• मंसिर ११ २०८१, मंगलवार

प्रकृति विज्ञान र समाज विकासमा दार्शनिकहरुको भूमीका

चैत्र १५ २०७७, आईतवार

‘मार्क्सवाद  मार्क्सका विचारहरु र उनको शिक्षाको व्यवस्थित श्रृङखला हो । उन्नाइसौं शताब्दीमा  मार्क्सवादका तीन संगठक तत्वहरुको उल्लेख गर्दै संसारका तीन अधिकतम उन्नत देशहरूमा पैदा भएका तीन मुख्य विचारधाराहरुः- शास्त्रीय जर्मन दर्शन, शास्त्रीय अंग्रेजी राजनीतिक अर्थशास्त्र र सामान्य फ्रान्सेली क्रान्तिकारी शिक्षाहरुसँग संलग्न फ्रान्सेली समाजवादलाई  मार्क्सले अगाडि बढाउनु भयो र तिनलाई आफ्नो प्रतिभाले परिपूर्ण बनाउनु भयो ।’  -भ्लादीमिर इल्यिच लेनिन

विश्वका सर्वहारा वर्गका महान् नेता तथा लेनिनवादका प्रतिपादक भ्लादीमिर इल्यिच लेनिनले यहाँ  मार्क्सवादका तीन श्रोत र तीन संघटकको बारेमा उल्लेख गर्ने क्रममा दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद  मार्क्सवादका तीन संघटक अंग (तत्व) को बारेमा उल्लेख गर्नुभएको छ । यसैका आधारमा  मार्क्सवादका तीन संगठक अंग (तत्व) को बारेमा अध्ययन गर्न जरुरी हुन्छ । कार्ल  मार्क्स (सन् १८१८-१८८३) र फ्रेडरिक एंगेल्स (सन १८२०-१८९५) को संयुक्त प्रयासबाट  मार्क्सवादको जन्म भएको हो । सन १८४८ फेब्रुअरी २१ का दिन मार्क्स र एंगेल्सले जुन लण्डनबाट कम्युनिस्ट घोषणा पत्र जारी गर्नु भयो, त्यो नै मार्क्सवाद  बन्यो र मार्क्सवाद विश्व सर्वहारा वर्गको मुक्तिको पथप्रदर्शक सिद्धान्त बन्यो । त्यस दिनदेखि विश्व सर्वहारा वर्गले आफ्नो मुक्तिको सिद्धान्तका रुपमा  मार्क्सवाद प्राप्त गर्यो ।

मार्क्सवादको महत्वबारे प्रकाश पार्दै लेनिन अगाडि भन्नुहुन्छ,:– ‘मार्क्सको दर्शन एउटा यस्तो परिपूर्ण दार्शनिक भौतिकजाद हो, जसले मानव जातिलाई र खास रुपले मजदूरवर्गलाई ज्ञानको शक्तिशाली आौजारहरु प्रदान गरेको छ ।’–लेनिन, संकलित रचनाहरु, भाग १९, पृष्ठ २५ । त्यस्तै  मार्क्सवादको महत्वबारे स्वयम् माक्र्स अगाडि भन्नु हुन्छ,– ‘जसरी दर्शनले सर्वहारा वर्गमा आफ्नो भौतिक हतियार भेटाउँछ, त्यसरी नै सर्वहारा वर्गले दर्शनमा आफ्नो बौद्धिक हतियार भेटाउँछ ।’– मार्क्स र एंगेल्स, संकलित रचनाहरु, भाग भाग ३, पृष्ठ १८७ । साथै  मार्क्सवादको महत्वबारे कमरेड माओ अगाडि भन्नु हुन्छ,–‘ मार्क्सवाद ज्ञानका अनेक शाखाहरुबाट बनेको छ, मार्क्सवादी   दर्शन,  मार्क्सवादी अर्थशास्त्र र  मार्क्सवादी समाजवाद अर्थात् वर्ग संघर्षको सिद्धान्त तर जग चाहिँ  मार्क्सवादी दर्शन हो । यदि त्यसलाई मनन् गरिंदैन भने हाम्रो एउटा साझा भाषा या कुनै साझा तरिका हुने छैन, हामी चीजहरुलाई स्पष्ट नपारिकन यताउताको कुरा उठाई तर्कमात्र गरिरहेका हुनेछौं । द्वन्द्वात्मक भौतिकवादलाई मनन् गरिसके पछि, थुप्रै दुःख कष्टबाट जोगिने छ र धेरै गल्तीहरु हट्नेछन् ।’-माओ त्सेतुङ, चुनिएका रचनाहरु, अंग्रेजी संस्करण, भाग ५, पृष्ठ १६० ।

hegel

मार्क्सवादी दर्शन सर्वहारा वर्गको विश्व दृष्टिकोण हो । मार्क्सवादी दर्शनलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ । यसको सिद्धान्त भौतिकवाद र यसको पद्धति द्वन्द्ववाद हो । मार्क्सवाद सर्वहारा क्रान्तिको विज्ञान हो । माक्र्सवाद क्रान्तिकारी र आलोचक रहेको छ । मार्क्सवाद पुँजीवादको प्रारम्भिक अवस्थामा विकसित भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्ग संघर्ष तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । हरेक वस्तुको जन्म र विकासका आधार र श्रोतहरु हुन्छन् । यो विज्ञानको सार्वभौम नियम हो ।  मार्क्सवादका जन्मका पनि निश्चित वैज्ञानिक आधार र श्रोतहरु रहेका छन्, जो निम्न प्रकार छन्ः–

(१) सामाजिक-आर्थिक श्रोतः–

मानव समाजको विकासको क्रममा जब उन्नाइसौं शताब्दीको चौथो दशकसम्म आइपुग्दा सामन्तवादका विरुद्ध युरोपका इंग्ल्याण्ड, फ्रान्स लगायतका देशहरूमा पुँजीवादी क्रान्तिहरु सम्पन्न हुँदै गए । त्यसले नयाँ उत्पादक शक्तिको तीव्र विकास भएर गयो । त्यही अवधिमा ती देशहरूमा आौद्योगिक क्रान्तिहरु भए । त्यसैक्रममा मानव समाजमा पुँजीपति वर्ग र सर्वहारा वर्गका बीचमा वर्गसंघर्ष चर्कंदै जान थाल्यो । पुँजीपति (मालिक) वर्गका विरुद्धको संघर्षमा विश्व सर्वहारा वर्ग इतिहासको सबैभन्दा प्रगतिशील र क्रान्तिकारी वर्गको रुपमा विकसित हुंदै गयो । त्यस अवधिमा कलकारखानामा कार्यरत मजदुर वर्गले आफ्नो हक, हित र अधिकार प्राप्तिका लागि ठूला ठूला आन्दोलन र संघर्षका कार्यक्रमहरु अगाडि बढाउन थाल्यो । त्यसैक्रममा इङ्गल्याण्डमा सन् १८३८-१८४२ सम्म चार्टिष्ट आन्दोलन सञ्चालन गरियो । त्यस्तै सन् १८४४ मा इङ्गल्याण्डका मजदूरहरुले लुडाइट (मेसिन तोडफोड) आन्दोलन सञ्चालन गरे । त्यही अवधिमा इङ्गल्याण्ड, जर्मनी, अमेरिका, फ्रान्स लगायतका देशहरूमा ठूला ठूला मजदूर आन्दोलनहरु हुंदै गए ।

इङ्गल्याण्डमा सञ्चालन भएका चार्टिष्ट आन्दोलन, मेसिन तोडफोड आन्दोलन आधुनिक युगमा मजदुर वर्गको आन्दोलन थियो । ती आन्दोलनले मजदुर वर्गलाई वर्गसचेत गराउँदै लग्यो । ठिक त्यही परिस्थितिमा मजदुर वर्गको मुक्ति, उद्धेश्य र आन्दोलनका लागि एक सुसंगत एवम् वैज्ञानिक तथा क्रान्तिकारी विचारधाराको निर्माण एक ऐतिहासिक आवश्यकता बन्न गयो ।

(२) प्रकृति विज्ञानका श्रोतहरुः-

समाज विकासका क्रममा दास युग र विशेषगरि युरोपको पुनर्जागरण काल पश्चात् प्रकृति विज्ञानका क्षेत्रमा प्रशस्त नयाँनयाँ खोज र विकास हुंदै गए । त्यही बखत ज्योतिष शास्त्र, गणित, भौतिक विज्ञान, यन्त्रशास्त्र, रसायन विज्ञान, जीव विज्ञान लगायत प्रकृति विज्ञानका विविध क्षेत्रमा नयाँ नयाँ खोज र अन्वेषण हुंदै गए । विविध क्षेत्रमा आविष्कारक तथा अन्वेषकहरुको विकास पनि हुंदै गयो । त्यसैक्रममा प्रकृति विज्ञानको क्षेत्रमा युक्लिडको ज्योति, टोलमीको सौरमण्डलको सिद्धान्त, अरबहरुबाट दशमलब अंक पद्धति, प्रारम्भिक बीज गणित जस्ता चीजहरु प्राप्त हुंदै गए ।

Galileo Galilei

युरोपेली पुनर्जागरण काल यता प्रकृति विज्ञानका क्षेत्रमा नयाँ चरणको थालनी भएको थियोे । त्यसै बेला कोपरनिकस, ग्यालिलियो, न्युटन जस्ता वैज्ञानिकहरुले खगोल विज्ञानको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै प्रकृति विज्ञानका क्षेत्रमा तीन महत्वपूर्ण खोज, अन्वेषण भएका थिए । ती खोजमा भौतिक विज्ञानमा मायर उर्जाको संरक्षण तथा रुपान्तरणको सिद्धान्तमा जुल तथा कोल्डिङ्गको महत्वपूर्ण योगदान रहयो । जीव रसायन विज्ञानमा श्वान्न तथा श्लेइडेनको जीवकोषिकाको सिद्धान्त र डार्विनको विकासवादको सिद्धान्त उल्लेखनीय रहेका छन् ।

charls darbin

माथि उल्लेख गरिएका ती सबै खोज, अन्वेषणको परिणाम प्रकृति तथा प्रकृति विज्ञानमा विद्यमान यान्त्रिक तथा अधिभूतवादी चिन्तनका विरुद्ध द्वन्द्ववादको स्थापना, प्रकृति विज्ञान द्वन्द्ववादी रहेको पुष्टि हुनु, प्रकृतिका अनेक प्रक्रियाहरुबारे परिकल्पित अन्तरसम्बन्धका ठाउँमा वास्तविक अन्तरसम्बन्धको स्थापना र भौतिकवादको पुष्टि हुन पुग्यो । त्यस परिस्थितिमा तथाकथित प्रकृति दर्शनको अन्त्य भई प्रकृति विज्ञानका विविध शाखाहरुले स्वतन्त्र विज्ञान बन्नका लागि वैज्ञानिक आधार तयार भयो ।

(३) सैद्धान्तिक श्रोतः–

मार्क्सवादका सैद्धान्तिक श्रोत तीन प्रकारका रहेका छन्, ती हुन् :- शास्त्रीय जर्मन दर्शन, शास्त्रीय अंग्रेजी राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवाद ।

(क) शास्त्रीय जर्मन दर्शनः-

उन्नाइसौं शताब्दीमा जर्मनीमा हेगेल र फायरवाखमा दर्शनले एउटा उत्कर्ष प्राप्त गरेको थियो । हेगेलले द्वन्द्ववादको चरम रुपमा विकास गरेका थिए । तर हेगेलको द्वन्द्ववाद हेगेलकै विरुद्ध परिलक्षित थियो । हेगेलको निरपेक्ष विचार उनको आदर्शवादकै अभिव्यक्ति थियोे । त्यसैगरी त्यसबेला आदर्शवादका विरुद्ध फायरवाखको भौतिकवाद थियो, तर त्यो यान्त्रिक र नैतिकताको मामिलामा आदर्शवादी थियोे ।

(ख) शास्त्रीय बेलायती राजनीतिक अर्थशास्त्रः-

बेलायतमा राजनीतिक अर्थशास्त्रको नयाँ ढंगले विकास हुंदै गएको थियो । यस कार्यमा बेलायती अर्थशास्त्री आदम स्मिथ र डेविड रिकार्डोले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । ती अर्थशास्त्रीहरुले भनेका थिए कि ‘सबै सम्पत्ति र सबै मूल्यको श्रोत श्रम हो ।’ त्यो उनीहरूको एक महत्वपूर्ण प्रस्थापना थियोे । त्यसले के प्रश्न खडा गरेको थियो भने मजदूरले आफ्नो श्रमबाट जुन मूल्यको सृष्टि गर्दछ, त्यसले पुरै प्राप्त नगरी किन पुँजीपति वर्गलाई दिनु पर्दछ ? यस प्रकारको अन्तर्विरोध समाधान कसरी हुन सक्तछ ? उनीहरूले ती प्रश्नहरुको समाधान खोज्न सकेका थिएनन् ।

(ग) फ्रान्सेली समाजवादः-

सन् १७८९ मा सम्पन्न फ्रान्सेली राज्य क्रान्ति अर्थात् फ्रान्सेली समाजवाद तत्कालीन विश्व मानव समाजमा कयौं नयाँ नयाँ विचार सहित अगाडि बढ्यो । यस सन्दर्भमा फ्रान्सका सेण्ट साइमन र चार्ल्स फुरिए इङ्गल्याण्डका रबर्ड ओवेनहरु प्रमुख विचारकहरु थिए । उनीहरू काल्पनिक समाजवादी थिए । उनीहरूले वर्गबिहीन सुन्दर समाज निर्माण गर्ने कल्पना गरेका थिए । फ्रान्सेली समाजवादले स्वतन्त्रता, समानता र भातृत्वको नारा दिएको थियो । तर त्यसबाट समाजमा वर्गीय शोषण र उत्पीडनको अन्त्य गर्ने लक्ष्य थिएन । समाजमा व्यापक पुँजीवादी शोषण व्याप्त थियो ।

ती काल्पनिक समाजवादी दार्शनिकहरुले तर्कबुद्धिवादका आधारमा एक सुन्दर, सामञ्जस्यपूर्ण र शोषण बिहीन समाज स्थापना गर्ने कुरा अर्थात् समाजवाद र साम्यवादको आदर्श त प्रस्तुत गरेका थिए तर वास्तविक जीवनमा त्यसप्रकारको समाज कसरी स्थापना गर्न सकिन्छ ? त्यस विषयमा उनीहरूले ठोस वैज्ञानिक विचार र रुपरेखा प्रस्तुत गर्न सकेका थिएनन् । अर्थात् उनीहरूले समाज बदल्ने वर्ग संघर्षको सिद्धान्तलाई बुझ्न सकेका थिएनन् । माक्र्स र एंगेल्सले तिनका विचारहरुको अध्ययन गरेर तिनमा रहेका अवस्तुवादी काल्पनिक पक्षलाई हटाएर वैज्ञानिकता प्रदान गर्नु भयो । यो फ्रान्सेली राज्य क्रान्तिको अनुभव  मार्क्सवादको निर्माणको निम्ति महत्वपूर्ण श्रोत बन्यो । यी सबै विषयको सही संश्लेषण र विज्ञानसम्मत रुपरेखा प्रस्तुत गर्न र स्पष्टीकरण दिन अनिवार्य बन्न गएको थियो, त्यो आवश्यकता र अनिवार्यतालाई  मार्क्सवादले मात्र पुरा गर्यो ।

मार्क्सवादका तीन संगटक अंगः-

दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद मार्क्सवादका तीन संघटक अंग हुन् ।

(क) दर्शनशास्त्रः-

मार्क्सवादको पहिलो संघटक अंग दर्शनशास्त्र हो । यसले प्रकृति, समाज र विचारधारात्मक विकासका अति सामान्य नियमहरुको अध्ययन गर्दछ । दर्शनका क्षेत्रमा सबैभन्दा पहिले विकास भएको शास्त्रीय जर्मन दर्शनका रुपमा जार्जी हेगेलले विकास गरेको द्वन्द्ववाद र लुडविक फायरवाखले विकास गरेको भौतिकवाद नै थिए । तत्कालीन समयमा देखा परेका ती दुबै दर्शनका मूल्यवान तथा सुसंगत विचार प्रणालीलाई आत्मसात गरेर माक्र्स र एंगेल्सले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनको विकास गर्नु भयो, जो विश्वकै सर्वहारा वर्गको विश्व दृष्टिकोण बन्न पुग्यो ।  दर्शनशास्त्र प्रकृति, समाज र चिन्तनको गतिका सामान्य नियमहरुको अध्ययन गर्ने विज्ञान भएकोले यसलाई  मार्क्सले नितान्त नयाँ ढंगले विकसित तुल्याउनु भएको छ ।

karl marks

(ख) राजनीतिक अर्थशास्त्रः-

मार्क्सवादको दोस्रो संघटक अंग राजनीतिक अर्थशास्त्र हो । राजनीतिक अर्थशास्त्र उत्पादन सम्बन्धहरुको अध्ययन गर्ने विज्ञान हो । यसले समाजका उत्पादक शक्ति र उत्पादन सम्बन्धमा रहेका वर्गहरु बीचको आपसी सम्बन्ध र तिनीहरूका बीचमा उत्पन्न हुने संघर्षका नियमहरुको अध्ययन गर्दछ । बेलायती अर्थशास्त्री एडम स्मिथ र डेविड रिकार्डोले अगाडि सारेका मूल्यका श्रम सिद्धान्तका आधारमा  मार्क्सले अतिरिक्त मूल्यको सिद्धान्तको रुपमा नयाँ सिद्धान्तलाई विकसित तुल्याउनु भयो ।

पुँजीवादी अर्थशास्त्रीहरुले राजनीतिक अर्थशास्त्रलाई वस्तुहरुको आपसी सम्बन्धको अध्ययन गर्ने विज्ञानका रुपमा लिएका थिए, तर त्यसको उल्टो माक्र्सले मानिसहरुको पारस्परिक सम्बन्धको अध्ययन गर्ने विज्ञानका रुपमा राजनीतिक अर्थशास्त्रलाई स्थापित गर्नु भयो र मूल्यको श्रम सिद्धान्तलाई माक्र्सले नयाँ व्याख्या, परिष्कार र अतिरिक्त मूल्यको सिद्धान्तको खोजका आधारमा समृद्ध तुल्याउनु भयो ।

(ग) वैज्ञानिक समाजवादः-

मार्क्सवादको तेस्रो संघटक अंग वैज्ञानिक समाजवाद हो । मार्क्स भन्दा पूर्वका विचारकहरु सेण्ट साइमन, रोबर्ट ओवेन, चार्ल्स फुरिए आदि काल्पनिक समाजवादीहरुले यस्तो समाज व्यवस्थाको परिकल्पना गरेका थिए, जहाँ मानिसले मानिसको शोषण गर्ने परिस्थिति नै उत्पन्न नहोस् । उनीहरूले व्यक्तिगत सम्पत्तिको आधार सामाजिक विकासको मूलतत्वको रुपमा रहेको वर्ग संघर्ष हो र यसको अन्त्य पनि वर्ग संघर्षद्वारा नै हुन्छ भन्ने कुरा बुझ्न सकेका थिएनन् । तर वैज्ञानिक समाजवाद एक यस्तो सामाजिक तथा वैचारिक व्यवस्था हो, जुन वर्ग संघर्ष, इतिहासमा बल प्रयोगको भूमिका सर्वहारा वर्गको अधिनायकत्व र वर्गहरुको विलोप (अन्त्य)को सिद्धान्तमा आधारित रहेको हुन्छ भन्ने कुरा  मार्क्स-एंगेल्सले स्थापित गर्नु भयो । साथै  मार्क्स-एंगेल्सले काल्पनिक समाजवादका विरुद्ध वैचारिक संघर्ष चलाउँदै वैज्ञानिक समाजवादको विज्ञानलाई स्थापित गर्नु भयो ।  यसरी उत्पादन संघर्ष, वर्ग संघर्ष र वैज्ञानिक प्रयोगका बीचबाट  मार्क्सवादको जन्म भएको हो । द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद  मार्क्सवादी दर्शन हो र यो नै सर्वहारा वर्गको विश्व दृष्टिकोण हो ।  मार्क्सवाद र मार्क्सवादी दर्शन विश्व सर्वहारा वर्गको मुक्तिको सैद्धान्तिक हतियार हो ।

मार्क्स-एंगेल्सद्वारा  मार्क्सवादको प्रतिपादन भएको यस १७३ वर्षको लामो तथा ऐतिहासिक अवधिमा यस धर्तीमा ठूलो उथलपुथल र परिवर्तन भइरहेको छ । यस बीचमा  मार्क्सवादको पथप्रदर्शनमा सन् १८७१ मा फ्रान्सको पेरिसमा कम्युनको स्थापना भयो । त्यो विश्व सर्वहारा वर्गले पहिलो पटक विद्रोह गरेको एक ऐतिहासिक परिघटना थियोे । त्यस्तै सन् १९१७ अक्टोबर २५ (नोभेम्बर ७) मा रुसी अक्टोबर समाजवादी क्रान्ति सम्पन्न भएको थियोे । अक्टोबर क्रान्तिकारी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा एक ऐतिहासिक परिघटना थियो र विश्वमा विश्व सर्वहारा वर्गले पहिलो पटक आफ्नो अधिनायकत्व स्थापना गरेको थियो । साथै सन् १९४९ अक्टोबर १ का दिन चिनियाँ नयाँ जनवादी क्रान्ति सम्पन्न भयो र भियतनाम, कोरिया, कम्वोडिया, क्युवा आदि देशहरूमा जनवादी तथा समाजवादी क्रान्तिहरु सम्पन्न भए । यद्यपि रुस, चीन लगायतका देशहरुमा प्रतिक्रान्ति भएर पुँजीवादको पुनर्स्थापना भएको भए पनि विश्व सर्वहारा क्रान्ति जारी छ र  मार्क्सवादको महत्व, आवश्यकता र आौचित्य अरु बढेर गएको छ । किनभने आजको साम्राज्यवाद र सर्वहारावर्ग बीचको भीषण संघर्षको युग हो । आज मार्क्सवादले पहिलोमा  मार्क्सवादको विकास गरेको छ भने  मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरणमा लेनिनवादको विकास भएको छ र  मार्क्सवाद-लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरणमा माओवादको विकास भएको छ ।

यसरी आज अन्तर्राष्ट्रिय सर्वहारा वर्गको हातमा एउटा सार्वभौम सिद्धान्तको सिंगो अभेद्य इकाईका रुपमा  मार्क्सवाद-लेनिनवाद -माओवाद देखा परेको छ । माओवादलाई आजको विश्वको  मार्क्सवाद-लेनिनवादको रुपमा ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्तैन । आज  मार्क्सवाद-लेनिनवाद-माओवादको आलोकमा र पथप्रदर्शनमा भारतमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) जनयुद्ध सञ्चालन गरिरहेको छ । त्यस्तै नेपालमा पनि नेकपा (क्रान्तिकारी माओवादी) सशस्त्र जनविद्रोहको तयारी गरिरहेको छ भने फिलिपिन्स, अफगानिस्तान, टर्की, भेनेजुयला, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड, जर्मनी, पेरु लगायतका देशहरूले सशस्त्र जनयुद्ध सञ्चालन गर्ने तयारी गरिरहेका छन् । यसर्थ आज मालेमावादको आवश्यकता, महत्व र अपरिहार्यता अरु बढेर गएको छ । संसारलाई बदल्ने अचुक वैज्ञानिक हतियार मालेमावाद भन्दा अर्को अस्त्र छैन ।

(लेखकः अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन् ) ।