• मंसिर ११ २०८१, मंगलवार

मगर समुदायले गरे ‘साँस्कृतिक कौराहा’ कार्यक्रम

चैत्र १४ २०७७, शनिबार

काठमाडौँ । राजधानी काठमाडौँमा मगरहरुले ‘साँस्कृतिक कौराहा’ कार्यक्रम सम्पन्न गरेका छन् । टोखा नगरपालिकाको लक्षित वर्ग कार्यक्रम अन्तर्गत परेको बजेटबाट वडा नम्बर ११ को सामुदायिक भवनमा एक कार्यक्रम गरि मगरहरुले साँस्कृतिक कौराहा कार्यक्रम गरेका हुन् ।

मगर उत्थान समाज गोङ्गबु काठमाडौँको आयोजनामा भएको सो कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष उत्तम अधिकारी, अथितिहरु वरिष्ठ अधिवक्ता गौबहादुर आलेमगर, समजासेवी जितेन्द्र भण्डारी, सो संस्थाकी संस्थापक अध्यक्ष हिरामाया थापामगर, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार सूर्यबहादुर गेलाङ्ग मगर लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष चन्द्रबहादुर थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव यशोदा पुन थापा मगरले संचालन गरेकी थिइन् । कार्यक्रममा बोल्ने वक्ताहरुले मगरहरुको भाषा संस्कृति लगायतको विषयमा चर्चा गरेका थिए । तनहुँको रिसिङ्ग एरियाबाट शुरु भएको कौराहा संस्कृति संसार भरिका मगरहरुको आफ्नो संस्कृति भएको संस्थाका अध्यक्ष चन्द्र थापामगरले बताए ।

कार्यक्रमसँगै जम्मा भएका मगरहरुले कौराहा लगायतका गीत गायर नाचगान समेत गरेका थिए । वडा नम्बर ११ को पहलमा बिनियोजन भएको रु १,७५,००० र उपभोक्ताको रु २८,६०० गरेर जम्मा रु २,०३,६०० रकमको कार्यक्रम मगरहरुले आफ्नो कौराहा संस्कृतिको जगेर्ना गर्न खर्च गरेका हुन् ।