• मंसिर ११ २०८१, मंगलवार

मान्छे मार्ने म्यानमार : साँढेको जुधाई बाच्छाको मिचाई त होइन ?

चैत्र १७ २०७७, मंगलवार

म्यानमारमा भएको सैनिक दमनको संसार भर विरोध भइरहेको छ । प्रजातन्त्रको अभ्यास भइरहेको आजको विश्वमा हतियारको बलमा शासन गर्ने सपना देख्नुलाई मुर्खता मानिन्छ । विश्व राजनीतिको पेरिफेरिमा रहेर व्याख्या गर्दा एउटा वर्गले अर्को वर्गमाथी शासन गर्ने माध्यम भनेको हतियार नै हो तर हतियारलाई विचारले निर्देशन गर्नुपर्छ ताकि त्यो गलत ठाउँमा प्रयोग नहवस् । आज संसारका पूँजीपतिहरुले पैसा र हतियारको बलमा शासन गरिरहेका छन् । हतियारको उत्पादन र बेचबिखन गरेर पैसा कमाएका छन् र संसारलाई आतंकमा राखेका छन् ।

यसरी संसारलाई हतियारको नोकभित्र राख्नुलाई उनीहरु प्रजातन्त्र भन्दछन् । जनताले खान, लाउन र मानव भएर बाँच्न नसक्ने अवस्थामा रहेको मुर्दा शान्तिलाई उनीहरु पूर्णशान्तिको अवस्था भनेर परिभाषा दिन्छन् । मानिसहरु भोकले छट्पटिउन् र नाङ्गै होउन् तर उनीहरु यसैलाई लोकतन्त्रको उच्च अभ्यास ठान्छन् । र यस्ताखाले अवस्थाको विरुद्ध आन्दोलन भएमा उनीहरु त्यसलाई हतियार र सैन्य बलको प्रयोग गरेर दबाउँछन् । र भोकाहरुले गरेका विद्रोहहरुलाई पूँजीपतिहरु आतंक देख्छन् । हो आज बर्मामा यही भएको छ । त्यहाँका मानिसहरु सैनिक शासन गर्नु हुँदैन । जनप्रतिनिधिले शासन गर्नुपर्छ भनेर जसरी आवाज उठाइरहेका छन्, हो त्यही आवाजलाई त्यहाँको सैनिक शासनले दबाइरहेको छ ।

myanmar army

दबाउन पनि यसरी दबाइरहेको छ कि जनतालाई सेनाले सिकारीले चरा खसालेझैं ठाउँका ठाउँ गालीले उडाइरहेको छ । यस अवस्थालाई नै बन्दुकले शासन गरेको अवस्था भनिन्छ । म्यानमारमा भएको सैनिक दमनको विश्वभरबाट जुन स्तरमा विरोध हुनुपर्ने हो त्यो स्तरमा भने भएको देखिँदैन । तर स्वतन्त्रताप्रेमी जनता तथा संघसंस्थाले भने सैनिक दमनको तिब्र विरोध गरिरहेका छन् । यसैबीच विश्वभर कृयाशिल लेखक तथा पत्रकारहरुको संगठन अन्तराष्ट्रिय लेखक तथा पत्रकार संगठनले म्यानमारमा भएको सैनिक दमनको विरोध जनाएको छ । सो संगठनले म्यानमारको घटनाप्रति आफ्नो संगठनको गम्भीर ध्यान आकर्षित भएको जनाएको छ ।

त्यहाँको जननिर्वाचित सरकार र संसदलाई समेत भंग गरेर त्यहाँको सैन्य सरकारले व्यापक फासीवादी दमनको नीति अपनाएको सो संगठनको बुझाई रहेको छ । संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज जारी विज्ञप्ति जारी गरी सो घटनाप्रति विरोध जनाएका हुन् । ‘आजसम्म म्यानमारमा ४०० भन्दा बढी मानिसहरुको नरसंहार गरिएको छ, जसमा दुई दर्जनभन्दा बढी बालबालिकाहरु रहेको बताइएको छ । हजारौंलाई गिरफ्तार गरेर जेल हाल्नुका साथै हजारौंलाई घाइते तुल्याइएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा केसीले ‘व्यापक सैनिक दमनका बावजुद सिमित लोकतन्त्रको रक्षा तथा त्यहाँको सैनिक दमनका विरुद्ध त्यहाँका जनताले सशक्त रुपले आन्दोलन सञ्चालन गर्नु स्वागतयोग्य विषय बनेको छ । हाम्रो संगठनले म्यानमारमा सैनिक फासीवादी दमनको कडा शब्दमा घोर विरोध र भ्रत्सना गर्दै म्यानमारका जनताको ऐतिहासिक आन्दोलनसित ऐक्यबद्धता प्रकट गर्दछ ।’ भनेका छन् ।

केसीले म्यानमारको फाशिष्ट तथा तानाशाही सैनिक शासकहरुलाई त्यहाँको जननिर्वाचित सरकार र संसदको पुनर्वहाली गर्न तथा लोकतन्त्रको र मानवाधिकारको सम्मान गर्न आह्वान गरेका छन् । केसीले त्यहाँको सैनिक शासकहरुलाई नरसंहार तुरुन्त बन्द गर्न कडा शब्दमा आह्वान पनि गरेका छन् । आज संसार राजनीति र अर्थनीतिका कारण २ ध्रुवमा बाँडिएको छ । संसारमा रहेको प्राकृतिक स्रोत र मानवीय श्रमलाई सस्तोमा लिएर वा शोषण गरेर माल उत्पादन गरी संसारको बजार कब्जा गर्ने र नाफा कमाउने पूँजीपतिहरुको अर्थ राजनीतिक र सिंगो पृथ्वी र मानव श्रमलाई शोषण गरेर लुटको स्वर्ग मच्चाइरहेका पुँजीपतिहरुका विरुद्ध बराबरीको व्यवस्था स्थापना गर्ने र पुथ्वीलाई मानिसले लुट्नबाट रोक्ने व्यवस्थाका लागि अर्कोथरी राजनीतिक विचार कृयाशिल छ ।

myanmar army cheif

त्यसलाई समाजवादी विचारधारा भनिन्छ । हाल यी २ विचारधाराका बीचमा संसारभर नै संघर्ष चलिरहेको छ । हो यसै सिलसिलामा बर्मामा भएको सैनिक शासनको सन्दर्भ जोडिन आएको छ । भनिन्छ, बर्मामा २ खाले सत्ता छन् । एकः सैनिक सत्ता, दूईः जननिर्वाचित प्रतिनिधिको सत्ता ।

विश्लेषकहरु बर्माको हालको अवस्थामा २ वटा कारण देखिरहेका छन् । उनीहरु भन्छन्, ‘प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी बेलायत वा अमेरिकी पक्षधर हुन्, उनी बेलायती संसदीय मोडेलको प्रजातन्त्र चाहन्छिन् तर विश्व राजनीतिमा उदाएको चीनले पनि बर्माको राजनीतिमा चासो राख्ने भएका कारण त्यहाँ झडपको अवस्था आउने गर्दछ ।’ अर्काथरी विश्लेषकहरु पनि यस्तै तर विश्व राजनीतिलाई भौगोलिक कारणको रुपमा बुझ्दछन् । उनीहरुको भनाई के रहेको छ भने,‘पश्चिमा राष्ट्रहरु खासगरी अमेरिकाले सिंगो एसिया र दक्षिण एसियाको अर्थ राजनीतिमा आफ्नो पकड जमाउन र चीनलाई पाखा लगाउनका लागि यहाँका देशहरुमा आफूले भनेको मान्ने दल र नेतालाई सरकारमा लैजाने जुन कोशिस गर्छ त्यसको प्रतिवाद चीनले गर्ने भएकोले दक्षिण एसियाका मुलुकहरुमा द्धन्द्ध भइरहन्छ ।’

म्यानमारका आन्दोलनकारी जनता

यी र यस्ता विश्लेषणहरुलाई आधार मान्ने हो भने हालको बर्मामा भएको नरसंहारमा पनि अमेरिका र चीनको विवाद त यसको कारण होइन ? भनेर प्रश्न गर्न सकिने अवस्था रहेको छ । यसरी दक्षिण एसियामा भएका यस्ता विश्व राजनीतिसँग जोडिएका घटनाहरुमा पक्कैपनि चीन र अमेरिका लगायतका महाशक्ति राष्ट्रहरुको कुनै न कुनैरुपमा संलग्नता रहेको छ भनेर मान्नुपर्ने हुन्छ । के कुरा निश्चित हो भने विश्व राजनीतिमा एकछत्र रुपमा दबदबा मच्चाइरहेको अमेरिकालाई राजनीति र अर्थतन्त्रमा पछार्दै संसारको १ नम्बर शक्तिसम्पन्न देश बन्ने होडमा रहेको चीनले अब अमेरिकालाई सजिलै संसार भर व्यापार गर्न दिनेछैन ।

जसरी अमेरिकाले एमसीसी र यस्तै परियोजनाहरु मार्फत् संसार भर आफ्नो लगानी बढाइरहेको छ, ठीक त्यसरी नै चीनले पनि बीआरआई जस्तो अति महत्वाकांक्षी परियोजना अगाडी बढाएको छ । यी दुवै देशहरुको संसार जित्ने होडका कारण साना र पछिडिएका मुलुकहरु मारमा पर्नु पर्ने अवस्था कहिलेसम्म ? साँच्चीकै बर्मामा भएको सैनिक दमनमा पनि चीन र अमेरिकी रणनीतिहरु जुधेका हुन् भने संसारले यो घटनाबाट पाठ सिक्नु पर्नेहुन्छ ।