प्रकृतिको कुचिकारको रुपमा चिनिएका गिद्धहरुको बारेमा तपाईं कति जानकार हुनुहुन्छ ? नेपालका गिद्धहरु उपयुक्त जोडीको खोजीमा भारत र चीनका साथै पाकिस्तानसम्म पनि पुग्ने गरेको यस क्षेत्रका जानकारहरु बताउँछन् । नेपालमा रहेका गिद्धहरु आहाराको खोजीमा भन्दा जोडीको खोजीमा नेपालबाट लामो यात्रा तय गरेर लगभग दक्षिण एसिया भरी घुम्ने गरेको समेत यसका विशेषज्ञहरुको भनाई रहेको छ । यसअघि नेपालमा तराईका गिद्ध पहाड, हिमाल र हिमालका गिद्धहरु पहाड, तराईमा बसाई सर्ने गरेको बुझिएको थियो भने हालै नेपालका गिद्धहरु हजारौं किलोमिटर यात्रा तय गरेर भारत, चीन मात्रै नभएर पाकिस्तानसम्म पुग्ने गरेको तथ्य खुलेको हो ।
नेपालको चितवन राष्ट्रिय निकुञ्जको कसराबाट छाडिएका गिद्धमा जडित स्याटेलाइट ट्रान्समिटरबाट प्राप्त सूचनाले बताए अनुसार त्यहाँका गिद्ध पाकिस्तानसम्म पुगेको देखिएको गिद्ध संरक्षण राष्ट्रिय संजालका अध्यक्ष साथै पर्यावरणीय दिगो विकास एवम् अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावत बताउँछन् । जोखिममा रहेको गिद्धको संख्या नेपालमा झण्डै १२ हजारको हाराहारीमा रहेको बताउने रावत गिद्धहरु आहारको खोजीमा भन्दा बढी जीवन साथी गुमाउँदा नयाँ जीवन साथीको खोजीमा वा शुरुमै जीवन साथीको खोजीमा हजारौं किलोमिटरको यात्रा तय गर्ने गरेको धारणा व्यक्त गर्छन् ।
उता चरा विशेषज्ञ डा. तुलसी सुवेदीका अनुसार कास्कीको अन्नपूर्ण क्षेत्रबाट छोडिएको गिद्धमा जडित स्याटेलाइट ट्रान्समिटरबाट प्राप्त सूचनाका अनुसार हिमाली गिद्ध त्यहाँबाट भारत र चीनसम्म पुग्ने गरेको पत्ता लागेको हो । अध्यक्ष रावतका अनुसार यसरी गिद्धले जोडीको खोजीमा जाँदैगर्दा ७ हजार देखि १० हजार किलोमिटर सम्मको यात्रा तय गरेको देखिन्छ । पहिले नेपालका गिद्धहरुले जाडो छल्न र प्रजननको लागि नेपालकै तराई झर्ने गरेको बुझाई विज्ञहरुमा रहेकोमा हालै यस्तो तथ्य बाहिर आएको हो ।
नेपालमा रहेका गिद्धका प्रकारहरु
प्रकृतिको कुचिकार समेत भनेर चिनिने गिद्धहरु नेपालमा १० देखि १२ हजारको हाराहारीमा रहेको बताउने रावत हाम्रो देशमा नौं प्रकारका गिद्धहरु रहेको भन्छन् ।
उनका अनुसार नेपालमा १) डङ्गुर गिद्ध, २) हिमाली गिद्ध ३)खैरो गिद्ध ४) सानो खैरो गिद्ध, ५) सुन गिद्ध, ६) गोब्रे गिद्ध, ७) हाडफोर गिद्ध, ८) लामोठुडे गिद्ध र ९) राजा गिद्ध आदी गिद्धहरुको बसोबास रहेको छ । हिमाली गिद्ध नेपालका हिमाली क्षेत्रहरुमा बसोबास गर्छन् भने अरु सबै गिद्धहरु पहाड र तराईमा रहने गर्छन् । नेपालका मात्रै नभएर जहाँका भएपनि गिद्धहरु सबै मांसाहारी हुने गर्छन् । सिनो भेट्टाएको खण्डमा गिद्धहरूले छाला बाहेक अरु सबै अङ्ग खाएर सिध्याउने गर्छन् । त्यसकारण यिनीहरुलाई प्रकृतिको कुचिकार भनिएको हो ।
एउटा अचम्मको जीव गिद्धः
गिद्धका जति प्रकार भएपनि, जहाँ रहेपनि गिद्धको लिङ्ग आजसम्म कसैलेपनि छुट्ट्याउन सकेको छैन । रावतका अनुसार संसारका कुनैपनि विशेषज्ञले समेत गिद्धको भाले, पोथी यही हो भनेर यकिन गर्न सकेका छैनन् । ‘सधैं जोडीमा रहने गिद्धको कुन भाले र कुन पोथी भनेर छ्ट्ट्याउन अहिलेसम्म कसैले भेउ पाउन सक्केको छैनन् ।’ रावतले भने ।
गिद्धको प्रजनक्रिया कसरी हुन्छ ? भनेर समेत अनुसन्धान गर्नुपर्ने धारणा रावतको रहेको छ । त्यसकारण यिनीहरुको बासस्थान नष्ट गरिनु हुँदैन । मानिस र प्रकृतिमा रहेका हरेक जीवहरुको आपसमा अन्तरसम्बन्ध रहेकोले यिनीहरुलाई जोगाउनु भनेको नै हामी जोगिनु रहेकोले यिनीहरुको संरक्षणमा सबै जुट्नु आवश्यक छ ।