सामुदायिक विविधताले भरिएको नेपाली समाज बिवविध किसिमले अत्यन्तै उत्सवधर्मी छ । यहाँ अनेक लोक पर्वहरु छन् । त्यस्ता अनेक उत्सवहरुमध्यको एउटा रंगिलो र रमाइलो उत्सव या पर्व हो, होली । यसलाई फागु पर्व पनि भनिन्छ । आज त कुनै पनि नेपाली जन समुदाय विशेषले मनाउने गरिएका धेरैजसो चाड पर्वहरु सम्पूर्ण नेपाली जन समुदाय र सिंगो समाजकै चाडपर्वकोरुपमा पनि विकसित हुँदै गएका छन् । यो जन समुदाय बीचको बढ्दो सहभाव तथा विज्ञान र प्रविधिको विकासले गर्दा समेत सम्भव भएको आजको यथार्थ हो । अब कुनै एक क्षेत्र र समुदायका चाड पर्वहरु विस्तारै विस्तारै प्रायः सबै समुदाय र क्षेत्रका पर्व बन्दै गएका छन् ।
होली पनि एउटा त्यस्तै पर्व बनेको छ । हिजो तराई र उपत्यकामा मात्र बढी मनाइने र ती ठाउँहरुमा मात्र सीमित रहेको होली पर्व आज पहाडको समेत एउटा संस्कृति जस्तै भएको छ । यो साँच्चै नै खुशीको कुरा हो । यसले नेपाली जनताको पारस्परिक सद्भाव र एकतालाई अझ गाढा, जीवन्त र एकत्वको भावना जगाउन र राष्ट्रिय एकतालाई सबल तुल्याउन योगदान गर्दछ । यही चैत्र महिनाको तेश्रो सातामा परेको यस वर्षको होली पर्वले पनि यस दिशामा योगदान पुर्याउने अपेक्षा गरिन्छ र अनुभूति पनि त्यस्तै हुने अपेक्षा गन्छि । गलत राजनीतिले बिगारेर विभाजनकारी बनाएको समाजमा चाडपर्वले भए पनि सद्भाव र एकतालाई कायम राख्न खेल्ने भूमिका कम महत्वपूर्ण छैन । चाडपर्वहरु आफै कसरी चल्दै आए त्यसको बारेमा खोजबिन गर्दा ती युग विशेषका ती उपज हुन् र कालान्तरमा परिवर्तन र परिमार्जन हुँदै आएका छन् र हुँदै जान्छन् भन्ने कुरामा दुई मत नहोला ।
युग विशेष भन्ने बित्तिकै त्यहाँ आम जन समुदायको जीवन यापन के कसरी हुँदै चल्दै आएको थियो भन्ने कुराको ख्याल गरिनु पर्ने हुन्छ । हाम्रा चाड पर्वहरुले त्यस्तै युगको उद्बोधन गराउँदछन् । तर चाडपर्वहरु हिजोकै अवस्था र उस्तै रुप आकार तथा आयतनमा सीमित भएर कायम रहिरहँदैनन् । तिनले पनि आफूलाई समयसँगै परिमार्जित र परिष्कृत गरेर लैजान्छन् । आज हाम्रा चाडपर्वहरु विश्वव्यापी रुपमा परिचित हुँदै गएका पनि छन् । त्यसको कारण हो आज नेपाली जन समुदायका यूवाहरु विश्वभरी नै कामको खोजीमा जीवन यापनका लागि जाने, भौंतारिने गरेका छन् र तिनले आफ्ना देशका विविध साँस्कृतिक चाडपर्वहरु पनि आफूसँगै लिएर गएका र त्यहाँ पनि प्रदर्शन गर्ने गरेका छन् ।
यसले गर्दा हाम्रो विविधताको झल्को विश्वरभरी फैलिन पाएको छ । यसले पनि हाम्रो संस्कृतिलाई जीवन्त राख्न मद्दत गर्दछ नै । आज जान अञ्जानमा समाजिक सद्भाव र एकत्वको भावनालाई समेत कुत्सित र कुटील स्वार्थका कारण खल्बल्याइएको र समाजमा विभाजनको रेखा कोर्न लागेको भए पनि जुनसुकै समुदायका नेपालीहरु विदेशिएका किन नहुन् तिनले जुन सुकै नेपाली समुदायका चाड पर्वहरु भए पनि सबै मिलेर मनाउने गरेका छन् र आपसी मित्रता र सद्भावलाई अझ गाढा र ब्यापक बनाएका छन् । यो कम महत्वपूर्ण कुरा होइन ।
फागु या होलीका सन्दर्भमा कुरा गर्दा होली निकै प्राचीन उत्सव भए पनि यसको प्राचीनताका बारेमा भने विद्वानहरुका बीचा एकमत पाइँदैन । यो समोल्लासमय पर्वको आरम्भ यति बेलै भएको हो भनेर कसैले ठोकुवा गर्न नसके पनि यो धेरै पुरानो चाड पर्वहरुमध्येको एक हो भन्ने कुरामा भने कुनै सन्देह छैन । के भनिएको छ भने प्रकृति आफ्ना सबै रुपमा जब तरुण वयमा देखिन्छ तब होली आउँदछ । यसले पनि होलीको प्राचीनता र औत्सवीय प्रवृत्तिलाई निकै राम्रोसँग दर्शाउँदछ ।
कतिपय विद्वानहरुले होलीलाई इशा पछिको उत्सव भन्ने गरेका छन् भने पूर्वीय एक विद्वान जेमिनीको मीमांसा सुत्रहरुमा भने होलीलाई ‘होलाका’ भनेर उत्सव मनाएको उल्लेख छ ।
आचार्य जेमिनी इसाको ४००—३०० वर्ष पहिलेका भनेर चिनिन्थे । पूर्व मीमांसामा यसै पर्वको उल्लेख हुनुको सोझो अर्थ यही हो कि होली ती सुत्रहरुको रचना कालभन्दा पनि धेरै पहिला निकै ठूलो उत्सवकोरुपमा रहेको हुन सक्छ । त्यसैले यसमा शायदै कसैको विमति होला कि रंगीबिरंगी यो उत्सव अति प्राचीन उत्सव हो । यस सम्वन्धमा आचार्य जेमिनीलाई उल्लेख गरेर भारत रत्न भनेर सम्मानित डा. पीवी काणोले यो सबै आर्यको उत्सव हुन पर्दछ भनेका छन् । अर्का विद्वान कामसुत्रका रचनाकार बात्स्यायानले पनि यस उत्सवका बारेमा वर्णन गरेका छन् । पुराणा साहित्यमा पनि होलीको रंग रसका बारेमा धेरै कुरा उल्लेख गरेको पाइन्छ । प्राचीन साहित्यमा होलीको उल्लेख वास्तवमा अकारण भएको छैन भन्ने प्रष्ट हुन्छ । होलीलाई योग र भोगको एकात्मकरुपमा मानिएको छ । सप्त सुर, सप्त ताल र सप्त रंगकै पर्यायकोरुपमा पनि यसलाई लिइने गरेको छ ।
आनन्द, उमंग र उत्साहको सञ्चार गर्ने होली कुनै क्षेत्र, जाति या गोत्रको भेदभाव नगरी मनाइने चलन भएकाले यहाँ ‘आनन्द’ नै सबैको गोत्र मानिंदै र ठानिंदै आएको पनि पाइन्छ । यद्यपि कतिपय विद्वानले होली मिश्रतिरको आयातित पर्व पनि भन्ने गरेका छन् । जे भए पनि ‘नराम्रो नमान होली हो’ भन्ने यसको सन्देशले सबैलाई मनको बह पोख्न, खुलेर घुलमिल हुन र रमाइलो मनाउन कम्तिमा वर्षको एक पटक ढोका उघारिदिन्छ । आज यसको एउटा प्रमुख विशेषता यही नै भएको छ । यस अर्थमा होलीले जीवनको, समाजको समीक्षा गर्ने र गल्तीलाई सच्याउने अवसर दिन्छ भन्ने कुरा त्यस दिनलाई ‘नराम्रो नमान होली हो’ भनेबाट पनि संकेत मिल्दछ ।
एकजना भारतीय माक्र्सवादी विद्वान डा.रामविलाश शर्माले बताएका छन्, कि भारतीय मूलका आर्यहरु पश्चिम एशियामा फैलिएका थिए । ती भारतीय आर्य ऋग्वेदको रचनाकालपछि बाहिर गएका हुन् । होली जस्तो उत्सव पनि भारतबाटै बाहिर मिश्र पुगेको हो भन्ने कुरामा के आश्चर्य नै छ र ? आज त होलीकै भूमण्डलीकरण भइसकेको छ । जे होस्, अवाञ्छित मुठभेड र रगतको होली लगायतका विकृति र विसंगतिका राक्षस र राक्षसीहरुलाई अन्त्य गरेर मनाइने यो उत्सवले जे सन्देश दिंदै आएको छ त्यसलाई आत्मसात गर्न सके समाजलाई सुसंस्कृत तुल्याउन अवश्य मद्दत पुग्ने थियो ।
समाजका राजनीतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक हरेक किसिमका विकृति र विसंगतिलाई पञ्छाउन र अन्त्य गरेर या गर्ने दिशामा अग्रसर भएर यो रमाइलो मानउन होली पर्वको सदुपयोग गर्न सके समाजलाई अझ सुन्दर, प्रेममय र परिष्कृत तुल्याउन अवश्य मद्धत मिल्न सक्तछ । नेपालका सबै जन समुदायका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमालाई सप्तरंगी होली २०७७ को पावन अवसरमा परस्पर मैत्री, सद्भाव र एकताको अभिवृद्धि हुन सकोस् भन्ने मंगलमय शुभ कामना ।