• मंसिर १० २०८१, सोमबार

मेलामा भएको झडपमा बागलुङमा २ को ज्यान गयो, दर्जन बढी बेपत्ता

चैत्र १६ २०७७, सोमबार

हटिया । होली मेलामा भएको झडपमा परी बागलुङमा २ जनाको मृत्यु भएको छ ।  जिल्लाको बडिगाड गाउँपालिका–१० दर्लिङ र प्युठानको सिमानामा लागेको होली मेलामा युवाबीच भएको झडपमा उनीहरुको मृत्यु भएको जनाइएको छ । घटनामा पथ केही व्यक्तिको हताहती भएको बताइएको छ । दर्लिङको बल्देधुरीमा दुई युवा समूहबीच झडप हुँदा हताहती भएको वडा नं ९ का अध्यक्ष कृष्णबहादुर खत्रीले जानकारी दिए ।

गुल्मी, बागलुङ र प्युठानको सिमाना बल्देधुरीमा होली मनाउन गएका युवाबीच झडप हुँदा दुईको मृत्यु भएको र केही युवा घाइते भएको हुनसक्ने खत्रीले बताए । मृत्यु हुनेमा वर्ष ३६ का प्रकाश कुँवर र ३४ वर्षका दीपक दमाइ रहेका छन् । उनीहरुको शव बल्देधुरी भीरबाट ५०० मिटर तल खसेको अवस्थामा भेटिएको प्रहरी नायब उपनिरीक्षक इग्वाल हवारीले जानकारी दिए ।

घटनास्थल मानव बस्तीभन्दा केही टाढा रहेको र त्यहाँ प्रहरी तथा जनप्रतिनिधि पुग्न समय लागेकाले घटनाको विवरण आउन समय लागेको हो । आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६०० जना उपस्थित भएका थिए । स्थानीयवासीका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका–७ र बडिगाड–१० का केही युवा बेपत्ता भएको आशङ्का गरिएको छ ।

घटनामा १० देखि १५ जनासम्म हताहती भएको हुनसक्ने स्थानीयवासीले बताए । घटनापछि प्रहरी घटनास्थलतर्फ जाँदै गरेको इलाका प्रहरी कार्यालय भीमगिठेले जनाएको छ । विस्तृत विवरण आउँन बाँकी छ ।