कुकुर भन्ने बित्तिकै तपाईंको दिमागमा काठमाडौँका गल्ली गल्लीहरुमा भुक्दै लखरलखर हिंड्ने अनि फोहर उठाउन आउने मानिसहरुलाई भुकेर झम्टिन खोज्ने तिनै भुस्याहा कुकुरहरुको याद आयो होला । कसैकसैलाई त आफ्नै घरमा पालिएको प्यारो कुकुरको सम्झना पनि आइसक्यो होला । जे होस् संसारको जुनकुनै स्थानमा रहे पनि ‘कुकुर’ शब्द सुन्ने वा देख्ने बित्तिकै हाम्रो मनमा सम्झना आइहाल्छ कि कुकुर भनेको त्यही हो भनेर । किनकी जनावरहरुमध्य मानव जीवनको सबैभन्दा नजिकको साथी नै कुकुर रहेको कुरामा कसैको दुईमत छैन । यो पाल्तु जनावर हो । कुकुर पाल्नु कसैको रहर हुन्छ भने कसैको बाध्यता । कुकुरलाई मानिसले १२ हजार वर्ष पहिलेदेखि पाल्दै आएको अनुमान यसका विज्ञहरुले गरेका छन् ।
कुकुर र मानिस सँगै बस्दै आउनुको मुख्य कारण उनीहरुले पाउने खाना र तातोपना हो भनेर अनुसन्धानकर्ताहरु बताउने गर्छन् । परापूर्व कालमा गाईवस्तु चराउन, हेरचाह गर्न कुकुरको प्रयोग गरिंदै जाँदा पछि यसलाई शिकार गर्न सहयोगीको रुपमा पाल्न थालियो भने आधुनिक समयमा कुकुर अपराध अनुसन्धान गर्न मात्रै होइन वैज्ञानिक सफलता प्राप्त गर्न समेत मानव जीवनको सहयोगी बन्दै आएको छ । कुकुर भन्ने बित्तिकै कान खानेगरी भुक्ने जनावर भनेर हामी सम्झन्छौं तर नभुक्ने कुकर पनि हुन्छन् भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्नसक्छ । आजसम्मको अध्ययन अनुसार अष्ट्रेलियामा एउटा कुकुर २९ वर्ष ५ महिना बाँचेको रेकर्ड छ, जुन सबैभन्दा बढी बाँचेको कुकुर हो । जन्मदा दाँत नहुने, कान नसुन्ने साथै आँखा नदेख्ने यो एक अजिवको जीव रहेको छ । केवल काठमाडौँका गल्लीमा मासु पसल वरिपरी झुम्ने मात्रै नभएर कुकुरले चन्द्रमा समेतको यात्रा तय गरिसकेको छ वा कुकर चन्द्रमामा पनि पुगेको छ । अब आउनुस् कुकुरबारे केही तथ्य जानकारी हासिल गरौँ ।
कुकुर के हो ?
कुकुर एक घरपालुवा मांसहारी र स्तनधारी जनावर हो । ४ वटा खुट्टा भएको कुकुरका चारैखुट्टाको पञ्जाहरुमा मिलाएर १८ देखि २२ वटासम्म नङ्ग्राहरू हुन्छन् । कुकुरको शरीर पुरै रौंले ढाकिएको हुन्छ । कुकुरको पुच्छर घुम्रिएको हुन्छ । यो बाहेक कुकुरहरूको प्रजाती अनुसार शारिरीक बनावट र रंग फरकफरक हुन्छ । कुकुरहरू धेरै प्रजातीका हुन्छन् । जस्तै जेर्मन सेपर, बुल डोग, जापानिज स्पिज, साइबेरियन हक्सी, भोटे कुकुर आदि । कुकुर (canis lupas familiaris, canis lupas) ग्रे ब्वाँसो, स्तनधारी क्रममा (carni vora) परिवारको सदस्य हो । कुकुर पशु भएता पनि कयौं परिवारमा यसको गणना परिवारको सदस्यको रूपमा गरिन्छ । यसलाई घरको वफादार रक्षक भनिन्छ । यसको अलग्गै विशेषता छ । यो जसरी सुतेको भए पनि यसले कुनै वस्तुको आवाज थाहा पाइहाल्छ ।
कुकुरका विशेषता
कुकुरको स्मरण शक्ति निकै तिक्ष्ण हुन्छ । यसले एकचोटी देखेको मान्छेलाई या कुनै पनि प्राणीलाई कहिल्यै पनि भुल्दैन । यसमा यसले सुँघ्ने प्रक्रिया अपनाएको थाहा हुन आएको छ । यसले कुनै पनि चिजलाई सुँघेर थाहा पाउँछ । कुकुरको यही क्षमतालाई ध्यानमा राखेर आजभोलि कुकुरलाई तालीम दिएर ‘स्पेसल डग सिक्यूरेटी’ बनाइन्छ । जसमा कुकुरले आशंंकित व्यक्ति, आशंकित वस्तु आदिको खोजी गर्छ । कुनै घटना घटेको ठाउँमा पहिले कुकुरलाई लगेर छोडिन्छ । कुकुरले सुँघेर अभियुक्तसम्म पुग्न सहयोग गर्छ । कुकुर जति उपयोगी देखिन्छ त्यति नै मानव जीवनको लागि खतरा समेत रहेको छ । कम वस्ती भएको गाँउघरमा जहाँ कुकुर पालिएको छ त्यहाँ बाघको समेत डर हुनेगर्छ । यदी कुकुरलाई रेबिज रोग लागेको छ भने त्यो कुकुरले मानिसलाई टोक्यो भने मानिसलाई रेबिज लाग्छ ।
कुकुरबारे केही रोचक जानकारी
१. संसारमा २०० भन्दा बढी जातका कुकुरहरु पाइने गर्छन ।
२. हाल विश्वमा ४० करोड कुकुरको संख्या रहेको अनुमान गरिन्छ भने काठमाडौँ उपत्यकामा मात्रै २२ हजार कुकुरहरु रहेका छन् । त्यस्तै विराटनगरमा १० हजार र पोखरामा ८ हजार कुकुरहरु रहेको एक अध्ययनले बताएको छ ।
३. कुकुरले एकचोटीमा २ देखि ८ बच्चा पाउँछ ।
४. एउटा कुकुर्नी नौ हप्ताको गर्भिणी भएपछि बच्चा (छाउरा छाउरी) जन्माउँदछे । भर्खर जन्मिएका छाउरा छाउरी अन्धा र बहिरा हुन्छन् । १० देखि १२ दिनपछि यिनीहरूले आँखा खोल्छन् भने १३ देखि १७ दिनपछि मात्र यिनीहरूले सुन्न थाल्दछन् । जन्मिएको ३ देखि ५ हप्ता पछि मात्र यिनीहरुको दाँत आउन थाल्दछ ।
५. भाले कुकुरले पिसाब फेर्दा खुट्टा उठाएर रुख वा पोलमा गर्दछ किनभने उसले जति माथि पिसाब गर्यो त्यसले ऊ, अरु भाले भन्दा अग्लो र निडर हो भन्ने सूचना अरु कुकुरलाई दिने गर्दछ ।
६.अमेरिका संसारमा धेरै कुकुर भएको देश हो भने दोस्रो बढी कुकुर भएको देश फ्रान्स हो ।
७. एक कौडीमा नजाने भुस्याहा कुकुर यही काठमाडौँमा हुन्छन् भने नेपालको भोटे जातको ‘बिग स्पलास’ नाम गरेको कुकुरलाई एक चिनियाँ व्यापारीले केहि समय पहिले १ करोड ५० लाख रुपैयाँमा किनेका थिए । जुन मूल्यलाई अहिलेसम्मकै सबैभन्दा महँगो कुकुरको मूल्यको रुपमा लिइएको छ ।
८. कुकुरले राति पनि सजिलै देख्न सक्छ किनकि यसको आँखामा ‘टेफेटम लुसिडम’ नामको एक पदार्थ रहेको हुन्छ भने कुकुरको सुँघ्ने क्षमता मानिसको भन्दा दश हजार गुणा बढी रहेको हुन्छ ।
९. रसियाको ‘लाइका’ नाम गरेको कुकुर पहिलोपटक १९५७ मा चन्द्रमामा पुगेर त्यहाँ जीवन रहन सक्छ भन्ने प्रमाणित गरिदिएको थियो ।
१०. घ्यू र चकलेट खुवाउँदा कुकुरको ज्यान समेत जान सक्छ भने कुकुरको छालामा पसिना कहिल्यै आउँदैन । पंजाबाट कुकुरले पसिना निकाल्छ भने जिब्रो बाहिर निकालेर यसले शरीरको तापक्रम नियन्त्रण गर्छ ।
११. कुकुरको कानमा विभिन्न १८ प्रकारका मांसपेसीहरु रहेका हुन्छन् । जसको सहयोगले कुकुरले आफ्नो कानको आकार बदल्न सक्छन् ।
१२. सबैभन्दा सानो जातको कुकुर ‘चिहुवाहुवा’ र सबैभन्दा अग्लो जातको कुकुर ‘ग्रेटडेन’ हो भने चिनमा कुकुरको मासु, मासु खानेहरुको रोजाईमा पर्छ ।