• मंसिर ११ २०८१, मंगलवार

नेपाल-खनाललाई नेताहरुको दबाबसहित दुई विकल्प : कि ओलीसँगै मिलौँ कि नयाँ पार्टी खोलौँ

चैत्र १५ २०७७, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते संसद् विघटन गरेपश्चात् असन्तुष्ट बनेका नेतात्रय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल अहिले पनि ओलीसित सन्तुष्ट छैनन् । असन्तुष्ट प्रचण्ड र नेपाल–खनालपक्ष संसद् विघटन भएलगतै संयुक्त गठबन्धन गरेर सडक आन्दोलनमा उत्रिएका थिए । उनीहरूले देशका ७७ वटै जिल्लामा संसद् पुनःस्थापनाको माग गर्दै सडक आन्दोलन र विरोध सभा गरेका थिए ।

आन्दोलनकै क्रममा विघटित संसद् सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापना गरेको थियो । संसद पुनःस्थापना भएपछि आन्दोलन र विरोधका कार्यक्रमहरू उनीहरूले अन्त्य गरेका थिए । त्यसपछि फागुन २३ गते अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदरको फैसला गरेको थियो । उसले नेकपा बदरको फैसला गरेसँगै तत्कालिन ठूला राजनीतिक दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पुनर्जीवन पाएका छन् ।

यी दुई पार्टीले पुनर्जीवन पाएसँगै प्रचण्ड माओवादी केन्द्रमै फर्किएका छन् भने नेपाल र खनाल एमालेमा फर्किएका छन् । उनीहरू आआफ्नै पार्टीमा फर्किए पनि बेलाबेला आपसमा भेटवार्ता, छलफल र टेलिफोन संवाद भैरहेको स्रोत बताउँछ ।

तथापि नेपाल–खनाल पक्षका नेताहरूले पछिल्लो चरणमा दबाब दिँदै आएका छन् । नेताद्वय नेपाल–खनाललाई तुरुन्तै निकास दिन भन्दै नेताहरूले दबाब दिँदै आएका हुन् । सर्वोच्चले एमाले र माओवादी केन्द्र ब्युँत्याएपछि एमालेमै फर्केर ओलीसँग अन्तरसंघर्ष गर्ने बताएका नेपाल आफ्नै नेताहरूको दबाब खेपिरहेको नेपाल–खनालनिकट एक नेताले बताए ।

उनका अनुसार, –‘आफूहरूले प्रधानमन्त्री एवम् अध्यक्ष ओलीसँग भेटवार्ता र छलफललाई अघि बढाउन दबाब दिँदै आएका छौँ । पार्टीभित्र मतभेद हुनु स्वभाविकै भएकाले त्यसलाई भेटवार्ताका माध्यमबाट हल गर्नुपर्ने हुन्छ । तर, यो विषय नेपाल–खनाल दुवै जना टसमस हुनु भएको छैन ।’

त्यस्तै शुक्रबार (अस्ति) माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले एमालेभित्रै बसेर संघर्ष गर्ने निर्णय गरेको छ । तर, उक्त निर्णमाथि टिप्पणी गर्दै नेता योगेश भट्टराई, घनश्याम भुसाल र गोकर्ण विष्टले एमाले पार्टीबाट अलग भई अर्को पार्टी बनाएर माओवादीसँग एकीकरणमा जान असहमत जनाएका छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिने प्रभावशाली नेता योगेश भट्टराईले त आफ्ना विमति र विकल्पसमेत राखेका छन् ।
उनका विकल्प यस्ता छन्, अलग पार्टी बनाउनु हुन्छ भने बनाउनूस् । तर, म त्यो पार्टीमा लाग्दिन । एमालेमा मलाई सदस्यबाट पनि निकाल्लान् । तर, म यहिँ बस्छु र एमालेको सांसदको रूपमा संसदमा र मतदातको रूपमा सूर्यमा भोट हाल्दिन्छु । हाम्रो कारणले तपाईं एमालेमा रोकिनु भएको हो भने नरोकिनूस् । हाम्रो आशले बस्नु भएको हो भने पनि नबस्नूस्, आफ्नो बाटो समात्नूस् ।

केपी ओलीसँग फाइनल कुरा छ भने पनि गर्नूस् । वान टु–वान गर्ने भए पनि गर्नूस् । अरु मान्छेको जिम्मा लिने काम पनि अब तपाईंले नगर्नूस् । सबै मान्छेको जिम्मा लिनुपर्दैन । उनीहरू आफैं जे गर्लान्, कोही एमालेमा बस्लान्, कोही राजनीति नै छाडेर हिँड्लान् जे होला । तर तपाईँ दुविधामा नबस्नूस् ।

नेता भट्टराईको यी विकल्प सुनेपछि नेपाल दोधारमा परेका छन् । यद्यपि अहिलेसम्म उनले यी विकल्प र अन्य नेताले दिएको सुझावका बारेमा कुनै आधिकारिक धारणा नराखेको एक नेताले बताए । केही नेताले भने ओलीसँग मिल्न दबाब दिँदै आएका छन् । ओलीसँग नमिल्ने भए नयाँ पार्टी खोलेर भएपनि अगाडि बढ्न नेपाललाई विकल्प दिएका छन् ।

नेपालनिकट प्रभावशाली नेता भीम रावलले भने ओलीसँग कुनै हालतमा पनि एक भएर जान नसकिने बताएका छन् । उनले भने, –‘बरु नयाँ पार्टी खोलेर भएपनि आफ्नो पक्ष अगाडि बढ्न सक्छ । तर, ओली जस्तो स्वच्छाचारी, निरंकुश र तानाशाही प्रवृतिसँग आत्मसमर्थन गरिदैन ।’

यद्यपि वरिष्ठ नेता माधवकुमार नेपालले हालसम्म पनि नयाँ पार्टी खोल्ने र ओलीसँग मिल्ने कुरा सोच्नसम्म पनि नसकेको उनीनिकट एक नेताले बताए । बरु नेपाल–खनाल पक्षले एमाले पार्टीभित्रै रहेर ओलीसँग कडा संघर्ष गर्नुपर्ने विभिन्न सार्वजनिक कार्यक्रममा बताउँदै आएका छन् ।