काठमाडौं । नेपाल पत्रकार महासंघको विभिन्न तहमा नयाँ नेतृत्वका लागि उमेदवारहरु घोषणा भएका छन् । चुनावका लागि २ वटा प्यानल देखा परेका छन् । दुवै प्यानलले आज मात्रै आधिकारिक उम्मेद्वारी घोषणा गरेका छन् । लोकतान्त्रिक प्यानलमा विपुल पोखरेलको नेतृत्वमा प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टर लगायतको गठबन्धन छ ।
लोकतान्त्रिक-प्रगतिशिल-समावेशी नाम दिइएको प्यानलको अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल लगायत आधिकारिक उम्मेदवार छ । बुधबार पत्रकार सम्मेलन गरी यो प्यानलले उम्मेदवारी घोषणा गरेको हो । यस्तै निर्मला शर्माको नेतृत्वमा रहेको प्रगतिशिल-समावेशी प्यानलले पनि उम्मेद्वारी घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी ओली निकट प्रेस चौतारीको समूह यो प्यानलको उम्मेद्वार देखिएका छन् । मंगलबार नै पत्रकार सम्मेलन गरेको यो प्यानलले अध्यक्षमा पहिलोपटक महासंघको नेतृत्वमा महिलालाई ल्याउनुपर्ने भन्दै निर्मला शर्मालाई अघि सारेको छ । शर्मा सञ्चारिका समूहकी पूर्व अध्यक्ष हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल छन् । यस्तै महासचिवमा बालकृष्ण बस्नेत र कोषाध्यक्षमा कृष्ण गिरी छन् ।
अध्यक्षका लागि गजेन्द्र बुढाथोकी र रामप्रसाद दाहाल पनि चुनावी मैदानमा छन् । अन्य पदमा पनि स्वतन्त्र उम्मेदवारी दिनेको सूची लामै छ । दुवै प्यानलका साथै स्वतन्त्र उम्मेदारले पनि चुनाव जित्नका लागि प्रचार प्रसारलाई तिब्रता दिएका छन् । महासंघको नयाँ नेतृत्वका लागि फागुन २५ गते चुनाव हुँदैछ ।