काठमाडौं । पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वका लागि रस्साकस्सी सुरु भएको छ । नयाँ नेतृत्वका लागि अध्यक्षत्रय कमल थापा, डा प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणासहित युवा नेतृत्वले समेत आकांक्षा देखाएका छन् । पटकपटक टुटफुट र विभाजनको मार खेपेको राप्रपा एकता महाधिवेशनको तयारीमा जुट्दै गर्दा नेतृत्वका लागि रस्साकस्सी सुरु भएको हो ।
राप्रपाले आगामी वैशाख २५ देखि २८ गतेसम्म काठमाडौंमा एकताको महाधिवेशन तय गरेको छ । यसका लागि पार्टीले आन्तरिक तयारीलाई तीव्र पारेको छ । यही पृष्ठभूमिमा पुरानो नेतृत्व कि नयाँलाई ल्याउने भन्नेमा पनि पार्टीभित्र बहस सुरु भएको छ । राप्रपाका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले आफूहरु पार्टीको एकता महाधिवेशनको तयारीमा तीव्रताका साथ जुटिरहेको जानकारी दिए ।
‘पार्टी एकताको भावना र मूल स्पिरिटअनुसार हामी जुटिरहेका छौं’, उनले भने, ‘पार्टीलाई चलायमान बनाउने नेतृत्वको जरुरी छ, त्यसो भन्दैमा एकतालाई बचाइराख्नु पनि अहिलेको आवश्यकता भएकाले सोहीअनुसार हामी लागिपरेका छौं ।’ राप्रपा स्रोतका अनुसार आगामी एकता महाधिवेशनबाट युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा जोडतोडले आवाज उठिरहेको छ ।
पुरानो ढंगले पार्टी सञ्चालन हुँदा युवापुस्ताको आकर्षणमा कमी आउनुका साथै जनाधार घट्दै गएकाले पार्टीलाई पुनर्जीवन दिन युवा अघि गर्नुपर्नेमा उनीहरुको जोड छ । त्यसका लागि प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनसहित नेपालगञ्ज महानगरपालिकाका मेयर धवल शमशेर राणा, नेताहरु विक्रम पाण्डेलगायतका नेताहरु नेतृत्वका लागि तयार रहेको बताइएको छ ।