काठमाडौँ। थरुहट संघर्ष समितिसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारका प्रवक्ता पार्वत गुरुङले सोमबार सिंहदरबारमा विशेष पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी दिएका हुन् ।
सरकारले थारू कल्याणकारी सभा, थरुहट संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका १९ बुँदे माग सम्बोधन गर्ने बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको उनले बताए ।
टोलीमा बादलसहित प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र नेकपा एमालेको केन्द्रीय सदस्य एवं पूर्वसांसद भगवती चौधरी सदस्य रहेको उनले जानकारी दिए ।
टोलीले आजबाट सम्बन्धित थारू कल्याणकारी सभासँग वार्ता सुरु गर्ने पनि उनले बताए । टोलीको समयसीमा भने नतोकिएको उनको भनाइ छ । रेशम चौधरीको रिहाइका विषयमा समेत वार्ताका क्रममा छलफल हुने बताइएको छ ।