महोत्तरी। मंगलबारदेखि हराइरहेका ७ किशोरी तथा बालिका भारतमा फेला परेका छन् । महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलबाट मंगलबार बेपत्ता भएका सातजना बालिका तथा किशोरी भारतमा फेला परेका हुन् ।
भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई नेपाली सीमाभन्दा ५ किलोमिटर टाढा रहेको बिहार राज्यको सीतामढी जिल्लाको सुरशन गाउँमा भेटिएको प्रहरीले जनाएको छ । उनीहरुलाई भारतीय सुरक्षा निकायसँग समन्वय गरेर नेपाल फर्काउने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन् । उनीहरु मंगलबार दिउँसो १ बजे घाँस काट्न गएका थिए । साँझ अबेरसम्म घरमा नआएपछि खोजतलास सुरु भएको थियो ।