• असार १६ २०८१, शनिबार

अन्तस्करणबाट उब्जिएको र स्वीकारेको ज्ञान बाहेक अरु आडम्बर हो

चैत्र १४ २०७७, शनिबार

१)  जिन्दगीमा यति सङघर्ष गर कि भविष्यमा आफ्ना सन्ततीलाई सफलताको कथा सुनाउँदा अरू कसैको उदाहरण दिनु नपरोस् । असल गुरूले बनाउने हो, सफल आफै बन्ने हो । गन्तव्यको बाटो पछ्याउने होइन, खोज्ने हो । उघोग, व्यापार पैसाले होइन, विचार र विवेकले चलाउने हो । श्रम, कर्म हो । कर्म धर्म हो र धर्ममा कुनै वर्ग हुँदैन । रूखले जरा होइन, पात फेरिरहन्छ । सङकल्प जरा हो, पात उपलब्धि । वादविवाद जब लञ्छनामा उत्रिन्छ अनि जब बहस तनावमा तन्किन्छ ,त्यहाँ तर्क र कुतर्कबीच कुनै लक्ष्मणरेखा रहँदैन । वौद्धिक गधाहरू जब घाँस चर्न थाल्छन्, गोरखाको मुद्रा दोलखामा गएर अलमलिन्छ । मसि छ्याप्नेले सजिलै दाग लगाइदिन्छ । बिचरा भुक्ततभोगीलाई जीवनभर मसि धोइरहनुपर्छ ।

२)  जीवन आकाङ्क्षाको चक्रव्यूह हो । फस्ने यहाँ धेरै, उम्किने कम छन् । नेता युवालाई भर्याङ नबनाई तिनको भविष्यको सफलता बोक्ने भरिया भइदिएको भए यो देश अहिले धेरै माथि पुगिसक्थ्यो । झुठ केलाएर वास्तविकता खोज्ने मान्छे कम तर हल्लामा रमाउने धेरै । निन्दाशीलहरूलाई अरूको संवेदना मनोदशा र मनोभावनाको कुनै मतलब हुँदैन । काम गरी खाने मान्छेको छाला गैंडाको जस्तो बाक्लो हुँदैन ।
कर्मको जङ्गलमा चर्न जाने हो भने गैंडाको छाला ओढ्नेपर्छ । कोहीकोही नेता गन्हाउने मोजा जस्तै हुँदा रहेछन्, नलगाऊँ खुट्टा पोल्ने डर, लगाऊँ खपी नसक्नु ।  प्रकृतिले तीन कुरा सिकाउँछः घाँसबाट सहन, रूखबाट धैर्य र फुलबाट सौन्दर्य ।  मन पर्नु, नपर्नु मनको कुरा हो, कुनै कुरा स्वतः स्फूर्त व्यक्त गर्न पाइएन भने मन मलिन हुन्छ ।

३)  मान्छेले धेरै काम गर्न सक्छ । समाज परिवर्तन गर्न सक्छ । देशलाई मोड्न सक्छ । तर आफ्नै जीवनको धारलाई बदल्न सक्दैन । विपन्न समाजमा सम्पन्न भएर बाँच्न सजिलो छैन । धनाढ्य र नवधनाढ्य भनेर अवहेलना गर्न मिल्दैन । किनकि आजको निर्धन नै भोलि धनी हुने हो ।
मान्छेलाई अभावले सताउनु पर्छ । अभाव नै स्रोतसाधन र शक्ति हो । आदर्शवान, नैतिकवान एवम् निस्वार्थी भइरहनु पर्दैन । बस् आफ्नो स्वार्थपूर्ति गर्ने बेला अरूको स्वार्थ नाकुल्चिदिए पुग्छ । दिमागले सबै बोझ बोक्न सक्छ तर हृदयको भारबिहीन भार थाम्न सक्दैन ।
नायक त्यो हो, जसले परिस्थितिलाई आफूअनुकूल परिचालन गर्न सक्छ, जो परिस्थितिबाट परिचालित हुन्छ, त्यो नायक होइन ।
संस्था स्वामित्वमा होइन, अपनत्वमा चलाउनु पर्छ ।

४)  नेतृत्व लिगेसीमा हस्तान्तरण गर्ने बेला कसैले आफ्नो पहिचान खोजी हिड्छ भने त्यो लघु मनस्थितिले संस्थागत गर्न सक्दैन । नेताले नेता जन्माउँदै गयो भने संस्थाले कल्पवृक्षको सञ्जाल बुन्दै जान्छ,जसमा हाँगा कुन हो, जरा कुन हो छुट्याउन सकिन्न । धनवान् होस् वा बुद्धिमान, हामी सबै कति झुठ बोल्छौ ? कति कुरा काट्छौ, कति लुकाउँछौ अनि कति लोकाचार गर्छौं ? यी सब कमजोरी हाम्रा मनोदशाका झझल्को हुन् । यो आडम्बरको अर्को रूप हो, जुन असभ्य समाजका समृद्ध एवम् सम्पन्न व्यक्तिमा छ्यापछ्याप्ति पाइन्छ । अहम् अभिमान र चाहिनेभन्दा बढी स्वाभिमान पनि मान्छेको फितलो मानसिकताको दुर्बल पक्ष हो । सानोमा सानो समस्या र ठूलोमा ठूलै समस्या, बस् हामी देखाउन चाहन्नौं मात्र ।

५)  अन्तस्करणबाट उब्जिएको र स्वीकारेको ज्ञान एवम् यथार्थबाहेक अरू आडम्बर हो । सानो भएर बाँचौं । यसमै दुःख धेरै कम छ । पशुत्व प्रकृतिको नियम हो भने देवत्व मानवीय संस्कार हो तर चाहिनेभन्दा बढी देवात्वकरण गर्नु डरलाग्दो मनोवैज्ञानिक रोग हो । सुखदुःखको कुहिरोभित्र हराउनु मात्र जीवनको नियति होइन, त्यो मानसिक अनियमितता, आसमान्य, विकृति, विश्रृङ्खलता पनि हुनसक्छ । तर यो कुरा हामी मान्न तयार छैनौं । सुखदुःख सब मनमस्तिष्कको अन्तस्करणमा लुकिरहेको मानसिक चाप, चटारो, तनाव र धपेडीका प्रतिफल हुन् । हामी भन्छौ, खै जीवन यस्तै हो जीवन यस्तै हुँदैन । जीवनलाई हामी यस्तै बनाउँछौ, थाहा नपाएर । हामी सामाजिक प्राणी हौं । यो मेरो जिन्दगी हो, आफूखुशी बाँच्न पाउने मेरो अधिकार हो भन्दै हामी गैरजिम्मेवारपूर्ण तरिकाले जिन्दगी बाँच्न पाउँदैनौं । दोषी को हो त भनी आफूले आफैलाई १० ओटा प्रतिप्रश्न मात्र गरियौं भने दोषी त घुमिफिरी हामी आफै पो हुँदा रहेछौं । समस्याबाट भाग्नेहरूका लागि संसारमा कही पनि ठाउँ छैन तर चुनौतीको सामना गर्ने व्यक्तिका लागि जताततै सम्भाव नै सम्भावना छन् ।

६)  सबै कुरा भरपर्छ, मात्र सोचमा, सोच अनुभवमा, सोच दृष्टिकोणमा र सोच चिन्तनमा । समस्याका समाधान आकाशमा होइन, हाम्रै धर्तीमा हाम्रै नाकमुनि छन् । स्वार्थी भावनाबाट प्रेरित कालो मन लिएर कसैसित हामीले लेनदेन गर्न खोज्यौं भने त्यही अनुसारको प्रतिफल पाउँछौं ।
कसैलाई आफै आउँदैन अवसर, यो तक खोज्ने, ग्रहण गर्ने प्रयोग गर्ने र मिहिनेत गरेर प्राप्त गर्ने चिज हो । शासन चलाउने नेता र जनता दुवै राम्रो भए कुनै अर्को तन्त्रको आवश्यकता हुँदैन । प्रजातन्त्र स्वचालित राजनीतिक सुदृढीकरणको अचुक बाटो हो ।

७)  विकास भनेको गर्ने कार्य हो, विकृतिचाहिँ रोक्ने । वास्तवमा उकालो लाग्ने घोडाको लागम छाडिदिनु पर्छ । विकास गर्ने मान्छेलाई कस्नुहुँदैन । सहरभित्र संरक्षण विकासका लागि हुनुपर्छ । अनि गाउँमा विकास संरक्षणका लागि, आँखा चिम्लिएर न संरक्षण गरिन्छ ,न त विकास नै छाती र मश्तिष्कको अन्तद्र्वन्द्व्रलाई सम्हाल्न सजिलो छैन । सारा बोझ एवम् दुःख आफू एक्लै बोक्न तयार हुन्छ मान्छे, तर परिवारलाई दुःखको भारी बोकाउन अत्यन्त गाह्रो हुने रहेछ । आँखाले हेरेर कानले सुन्नेर मात्र होइन, पञ्चतत्वले ग्रहण गरे मात्र भ्रमण पूर्ण हुन्छ ।

८)  दिमाग एउटा मेसिन जस्तो पनि हो । खिया लग्यो भने यसले कमै गर्दैन । दिमाग एउटा इनार जस्तो पनि हो, जसबाट पानी निरन्तर झिकिराखियो भने स्रोतको निकास फुटेर स्वच्छा पानी आइरहन्छ । तर त्यहाँबाट पानी झिकिएन भने त्यो इनार पछि सुकेर जान सक्छ । मानिसले जतिसुकै मिहिनेत गरे पनि काम गर्न, गराउन जानेन भने एक्लैले कुनै पनि सफलता प्राप्त गर्न सक्दैन । सफलता प्राप्त गर्न जादुको छडि कसैसँग पनि हुँदैन, न हुन्छ कुनै शुत्र नै । खोजिबिनाको सोच मात्र पर्याप्त हुँदैन, त्यस्तै सोचबिनाको खोज पनि अर्थपूर्ण हुँदैन ।
जिन्दगीको बाटो राजमार्ग जस्तो सिधा हुँदैन । केही क्षण हिंडेपछि त्यहाँ दोबाटा र चौबाटा भेटिन्छन् । त्यस बेला कुन बाटो लाग्ने हो, त्यो निर्णय आफ्नै हुन्छ ।

९)  उघमशिलता ठूलठूला डिग्रीबाट होइन, सिर्जना र व्यवहारिक विवेकबाट मात्र हासिल गर्न सकिन्छ । ट्राफिक जाम भनेको हाम्रो वुद्धि र विवेकको जाम पनि हो, हामी गल्लीगल्लीमा करोडौ रूपैयाँ खर्च गरी भव्य महल बनाउँछौं तर बाटोका लागि एक इन्च जग्गा पनि छाडदैनौं ।
समृद्धि र सम्पन्नता सभ्यताको परिसूचक होइन । सम्पन्नतालाई ध्यानपूर्वक नियन्त्रण गर्न सकिएन भने समृद्धि अभिशाप पनि बन्न सक्छ । सधै सबथोक ठिक हुन्छ भनी बेफिक्री जिन्दगी बाँच्नु दिवास्वप्न हो । समस्यासँग सिंगौरी खेल्दै हामीले नकारात्मक खुट्किला टेकेर सकारात्मक भर्याङ् चढ्न सक्यौ भने समाजका धेरै समस्या सुल्झाउन सकिन्छ । जब चित्रकारले चित्र कोर्छन्, डकर्मीले घर बनाउँछन्, सहकर्मीले रन्दा लगाउँ छन्,किसानले खेत जोत्छन, त्यो बेला उनीहरू सन्तुष्टिको सुसेली हाल्छन् । मिठो गीत गुनगुनाउँछन् त्यही नै हो मोज ।
राजनीतिक समस्या पेटको भोकबाट होइन, मनको लोभबाट उब्जिएको हुन्छ ।

१०)  उघमी मौरी हुन्, उनीहरूले मह बनाउँछन्, खान्छन् र अरूलाई पनि खुवाउँछन् । वन चाहार्दै मह बनाउने बेला उनीहरूले फूलफूलमा रस चुस्छन् तर कहिल्यै बिगार्दैनन् । झनै फूलको प्रजनन् क्षमतामा सहयोग पुग्छ । जरा काटेर घाँसे जीवन त बाँच्न सकिन्छ तर वरपिपल भएर झाङ्गिन सकिंदैन । रावणको दरबारमा हनुमानलाई बस्ने स्थान नदिएपछि उनले शक्तिरूपी पुच्छरलाई तन्काएर प्रतिकूल अवस्थामा पनि आफ्नो आसन आफैले सिर्जना गरे । बुद्धि र शक्ति भए सेवक पनि मालिक बन्न सक्छ । ठूलाबडा भन्नेहरूलाई तानेर तन्काउने खबरले आजका ठूलाहरूलाई मात्र होईन, भोलिका हुनेवाला ठूलाहरूलाई पनि भविष्यमा दुष्प्रचारको चक्करमा फसाउन सकिन्छ ।

कर्ण शाक्यको ‘कोष जीवन पछिको जीवन’बाट