• मंसिर ११ २०८१, मंगलवार

ओलीको झेली रणनीति : वार्तापछि विप्लवलाई लोप्पा, जसपालाई खाडलको तयारी

चैत्र १४ २०७७, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपश्चात् देशमा दिनानुदिन राजनीतिक घटनाक्रमले पश्रय पाएको छ । यद्यपि संसद् पुनःस्थापना भएपनि विकसित राजनीतिक घटनाक्रम मथ्थर हुन सकेको छैन ।

सर्वोच्च अदालतले नेकपा बदरको फैसला र तत्कालित पार्टीद्वय नेकपा (एमाले) र नेकपा (ओवादी केन्द्र) ब्युँत्याएको छ । उसले यी दुवै पार्टीलाई पुनर्जीवन दिएसँगै थप राजनीतिक विग्रहको घटनाक्रमले उग्ररूप धारण गरेको छ ।

यसैबीच विद्रोही नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई प्रधानमन्त्री ओलीले शान्तिपूर्ण वार्तामा अवतरण गराएका छन् । ओली सरकार स्वयंले उक्त समूहमाथि २०७५ फागुन २८ गतेदेखि प्रविबन्ध लगाएको थियो ।

उसले प्रतिबन्ध लगाएको झन्डै ३ वर्ष पश्चात् विप्लवलाई शान्तिपूर्ण वार्तामा ल्याएको छ । ओली सरकार र विप्लव समूहबीच ३ बँदे सहमतिसमेत भएको छ ।

ओलीले विप्लवसँग शान्तिपूर्ण वार्ता गरेपश्चात् पनि उसलाई हेर्ने नजर बदलिएको छैन । जसरी उक्त समूह वार्तामा आउनुपूर्व देशमा भूमिगतरूपले हिंसालाई अंगाली रहेको थियो । ओली सरकारले ठीक त्यसरी नै हेर्ने नजर बदलिएको छैन ।

त्यसको दृश्य हो, –‘विप्लव समूहका ताप्लेजुङ जिल्ला सदस्य सकल लिम्बु पक्राउ पर्नु ।’ लिम्बु शुक्रबार (हिजो) आफ्नै जिल्ला सदरमुकाम फुङ्लिङबाट पक्राउ परेको विप्लव समूहका नेता उदय चलाउने बताए । नेता चलाउनेले वार्ता भएपश्चात् पनि आफ्ना नेता पक्राउ पर्नु गैरजिम्मेवारपूर्ण कार्य भएको भन्दै सरकारको निन्दा गरेका छन् ।

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमतिसहित भए यता लिम्बु पक्राउ परेको यो पहिलो घटना हो । ओली सरकारसँग वार्ताको क्रममा प्रतिबन्ध फुकुवा गर्ने र मुद्दा खारेज गर्ने, जेल तथा हिरासतमा बन्दी रहेको नेता तथा कार्यकर्ता रिहा गर्ने सम्झौता भएको छ ।

सरकारसँग भएको यो सम्झौता कार्यान्वयन हुन नसकेको कतियको भनाइ छ । यसरी हेर्दा, विप्लव समूह वार्तामा आउनुपूर्ण जसरी भूमिगत भएर देशका विभिन्न ठाउँहरूमा हिंसाको राजनीति गरिरहेको थियो । र, उसलाई सरकारले हेर्ने नजर पनि त्यस्तै थियो ।

सरकारको उक्त नजर फेरबदल हुन नसकेको धेरैको आकलन छ । ओली सरकारले विप्लव समूहसँग गरेको सम्झौताअनुसार हालसम्म पनि देशका विभिन्न ठाउँमा रहेका उसका नेता तथा कार्यकर्ता रिहा गरिएको छैन । बरु उसले उल्टै उक्त समूहका नेता हिजोमात्रै पक्राउ गरेको छ ।

त्यस्तै  सत्ता गठबन्धनलाई लिएर चार ठूला राजनीतिक पार्टी नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)बीच रस्साकस्सी भएको छ ।

देशका चार ठूला पार्टी नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र जसपाले सत्ता गठबन्धनलाई लिएर पटक–पटक भेटवार्ता र छलफल गरिरहेका छन् ।

सत्ता गठबन्धनका लागि काँग्रेस र जसपा निर्णायक मोडमा उभिएका छन् । यी दुई पार्टीले एमाले वा माओवादी केन्द्र जुन पार्टीलाई साथ दिन्छन्, उहीँ पार्टी सत्तामा पुग्ने निश्चित छ । यद्यपि अहिलेसम्म काँग्रेस र जसपाले सत्ता गठबन्धन वा साझेदारीका लागि कुनै पार्टीसँग गठबन्धन गरेका छैनन् । तर, भेटवार्ता, छलफलको क्रममा रहेको बता बुझिएको छ ।

राजनीतिमा देखिएको विकसित घटनाक्रमलाई नियाल्दा जसपाका केही शीर्षस्थ नेता एमाले र केही माओवादी केन्द्रसँग भेटवार्ताको क्रममा रहेको बुझिएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर र उनीनिकट शीर्ष नेता राजेन्द्र महतो एमाले अध्यक्ष केपी शर्मा ओली पक्षसँग सत्ता गठबन्धनका लागि छलफलमै छन् ।

जसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरू केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका थिए । जसपा अध्यक्ष ठाकुरसहित नेताहरू सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण प्रधानमन्त्री निवास बालुवाटार पुगेको जसपाका एक नेताले गोल मिडिया खबरलाई बताए ।

ती नेताले भने, –‘पार्टी अध्यक्ष ठाकुरसहितका केही नेताहरू प्रधानमन्त्री ओलीसँग छलफलका लागि बालुवाटारमै जानु भएको छ । यतिबेला उहाँहरू छलफलको क्रममा हुनुहुन्छ र छलफल पनि जारी छ । तथापि के विषयमा छलफल भैरहेको छ भन्ने प्रश्नमा उनले खुलाउन चाहेनन् ।’

तर, पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता डा.बाबुराम भट्टराई र उपेन्द्र यादव माओवादी केन्द्रसँग निरन्तर छलफलमा रहेको बुझिएको छ । यी नेताद्वय भने प्रधानमन्त्री ओलीसँग भेटवार्ताका लागि बालुवाटार नगएको भट्टराईनिकट एक नेताले बताए ।

अध्यक्ष ठाकुरले भट्टराई र यादवसँग कुनै छलफल र संवाद नगरी सत्ता साझेदारीका लागि ओलीसँग भेट्न पुगेको बुझिएको छ । संसद विघटन भए यता भट्टराईले ओलीमाथि चर्को आलोचना गर्दै आएका छन् ।

जसपाभित्रको पछिलल्लो राजनीतिक घटनाक्रमलाई चहार्दा, वरिष्ठ नेता भट्टराई र अध्यक्ष ठाकुरबीच मतभेद देखिन्छ । भट्टराई माओवादी केन्द्रसँग गठबन्धनका लागि छलफलमा रहेको स्रोत बताउँछ भने ठाकुर एमालेसँग नियमित भेटवार्ताको क्रममा छन् ।

पार्टीका वरिष्ठ नेता भट्टराई र अध्यक्ष ठाकुरबीच कुनै संवाद, छलफल भएको छैन । संवाद र छलफलबिना नै एमाले र माओवादी केन्द्रसँग सत्ता गठबन्धनका लागि साठगाँठ गरेको भन्दै पार्टीभित्र विवाद उत्पन्न भएको जसपाका एक नेता बताउँछन् ।

तर, जसपाभित्र अहिलेसम्म एमाले वा माओवादी कसलाई साथ दिने भन्ने निष्कर्षमा पुगेको छैन । तथापि पूर्वराजपा ओलीसँगै निरन्तर छलफल र भेटवार्तामा तल्लीन छन् । अध्यक्ष ठाकुर भने ओलीसँगै सत्ता साझेदारी गर्ने तयारीमा छन् । उनले केही दिन अगाडि ओलीसँग सत्ता गठनबन्धनकै लागि भनेर भेटवार्तासमेत गरेका थिए ।

भेटवार्ताका क्रममा ठाकुरले निलम्बित सांसद रेशम चौधरीको रिहा, मधेस आन्दोलनका मुद्दा फिर्ता र संविधान संशोधन गर्नुपर्ने माग राखेका थिए । ठाकुरको मागप्रति प्रधानमन्त्री ओली सकारात्मक भएको भन्दै ठाकुरनिकट केही नेताले ओलीसँगै सत्ता साझेदार गर्नुपर्ने अडान राखेका थिए । तर, पार्टीभित्रका वरिष्ठ नेता डा.बाबुराम भट्टराई र अध्यक्ष ठाकुरबीच यस बारेमा कुरा मिल्न सकिरहेको छैन ।

प्रतिपक्षी दल जसपामा सरकारमा जाने कि नजाने भन्ने विषयमा तीव्र मतभेद भैरहेकै बेला अध्यक्ष ठाकुरपक्ष प्रधानमन्त्री ओलीसँग सहमतिका लागि भेटवार्तामा रहेको स्रोत बताउँछ ।

ओलीको नेतृत्वको सरकारमा जानका लागि जसपाभित्रको राजपा पक्षले यसअघि आफ्ना माग पूरा गरेमा सत्ता साझेदारी हुने बताएका थिए । उनीहरूको मागप्रति प्रधानमन्त्री ओली सकारात्मक रहेको पूर्वराजपा पक्षले बताएको छ ।

प्रधानमन्त्री ओलीले जसपाका मागप्रति सकारात्मक रहेपनि ती माग पूरा गर्न ओलीलाई निकै चुनौती छ । कानुनी उल्झन र राजनैतिक दबाबका कारण उनले जसपाका माग पूरा गर्न गाह्रो छ ।

तथापि ओलीले आँखा चिम्लेर भएपनि जसपाका माग सम्बोधन गर्ने भन्दै आश्वासन दिएका छन् । ओलीको आश्वासनमा जसपा मख्ख परेर ओलीसँगै सत्ता गठबन्धनका लागि तत्परता देखाएको छ ।

यद्यपि ओली सरकारले विप्लव समूहसँग वार्ता गरेपश्चात् पनि उसका नेता पक्राउ गरेको छ । वार्ता गरेपनि उसले विप्लवका माग पूरा गर्न सकेको छैन । बरु उल्टै उसका नेता पक्राउ गरेर विप्लवलाई ओलीले लोप्पा ख्वाँएका छन् ।

विगतदेखि ओलीको झेली रणनीति नबुझ्दा विप्लव यथिबेला चिन्तित छन् । आफ्ना नेता यसरी पक्राउ पर्नुमा उनी चिन्तित बनेका हुन् ।
त्यस्तै ओलीले जसपाका माग सम्बोधन गर्ने भन्दै सत्ता गठबन्धन गर्ने तर पछि कार्यान्वयन नगर्ने सम्भावना विप्लवसँगको वार्ताबाट प्रष्ट भएको छ ।

कतिपय विज्ञको आकलनअनुसार तत्कालै जसपासँग ओलीले सत्ता गठबन्धन गर्ने र उसलाई सत्तामा पुर्याइ सकेपछि उसका कुनै पनि सहमति कार्यान्वय नगर्ने पक्का छ ।

जसपा भने बरु सत्तामा गएर भएपनि आफ्ना माग पूरा गर्ने सोचमा छ । तर, विप्लवका नेता पक्राउ पर्नुले जसपालाई ओलीले सत्ताको खाडलमा फसाउने र पछि कुनै कार्यान्वयन नगर्ने निश्चित छ ।

आँखै अगाडि खाडल देखेर पनि जसपाले ओलीसँग सत्ता साझेदार गर्छ वा गर्दैन, त्यो उसको बसको कुरा हो ।