काठमाडौँ । विश्व बैंकले चालु आर्थिक वर्ष २०७७-७८ मा नेपालको आर्थिक वृद्धिदर २ दशलमव ७ प्रतिशत रहने प्रक्षेपण गरेको छ । महामारीका कारण सन् २०२० मा आर्थिक वृद्धिदर ऐतिहासिक कमजोर भएको थियो । सन २०२० को अर्थतन्त्रको तस्बिर त्यति राम्रो नभएको अवस्थामा अनौपचारिक क्षेत्रमा दशौं लाख कामदारले रोजगारी गुमाएका थिए भने तिनीहरू अझै रोजगारीमा फर्किनका लागि संघर्षरत रहेको पनि प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी कोभिड–१९ को महामारीपछि दक्षिण एसियाको अर्थतन्त्र पुनरुत्थान हुँदै गरेको तर त्यसको जग कमजोर रहेको उल्लेख गरेको छ । दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२१ मा ७ दशलमव २ प्रतिशत र सन २०२२ मा ४ दशलमव ४ प्रतिशत रहने प्रक्षेपण बैंकको छ ।
आय असमानता अझै बढेको र मानव पुँजीमा पनि क्षति पुगेको विश्व बैंकले प्रकाशन गरेको साउथ एसिया फोकसमा उल्लेख छ । दक्षिण एसियामा विद्युत् खपत वृद्धिले आर्थिक वृद्धिदर पुनरुत्थान हुँदै गरेको संकेत गरेको छ । भारतले दक्षिण एसियाली अर्थतन्त्रको ठूलो हिस्सा ओगट्छ भने दक्षिण एसियाको आर्थिक वृद्धिदर सन् २०२१-२२ मा १० प्रतिशतले बढ्ने अनुमान छ ।