प्रेमिल पेरिस
यो कङ्क्रिटको जङ्गल
अनि यो मान्छेहरुको घारी
यो व्यस्त सडक
अनि यी मान्छेहरुको तडकभडक
म एक रोबोटझैं मानव
यी अन्जान मान्छे यो अन्जान सहर
जिन्दगी आज कहाँकहाँ बेखबर
प्रेमिल रहर पेरिस
जहाँ सडक पेटीमा लभ बर्डस
एक अर्काको आलिङ्गनमा बाँधिएर
प्रेमिल बात मार्न व्यस्त छन्
एक अर्कालाई चुम्न मस्त छन्
म एक पागल प्रेमी
स्वदेशमा प्रेमीकालाई रुवाएर
जिन्दगीका सपनाहरु
थेम्स नदीमा बगाएर
फेरि कुन सपनाको खोजीमा पागलझैं
फेरि कुन चाहमा उडेर बादलझैँ
म एक रोबोटझैं मानव
यी अन्जान मान्छे यो अन्जान सहर
जिन्दगी आज कहाँकहाँ बेखबर
म गाईगोठमा बाच्छबाच्छीसँग
खेल्दै उफ्रँदै हुर्केको एउटा स्वप्निल युवक
म सुनकोशी बगरमा
ढुङ्गाहरु सँगाल्दै बढेको एउटा प्रेमिल युवक
न त म फ्रान्सलाई नै मलाई प्रेम गर्न सक्छु
न फ्रान्सले नै मलाई प्रेम गर्न सक्छ
त्यो सुनकोशी नदि र बगर
त्यो बेनीघाटको बस्ती र बेँसी खेत
त्यो गाईगोठ त्यो बाजेको सपना
त्यो निलो पहाड ती सेता हिमालहरु
मुटुभरी देश बोकेर
खै कुन सागरलाई भेट्न
आज हिमनदीझैं बगेर
खै कुन प्रेमिकाको खोजीमा
आज खुला आकाशमा पन्छीझैँ उडेर
म एक रोबोटझैं मानव
यी अन्जान मान्छे यो अन्जान सहर
जिन्दगी आज कहाँकहाँ बेखबर ??
चमन माझीको ‘साहिरा फिल्म सिटी’ उपन्यासबाट ।