो । नयाँ नक्सा सबै क्षेत्रमा उपयोगमा ल्याइयोस् । नेपाली नागरिक यही चाहन्छन् ।

३. निर्णायक क्षमता अब्बल:

केपी शर्मा ओलीमा अनुकरणीय निर्णायक क्षमता छ । जुन नेतामा हुनुपर्ने महत्वपूर्ण विशेषता हो । उच्च  ओहदामा रहने व्यक्ति अनिर्णयको बन्दी बने देश र जनताको कल्याण हुँदैन । राज्य सञ्चालन गर्दा, राजनीति गर्दा, महत्वपूर्ण निर्णय गर्नुपर्दा, मुलुकमा राजनैतिक, आर्थिक, सामाजिक चुनौती आइलाग्दा, कार्यकारी प्रमुखले उत्पन्न परिस्थितिका बारेमा तत्कालै विविध कोणबाट विश्लेषण गरी निर्णय गर्नुपर्ने हुन्छ । अन्यथा छोटो समयमै समस्या झन् भयावह र बिकराल नै बन्न पुग्छ । मौकामा गरिने उचित निर्णय नै समस्या समाधानको अचुक अस्त्र पनि हो । मुलुकमा उत्पन्न पछिल्लो राजनैतिक घटना क्रमको सन्दर्भमा ओलीले लिएका निर्णयले ओली आफैलाई मजबुद बनाएको देखिन्छ । यस क्रमको ओलीको निर्णायक क्षमता अब्बल र दुरदृष्टिमा आधारित भएको पुष्टि हुन्छ । अवस्था अनुसार लिनुपर्ने निर्णय सबैको लागि मान्य नहुन सक्छ । न त सबैको मान्य हुने उद्देश्यले नै निर्णय गरिन्छ । व्यक्ति वा समूह रिझाउन होइन देश र जनताको हितमा निर्णय आयो आएन भन्ने कुरा नै सबैभन्दा महत्वपूर्ण हो ।

४. परिस्थिति अनुसार चल्न सक्ने खुबी :

केपी ओलीले आफूमा परिस्थिति अनुसार चल्न सक्ने खुबी छ भन्ने कुरा युवा अवस्थाबाटै प्रदर्शित गर्दै ल्याएका हुन् । वि.सं. २०२९ सालकै ओली सम्बद्ध एक घटना यस व्यवस्थाकारको बालमनस्थितिमै घुसेको र अहिलेसम्म ताजै रहिरहेको छ । जुन स्मरण गर्न लायक छ । झापाकाण्डपछि त्यसताकाका युवा कम्युनिस्ट नेता सबै चिल्लीबिल्ली भै भूमिगत भए । केपी ओली सुरक्षित बन्ने उद्देश्यले तेह्रथुमको आठराई इवामा पुगेको सुइँको प्रशासनले पायो । प्रशासनको धरपकडबाट बच्न स्थानीय तमोर खोला किनारमा लुकामारी गर्दै भागेका केपी ओली सुरक्षाकर्मी सहितको दलबलको घेराभित्र पर्दा प्रशासनले एकपट्टिको प्राकृतिक मजबुद घेरा ठानेको तमोर नदीमै हाम फालोर पारीपट्टि ताप्लेजुङ क्षेत्रमा उतिखेरै उत्रिए । प्रारम्भमा त खड्ग ओलीलाई सुरक्षकर्मीले जीवितै तमोरमा फाल्यो भन्ने हल्ला नै चल्यो तर वास्तविकता त्यो थिएन । त्यो हलाले उनको आयु बढायो । तमोर नदीमा हाम फाल्ने कुरो सामान्य थिएन । किनकि अरूणपछिको तमोर सप्तकोसीको दोस्रो ठूलो सहायक नदी हो । जहाँ जोसुकैले सामान्य अवस्थामा पौडिएर वारपार गर्न सक्दैन । यसको अलावा ओलीले गरेको पछिल्लो परिस्थितिजन्य निर्णय पनि औचित्यहीन भन्न मिल्दैन । ओलीमा परिस्थितिलाई टेकल गर्ने क्षमता उच्च छ ।

५. लगनशीलता :

केपी ओली आफ्नो सिद्धान्तप्रति, काम कर्तव्यप्रति उद्देश्यप्रति सधैँ लगनशील र दृढ भै लागि पर्दछन् । यही लगनशलिताले उनलाई सफलताको सिँढी चढाउँदै अहिलेको अवस्थामा ल्याइपुर्यायो । आफ्नो अठोट र उद्देश्यप्रति ओलीले कहिल्यै कसैसँग सम्झौता गरेनन् । युवा अवस्थादेखिको उनको अविचलित लगनशीलता नाता सम्बन्धको बन्धनले घेरिउन् । आफ्ना कामकर्तव्यमा बाधक बन्ने आफन्तसमेत उनको विश्वास र नजरबाट अलगिँदै गए । यसलाई अहिले पनि ओलीको निरन्तरता दिँदै आएका छन् ।

६. सोचलाई कार्यमा परिणत गर्ने व्यक्ति:

हुन त ओलीको बोली चटकेशैलीको भन्ने टिप्पणीकार पनि प्रशस्त छन् । प्रधानमन्त्रीको पदीय हैसियतमा उनीद्वारा व्यक्त विचारमध्ये कतिपय व्यवहारमा नउत्रिएको कारण यस्तो टिप्पणी आउनु अस्वाभाविक होइन । उनले उद्घोष गरेका विषयवस्तुमध्ये कतिपय पूरा भएका छैनन्, अधिकांश त पूरा हुँदै आएका छन् भन्ने कुरा कसैको नजरमा छिपेको छैन । अन्य राजनीतिज्ञले जस्तै आमनागरिकलाई प्रभावित गराउने राजनीतिकशैली ओलीबाट प्रयोग नभएको होइन । यस्तो संस्थागत राजनीतिक शैलीलाई छोडेर ओलीको नितान्त व्यक्तिगत कार्यशैलीलाई हेर्दा मैले उनीमा बचनबद्धताप्रति कटिबद्ध, सोचेको र गर्छु भनेको कार्य पूरा गर्ने व्यक्तिको रूपमा लिन्छु । यही विशेषताले केपी ओलीलाई राजनैतिक उचाइमा पुर्याएको हो ।

७. नेता कार्यकर्ता प्रभावित बनाउने कला :

सहकर्मी नेता, पार्टीका कार्यकर्ता र सर्वसाधारण नागरिकलाई प्रभावित बनाउने कला केपी ओलीमा छ । यो नेतामा हुनुपर्ने आदर्श गुण हो । एकोहोरो सोचविचार, अदुरदर्शी व्यक्ति राजनीतिको कुशल खेलाडीमा स्थापित हुन सक्दैन । आदर्श राजनीतिज्ञमा रोइरहेकालाई हँसाउने, हाँसी रहेको हाँसो नछुटाउने तथा सर्वसाधारण जनतालाई प्रभावित बनाउने आकर्षक कला हुनुपर्दछ, जुन केपी शर्मा ओलीमा छ । आफूमा भएको कलाकारिताकै विशेषतालाई वाक चातुर्यताकै माध्यमबाट प्रयोग गर्दै प्रतिद्वन्दी र प्रतिपक्षी एवं विरोधीलाई नै आफ्नो बसमा ल्याउन सक्ने खुबी ओलीमा छ । केपी ओलीले निरन्तर जनताको साथ पाउनुको कारण पनि यही हो ।

(ख) केपी ओलीको दुर्बल पक्षः

१. ओली र व्यवहारमा तालमेल नहुनु:

प्रधानमन्त्रीको पदीय हैसियतको ओलीको बोली र व्यवहारमा भने तालमेल छैन । कार्यकारी सम्माननीय प्रधानमन्त्री देश र जनताको आकर्षणको केन्द्रबिन्दु हुन् । प्रधानमन्त्रीले पूरा गर्न नसक्ने कुरा बोल्नु हुँदैन । बोलेका कुरा पूरा गर्न नसक्ने अवस्था आए आफैँले जनतालाई स्पष्ट जानकारी गराई आफ्नो मर्यादा र प्रतिष्ठा जगेर्ना गर्नुपर्दछ । सीमा बाहिरको ठट्यौली प्रधानमन्त्री पदको निम्ति सोभायमान हुँदैन । क्षणिक आनन्ददायक मात्र होइन, प्रधानमन्त्रीले आमसभा समारोहमा के कुरा बोल्छन् भन्ने कौतुहलता जनतामा हुनुपर्दछ । यस्तो कौतुहलता भनेको जीवन उपयोगी आनन्दप्रेरित सार्वजनिक सरोकारको विषय हो जसलाई पूरा गरे जनताले जीवनशैली नै परिवर्तन भएको आभास गर्न पाउन । यस्ता दीर्घकालीन विषयवस्तुका बारेमा भने प्रधानमन्त्रीको बोली र व्यवहारमा तालमेल हुनुपर्छ ।

२. अहम् र स्वेच्छाचारिता:

केपी ओलीको अर्को दुर्बल पक्ष अहम र स्वैच्छाचारिता हो । ओलीले सहकर्मी, सहयोगी एवं पार्टीकै तर्फबाट एकलौटी विश्वास र विशेषाधिकारै प्राप्त गरे । यो उनको कार्यक्षमताकै सम्मान थियो तर प्राप्त यही विश्वासलाई कार्य सम्पादनको कुन हदसम्म कायम राखी निरन्तरता दिने भन्ने कुरामा ओली चुके । विश्वास र विशेषाधिकारको हदबाहिर पुगे त्यो आफ्नै लागि प्रत्युत्पादक बन्छ भन्नेतर्फ ओली संवेदनशील बनेनन् । यसको परिणाम विशेषाधिकारकै डिमार्केसन लाइन तोडेर कार्य गर्दा उनी प्रोत्साहित भैरहँदा ओली आफ्नै कारणबाट समस्यामा रुमलिन पुगे । विपक्षी र विरोधीप्रति राजनैतिक मान्यताको हद नाघेरै अत्यन्त कठोर बन्ने ओलीको शैली उनी आफैँको लागि प्रत्युत्पादक बन्दै आएको छ । यो उनको दुर्बल पक्ष हो ।

३. अपराधिक प्रवृत्तिसँग सम्झौता :

सत्तामा टिकिरहने, राज्य सुचारु रूपले सञ्चालन गर्ने, सर्वसाधारणलाई सुरक्षाको अनुभूति दिलाउने, अपराधमुक्त समाज निर्माण गरी जनजीवन सहज बनाउने र विकास निर्माणका कार्य गरी जनता रिझाउने सत्तामा पुग्ने व्यक्तिको उद्देश्य हुनुपर्दछ । सकारात्मक कदमका साथ अगाडि बढ्ने व्यक्ति यस्ता कार्यमा सफल हुन्छन् । यही उद्देश्य लिएर अगाडि बढेका केपी ओली आफ्नै कारणबाट राजनीतिक समस्यामा धकेलिँदा अपराधिक प्रवृत्तिउपर हातेमालो गरी राजनीतिक संकट पार गर्न लागिपरे । यस क्रममा नेकपा चन्द पक्षसँग भएको अधुरो सम्झौता, टीकापुर हत्याकाण्डका नाइकेलाई उन्मुक्ति दिलाउने प्रयास तथा आफ्नै मन्त्रिमण्डलका राजनीतिक भ्रष्टलाई संरक्षण गर्दा चुलिएको ओलीको इज्जत र प्रतिष्ठा जनताको नजरबाट गिर्यो । यसको दुष्प्रभाव केपी ओलीको भावी राजनीतिक जीवनमा समेत परिरहनेछ । यो ओलीको अर्को दुर्बल पक्ष हो ।

४. हदभन्दा बाहिरको विश्वास:

अधिकांश राजनेता आफ्नै नजिकका नातेदार, आफन्त तथा निटकतम राजनीतिक सहयोगीकै कारण बदनाम हुँदै आएका छन् । केपी शर्मा ओली पनि यसबाट अछुत रहन सकेनन् । उनले धेरै विभाग र कार्यालय मन्त्रालय मातहतबाट झिकेर आफू मातहत राखे । आमनागरिकले त्यसलाई प्रारम्भमा सकारात्मक ठाने । प्रधानमन्त्रीको कार्यालय मातहत राखिएका निकायको काम कार्य प्रभावकारी हुन्छ भन्ने जनविश्वास भयो । तर प्रधानमन्त्री मातहत पुगेका राज्य निकायको कामकार्य साविकको भन्दा झन् कमजोर मात्र होइन समूहगत स्वार्थमै केन्द्रित हुँदै आयो । ओलीकै नजिकका व्यक्ति र राजनैतिक सहकर्मीकै इशारामा त्यस्ता निकायका पदाधिकारी चल्दा अन्ततः ओलीकै बदनाम भयो । ओलीले हद नाघी गरेको विश्वासलाई नातेदार तथा निकटस्थ राजनीतिक सहयोगी मानिएका केही मन्त्रीहरूले नै उपेक्षा गरेको पाइयो । यो उनको अर्को दुर्बल पक्ष हो ।