• असार ४ २०८२, बुधबार

संविधानले सुम्पिएको जिम्मेवारी पूरा गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न तयार छौं : प्रधानसेनापति थापा

चैत्र १८ २०७७, बुधबार

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सेना जनताको आस्था र भरोसाको केन्द्र र एकताको प्रतिक रहेको जनाउँदै संविधानले सुम्पिएको विशिष्ट जिम्मेवारी पूरा गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न  तयार रहेको बताएका छन् ।

मध्यपूर्वी पृतना मातहतका जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिकका प्रतिनिधिलाई आज बर्दिवासमा सम्बोधन गर्दै उनलेे यस्तो बताएका हुन् ।

प्रधानसेनापति थापाले मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय एकता कायम गर्नु सेनाको परम कर्तव्य भएको स्पष्ट पार्दै भने -“हामी आफ्नो कर्तव्यपथमा अडिग रही संविधानले सुम्पिएको विशिष्ट जिम्मेवारी पूरा गर्न जस्तोसुकै परिस्थितिको सामना गर्न सदैव तयार छौं  र भविष्यका लागि पनि तयार रहने छौं ।”

भूपूसैनिकको आर्थिक उन्नति, प्रगति र बाँकी जीवनको समुच्च व्यवस्थापन भनेकै सिङ्गो सेनाको आधारस्तम्भ बलियो हुने जनाउँदै सेनाले अवकाश पछिको जीवनमा थप ऊर्जा र शक्ति प्रदान गर्न, सुखदुःख बाँड्न, अनुभव आदानप्रदान गर्न, सामूहिक भावना विकास गरी कल्याणकारी विविध कार्यक्रमबारे जानकारी गराउँदै समयानुकूल तुल्याउन रायसुझाव सङ्कलन गर्ने उद्देश्यले सम्मेलन गर्दै आएको छ । सम्मेलनमार्फत सेनाले साझा सरोकारका विषयमा जानकारी लिँदै राष्ट्र र सेनाका लागि भूपूसैनिकले गरेको समर्पणको यथोचित सम्मान गर्दै आएको छ ।

सम्मेलनमा यस क्षेत्रका ज्येष्ठ भूपूसैनिक ९१ वर्षीय रुद्रबहादुर बस्नेत तथा ज्येष्ठ एकल महिला ९८ वर्षीया सुमीत्रा थापालाई सम्मान गरिएको थियो । सम्मेलनमा सहभागी भूपूसैनिक एवं एकल महिलालाई मण्डी, टोपी, सल, प्राथमिक उपचार बक्स, कल्याणकारी हाते पुस्तिका र आम सञ्चारमाध्यम प्रयोगसम्बन्धी मार्गदर्शन प्रदान गरियो ।