• मंसिर ८ २०८१, शनिबार

फेसबुकको कारबाहीमा परेका ट्रम्पले खोले आफ्नै वेबसाइट

चैत्र १७ २०७७, मंगलवार

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक विश्वव्यापी सञ्जाल प्रविधियुक्त हो । यो विज्ञानको आविष्कार हो । विज्ञान र प्रविधिको प्रयोग गरेर बनाइएका यस्ता सञ्जालहरु धेरै नै छन् तर हाल फेसबुक नै संसारमा सबैभन्दा प्रभावकारी मानिएको छ । व्यक्तिगत र सामुहिकरुपमा आफ्ना सूचना तथा विविध जानकारीहरु प्रशारण तथा प्रकाशन गर्न र जम्मा गर्न यसको माध्यमबाट निकै नै सजिलो भएको छ ।

तर सामग्री कस्तो राख्ने र त्यसको असर कस्तो होला भनेर पछिल्लोचरणमा फेसबुकले निकै कडाई गर्न थालेको छ । सोही कारण फेसबुकले हत्या, हिंसा र बलात्कार जस्ता समाचारहरुमा राखिने तस्विरहरुमा कडाई गर्ने गरेको छ । कोरोना महामारीका बेला आउने समाचार तथा विश्वमा फैलन सक्ने हिंसा सम्बन्धि घटनाहरुलाई पनि फेसबुकले नियन्त्रण गरिरहेको छ भने बलात्कार जस्ता सामाजिक विषयलाई पनि उसले नियन्त्रण गरिरहेको छ । कोरोना महामारीको समयमा नचाँहिदो भ्रम फैलाएको र हिंसात्मक अभिव्यक्ति दिएको आरोपमा फेसबुकले अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको फेसबुक एकाउण्ट बन्द गरिदिएको थियो ।

फेसबुकको मुख्यालय अमेरिकामै रहेको र फेसबुकका आविष्कारक मार्क जुकर वर्ग पनि अमेरिकाकै भएर पनि राष्ट्रपति ट्रम्पलाई समेत गलत सूचना फैलाउनबाट फेसबुकले रोकेको थियो । यसैबीच पछिल्लो पटक अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आधिकारिक वेबसाइट सुरु गरेका छन् । यो प्लेट फर्म उनका समर्थकहरुसँग सम्पर्कमा रहनका लागि र कार्यालयमा आफूले कसरी समय बिताएको भन्ने प्रस्तुत गर्नका लागि रहेको बताइएको छ । यो वेबसाइट(www.45office.com) को होमपेजमा ट्रम्पका विभिन्न तस्बिरहरु देख्न सकिन्छ, जसमा उनकी पत्नी मेलानिया, सेनाका सदस्य, राष्ट्रपति हुँदा विश्वका नेताहरुसँग विभिन्न समारोहमा लिइएका फोटोहरु पनि छन् ।

वेबसाइटमा ‘ट्रम्प अफिस’ उनको महान् ट्रम्प विरासतको संरक्षण गर्न र सँगसँगै ‘अमेरिका फस्र्ट’को एजेन्डालाई अगाडि बढाइराख्नका लागि प्रतिबद्ध रहेको भन्ने सन्देश लेखिएको छ । यसको ‘अबाउट’ भन्ने अंशमा ८५० शब्दमा ट्रम्पको कार्यकाल अवधिका उपलब्धिबारे व्याख्या गरिएको छ, जसलाई ट्रम्पले प्रायः उल्लेख गर्ने गरेका थिए । सीमा सुरक्षा, अन्तर्राष्ट्रिय गठबन्धन, नाटो र कोरोना महामारीमा उनको प्रतिक्रिया जस्ता विषयबारे यसमा विस्तृतमा लेखिएको छ । तर, अर्कोतर्फ उनका काण्ड, भ्रष्टाचारबारे अनुसन्धान, दुईपटकको महाअभियोग, लोकतन्त्रमाथिको हमला लगायत चर्चामा रहेका विवादास्पद घटनाबारे कुनै उल्लेख छैन ।

सन् २०२० को निर्वाचनमा हार व्यहोरे तापनि रिपब्लिकन पार्टीमा ट्रम्पको लोकप्रियता अत्यधिक रहेको छ र पार्टीमा उनको प्रभावलाई अझै धेरै महत्वपूर्ण मानिन्छ । यही कारण उनले २०२४ मा फेरि चुनाव लड्ने संकेत पनि दिइसकेका छन् । अघिल्लो महिना फक्स न्युजसँगको अन्तर्वार्तामा उनका चुनावी प्रवक्ता जेसन मिलरले ट्रम्ले अबको दुई–तीन महिनाभित्र आफ्नै सोसल मिडिया प्लेटफर्म खोल्ने बताएका थिए । जनवरी ६ मा भएको अमेरिकी संसदमाथि हमलापश्चात ट्रम्पलाई ट्विटर, फेसबुक र अन्य चर्चित सामाजिक सञ्जालबाट हटाइएको थियो ।