काठमाडौं । फेसबुकले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको फेसबुक पेज बन्द गरिदिएको छ । कोरोनाका बारेमा गलत जानकारीहरु फैलाएको भन्दै मदुरोको फेसबुक फेज निलम्बन गरिएको फेसबुकले जनाएको छ । फेसबुक प्रवक्ताका अनुसार आफ्नो पेजमा मदुरोले कुनै प्रमाणबिना नै कोरोना भाइरसको उपचार तथा रोकथामका बारेको दाबीलाई प्रस्तुत गरेका थिए ।
गत जनवरीमा मदुरोले कार्भाटिभिर नामक झोल कोरोना भाइरसको चामत्कारिक औषधिको रुपमा रहेको र यसले कुनै पनि साइड इफेक्टबिना नै कोरोना भाइरसलाई निस्तेज पार्ने कुरा आफ्नो फेसबुक पेजमा व्याख्या गरेका थिए । तर डाक्टरहरुले चाहिँ त्यस्तो दाबीलाई विज्ञानले पुष्टि नगर्ने बताएका छन् । कोरोना भाइरस लाग्नै नदिने तथा लागेपनि निको हुने औषधि दाबी गरिएको भिडियोलाई फेसबुकले मदुरोको पेजबाट हटाइदिएको छ । यसले कोरोना सम्बन्धी फेसबुकको नीतिलाई उल्लंघन गरेको फेसबुकको भनाइ छ ।
फेसबुक प्रवक्ता भन्छन्, ‘हामीले विश्व स्वास्थ्य संगठनको निर्देशिका पालना गर्दछौँ जसले अहिलेसम्म कोरोना भाइरसको उपचार गर्ने कुनैपनि औषधि नभएको छ । हाम्रो नीतिलाई लगातार उल्लंघन गरेको हुँदा हामीले मदुरोको फेसबुक पेजलाई ३० दिनका लागि फ्रिज गरेका छौँ ।’ यो सँगै एक महिनासम्म मदुरोको फेसबुक पेजमा कुनै पनि पोष्ट गर्न सकिने छैन र हेर्नमात्र मिल्नेछ । मदुरोले फेसबुकमा शेयर गरेको भिडियोमा कार्भाटिभिरलाई १९औँ शताब्दीका भेनेजुयलन डाक्टर जोसे ग्रेगोरियो हर्नान्डेजको चामत्कारीक थोपा भन्दै ती डाक्टर रोमन क्याथोलिक चर्चबाट दीक्षित रहेको र सो थोपालाई कोरोना भाइरसको रोकथाम र उपचारमा प्रयोग गर्न सकिने उल्लेख छ ।
गलत दाबी सहितको भिडियो मदुरोको फेसबुक पेजमा पोष्ट भएसँगै नीति उल्लंघनको विषयमा पेज एडमिनिष्ट्रिरेटरलाई सूचित गरिएको थियो । फेसबुकका प्रवक्ताका अनुसार मदुरोको फेसबुक पेज एक महिनाका लागि फ्रिज गरिएको भए पनि इन्स्टाग्राम अकाउन्टमाथि चाहिँ कुनै कारबाही गरिएको छैन । राष्ट्रपति मदुरोको फेसबुक पेज फ्रिज गरिदिने फेसबुक कम्पनीको निर्णयप्रति भेनेजुयला सरकारले गम्भीर आपत्ति जनाएको छ ।
यस्तो कदम फेसबुकको डिजिटल सर्वसत्तावादको उपज भएको भेनेजुयलाको आरोप छ । आइतबार एक विज्ञप्तिमा भेनेजुयलाको सूचना मन्त्रालयले कार्भाटिभिर औषधि राष्ट्रिय उत्पादन तथा इन्जिनियरिङ्द्वारा उत्पादित रेट्रोभाइरल औषधि भएको भन्दै महामारीसँग जुध्ने यस्ता कदम विरुद्ध फेसबुक लागेको टिप्पणी गरेको छ । उसले भनेको छ, ‘अन्य मुलुकहरुमा आफ्नो कानुन लादिरहेका बहुराष्ट्रिय कम्पनीहरुको डिजिटल सर्वसत्तावाद हामीले हेरिरहेका छौँ ।
उता स्वयम् भेनेजुयलाका डाक्टरहरुले चाहिँ कार्भाटिभिरले कोरोना भाइरसको रोकथाम र उपचार गर्ने कुनै पनि प्रमाण नभएको बताएका छन् । थाइम नामक जडिबुटीबाट बनाइने उक्त औषधि सदियौँदेखि परम्परागत औषधिको रुपमा प्रयोग गर्ने गरिएको छ ।