• मंसिर १३ २०८१, बिहीबार

अदालतले फैसला सच्याउँछ भन्ने विश्वास छ : प्रचण्ड

चैत्र १७ २०७७, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले र माओवादी केन्द्र अलग हुने गरी भएको फैसला सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् । मंगलबार उनले सर्वोच्च अदालतमा आफै उपस्थित भएर अदालतको गत फागुन २३ गतेको फैसलामाथि पुनरावलोकन माग गर्दै निवेदन दिएका छन् । सो क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘एकतावद्ध भइसकेका दललाई विभाजित गर्ने राजनीतिक काम अदालतले गर्‍यो, त्यो सच्याउनेछ।’

गत फागनु २३ गते नेकपाको नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता अस्वीकार गर्दै दुबै पार्टी अलग अलग हुने फैसला सुनाएको थियो ।

अदालतको उक्त फैसला अस्वाभाविक, अप्राकृतिक र राजनीतिक प्रकृतिको भएको प्रचण्डले टिप्पणी गरे । ‘मलाई र हामीलाई के विश्वास छ भने सर्वोच्च अदालतले विगतमा पनि गरेका फैसलामा टिप्पणी भयो र पुनरावलोनको प्रश्न उठ्यो भने पुनरावलोकन गर्ने गरेको छ’ उनले भने ।

अहिले पनि उक्त फैसला पुनरावलोकन हुने विश्वास आफूहरुको रहेको प्रचण्डले बताए ।