काठमाडौँ। वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता गरिएको छ । मंगलबार नेकपा एमालेको झलनाथ खनाल र माधव नेपाल पक्षका प्रदेश सांसदहरुले पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएका हुन् ।
एमाले स्थायी कमिटी सदस्य एवम् वागमती प्रदेशसभा सांसद अष्टलक्ष्मी शाक्यले मंगलबार अविश्वासको प्रस्ताव फिर्ता लिएको बताइन् ।
यसअघि नेकपा एमालेले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेकाहरुविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो ।
गत पुस १० गते नेकपा माओवादी केन्द्र र खनाल-नेपाल पक्षले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । उक्त प्रस्ताव गत माघ ९ गते प्रदेशसभामा पेश गरिएको थियो ।
यसैगरी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्ताव पनि फिर्ता भएको छ ।