• आश्विन ५ २०८१, शनिबार

साहित्यमा पनि सफल विश्वेश्वरप्रसाद कोइराला

चैत्र १८ २०७७, बुधबार

विश्वेश्वर कोइराला नेपाली राजनतीतिकमा चर्चित नाम हो । राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्न वा राजाहरुको सामन्ती शासनका विद्ध निरन्तर लड्ने योद्धाका रुपमा वीपीलाई चिनिन्छ । उनी राजनीतिमा मात्र होइन नेपाली साहित्यमा पनि त्यत्तिकै चर्चिछन् । तीन घुम्ती उपन्यासमा वीपीले नारीका तीन रुप प्रेमिकन, पत्नी र आमाको चित्रण गरेका छन् । एउटी नारीको तीनवटा छुट्टाछट्टै निर्णय बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसँग यौनतृप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीकृत भएपछि छोरी लिएर एक्लै बस्ने निर्णय मा आधारित उपन्यास हो । यी तिनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथा हो तीन घुम्ती ।

त्यस्तै वीपीको ‘सुम्निमा’ उपन्यास पनि दुई भिन्न संस्कृतिको समन्वय र सम्मिस्रण गाथा हो । आर्य संस्कृतिमा आवद्ध सोमदत्त र पुलोमा पुत्रप्राप्तिका निम्ति शाश्त्रसम्मत अनुष्ठान अनुसार यौनसम्पर्क राख्छन् तर प्रेमबिनाको जर्बजस्ती यौनमिलनले मात्र गर्भ नरहने बरु मानसकुण्ठा र विकृतिको विकास हुने तथ्य सुम्निमामा प्रस्ट पारिएको छ । पूजापाठ एवं आध्यात्मिक आचरणको परिपालन गर्ने आडम्बरद्वारा भौतिकतालाई विर्सन खोजियो भने सुख शान्ति मिल्दैन ।

स्वच्छन्द विचरण गर्ने किराँत पुत्री सुम्निमा सँधै खुशी देखिन्छे, आनन्दमा रमाउँछे । प्रेमले मानिसलाई शारिरीक रुपले टाढा भए तापनि मानसिक रुपले नजिकअनुभुत गराउँछ भन्ने यो उपन्यासको सार रहेको छ । सुम्निमा किराँत धर्मावलम्बीद्वारा विवादमा ल्याइएको उपन्यास हो । सुम्निमा तथा पारोहाङ्ग किराँत धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँतहरुको आरोप छ ।

नरेन्द्रदाई पनि वीपीको एक मनोवैज्ञानिक उपन्यास हो । एउटा पुरुषका पत्नि र प्रेमिका दुई छुट्टाछुट्टै सम्बन्धका दुई स्त्रीहरु बीचको कथा हो । नरेन्द्र दाईमा नायक नरेन्द्रलाई पत्नी गौरी र प्रेमिका मुनरियाले समान अधिकारसाथ सेवा गरेको र दुवैको आआफ्ना ठाउँमा स्वतन्त्र अस्तित्व स्विकारिएको छ । पतिको प्रेम नपाए पनि पतिसेवामा अटल रहने आदर्श पत्नी र सामाजिक सम्बन्धमा नअटाएर पनि प्रेम र सद्भावले प्रेममा लीन रहने प्रेमिका (दुई भिन्न चरित्रका नारीको जीवन्त गाथा छ । त्यस्तै उनको मोदिआइन उपन्यास सानो आकारको तर महत्वपूर्ण उपन्यास हो ।

हजारौं वर्षअघिको महाभारतीय युद्धकथा यसको विषयवस्तु हो । त्यस युद्धमा लाखौं विधवा नारीको प्रेतात्मा प्रतिनिधि नारीका रूपमा मोदिआइन प्रस्तुत उपन्यासकी प्रमुख पात्रलाई विचित्रता साथ संयोजन गरिएको छ । युद्धको परित्याग र शान्ति स्थापना यसको सन्देश हो । अर्जुनलाई प्रेरित गरेर त्यत्रो युद्ध गराए कृष्णले तर आखिर सबैले छोडेर जानुपर्यो । त्यत्रो नरसंहारक युद्धको उपलब्धी के त ? वीपीको चिन्तन विश्लेषण यस उपन्यासमा प्रस्ट छ – युद्धत्याग अनि शान्ति स्थापना ।

हिटलर र यहुदीमा जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ । कृष्ण र हिटलरलाई तुलनीय छटा देखाएर पूर्वीय मान्यतामै द्वन्द सृजना गरिएको छ र यो उपन्यासको नाम अनुसार ऐतिहासिक पृष्ठभूमिको झलकले भरिएको पनि छ । हिटलरले गरेको नरसंहार र युद्धको भयंकरता देखाएर यसमा पनि शान्ति मूल आधार हो भन्ने कुरा प्रस्ट पारिएको छ ।

बाबु, आमा र छोराः यो प्रकाशनका दृष्टिले पनि अन्तिम उपन्यास हो । यसमा नाम अनुसार नै तीन पात्रहरूको सम्बन्धको चित्रण गरिएको छ । बडो विचित्र र नेपाली समाजमा नपच्ने खालको कथाश्रृङ्खला छ यसमा- आफ्नै छोराकी गर्भवती प्रेमिकासँग बाबुको दोश्रो विहे भई बाबुकी पत्नीको स्थान लिनु । यस उपन्यासमा यी तीनवटै पात्रहरूको मानसद्वन्द र यौन मनोविश्लेषणको चित्रण गरिएको छ । प्रेमको त्रिकोणात्मकतासँगै यौन समस्याको अप्रेसन गर्ने कार्य भएको छ यस उपन्यासमा । तर यस प्रकारको प्रस्तुति नेपाली समाजको त कुरै भएन, युरोपेली समाजमा पनि पाच्य हुन गाह्रो छ ।