मानिसले दैनिक जीवन र व्यवहारमा मानिसलाई झुक्याउने कुरा स्वभाविक मानिन्न । तर पश्चिमा मुलुकहरुमा वर्षमा १ दिन मानिसहरु एकले अर्कोलाई मजाले झुक्याउँछन् र मजा लिन्छन् । हुँदाहुँदा यो चलन पूर्वीय मुलुकहरुमा पनि आएको छ र यहाँका मानिसहरु पनि साथीभाई र आफन्तलाई झुक्याएर मजा लिन्छन् । कसरी र कहाँबाट सुरु भयो यो चलन ? यसबारेमा केही जानकारी राखौं ।
पश्चिमा राष्ट्रहरुमा यो दिनलाई गैरधार्मिक पर्वको रुपमा मनाइन्छ । आजको दिन ती मुलुकहरुमा सहकर्मीहरुले एकअर्कालाई उडाउने गर्छन् । धेरैजसो पश्चिमी सञ्चार माध्यमहरुले समेत पाठकलाई झुक्याउने खालका समाचार दिने गरेको पाइन्छ । यसबारेमा एउटा कथा रहेको छ । प्राचिन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो । धेरै इतिहासकारहरु अप्रिल फूल पर्वलाई हाल विश्वभर लागु ग्रिगोरियन पात्रोजत्तिकै पुरानो मान्छन् ।
त्यसलाई सन् १५६३ मा फ्रान्सको काउन्सिल अफ ट्रन्टले लागु गरेको थियो । त्यसअघि पुरानो पात्रो अनुसार नयाँ वर्ष मार्चको अन्तिम सातादेखि अप्रिल पहिलो दिनसम्म मानिन्थ्यो । नयाँ पात्रोले नयाँ वर्षलाई जनवरीमा सारेको थियो । त्यो बेला सञ्चारको सुस्त विस्तार र चलिआएको परम्पराप्रति अडिग रहेकाले अर्को वर्ष धेरैले अप्रिलमै नयाँ वर्ष मनाए । नयाँ पात्रो लागु गर्ने कार्यभार पाएको सत्ता र तिनको आडमा नयाँ पात्रो पक्षधरहरुले अप्रिलको छेउछाउमा नयाँ वर्ष मान्नेहरुलाई हाँसो र व्यङ्ग्यको पात्र बनाउन थाले । उनीहरुले अप्रिलमा नयाँ वर्ष मान्नेहरुलाई ‘पोइसन अभ्रिल (फ्रेन्स भाषामा अप्रिलको माछा) भनेर नाम दिए । अझ कतिपय अवस्थामा उनीहरुको ढाडमा कागजको माछा टालेर उनीहरुलाई बेइजत गरिन्थ्यो । फ्रेन्स उखान टुक्कामा माछा सजिलै अर्काको कुरा पत्याउने व्यक्तिहरुलाई जनाउन प्रयोग गरिन्छ ।
फ्रान्स शक्तिशाली भएका कारण सन् १६औं शताब्दीमा यो संस्कृति फ्रान्सबाट ग्रिगोरियन पात्रो अङ्गीकार गर्न थालेका ब्रिटेन र होली रोमन इम्पायरतिर फैलियो । युरोपको विश्वव्यापी औपनिवेशिक प्रभावको कारण यो पर्व विश्वका अन्य क्षेत्रमा फैलिएको मानिन्छ । तर सबै इतिहासकारहरु अप्रिल फुल पात्रो रूपान्तरण लागु गर्न खोज्ने उदण्डहरुले चलाएको भनेर मान्न तयार छैनन् । उनीहरु यो पर्वको प्रारम्भ २००० वर्षअघि एक रोमन पर्वबाट भएको तर्क दिन्छन् ।
प्राचीन रोममा मार्चको अन्तिमतिर अर्थात् मार्च २५ मा हिलारिया भन्ने पर्व मानिन्थ्यो । ती दिनमा लागु जुलियन पात्रोअनुसार वर्षको पहिलो पटक मार्च २५ मा रातभन्दा दिन लामो हुन्थ्यो । त्यो दिन रोमन साम्राज्यभरी नागरिकहरु राजा-भारदारहरुलाई व्यङ्ग्य गर्ने खालका रङ्ग न ढङ्गका कपडा लगाएर हिँड्थे । त्यो दिन नेपालमा गाईजात्राको दिनजस्तै अत्यन्त शक्तिशाली रोमन अधिकारीहरुलाई पनि व्यङ्ग्य गर्न छुट हुन्थ्यो ।
यही पर्वपछि एप्रिल फुल दिनको रूपमा मान्न थालिएको उनीहरुको भनाइ छ । नेपालमा पनि आजको दिन सकेसम्म साथीहरुलाई आकश्मिकरुपमा नभएको नयाँ कुरा भनेर उडाउने चलन आएको छ । तर जात्रा र मनोरञ्जनको रुपमा मनाइने यस्ता पर्वहरुले समाजमा विखण्डन मच्चाउनेगरी होइन खालि मनोरञ्जनको रुपमा मात्र सिमित रहनेगरी मनाउनु पर्दछ ।