• मंसिर ११ २०८१, मंगलवार

सरकारी लगानीको पर्खाइमा पर्यटकीय स्थल मौलाकोट

चैत्र १४ २०७७, शनिबार

दाङ, १४ चैत ।

दाङको घोराही उपमहानगरपालिका–१३ मौलाकोट अहिलेसम्म विकासको पर्खाईमा छ । २०३५ सालमा नगरपालिकामा गाभिएको मौलाकोटले अहिलेसम्म विकासको काँचुली फेर्न सकेको छैन । तत्कालीन गाँउपञ्चायत हुँदाका बखतदेखि अहिले उपमहानगरपालिका बन्दा सम्मपनि मौलाकोटले विकासको मुख देख्न सकेको छैन ।

२०३५ साल माघ १५ गते तत्कालीन सेवार पञ्चायत, त्रिभुवननगर पञ्चायत र हरिद्वार पञ्चायतलाई मिलाएर घोराही नगरपालिका बनेको थियो । नगरपालिका बनेपछि मौलाकोट घोराही नगरपालिका वार्ड नं ८ मा पर्यो । २०३५ सालदेखि मौलाकोटबासी घोराही नगरपालिकाका बासिन्दा त भए तर उनीहरुको दैनिकि फेरिएन । मौलाकोट संगै नगरपालिकामा गाभिएका अन्य वडाहरु कति विकसित भए तर मौलाकोटको ब्यथा कसैले सुनेनन् ।

२०३५ सालदेखी नगरपालिका तथा २०७३ सालदेखि उपमहानगरपालिका निर्माण हुँदा सम्मपनि मौलाकोटको मुहार फेर्ने तर्फ कसैको ध्यान जान सकेको छैन । हालसम्म मोलाकोटको सुन्दरता कसैले देखेनन् । मौलाकोटसम्म पुग्नको लागि कच्ची त्यो पनि ठाडो उकालो बाटो हिड्नुपर्ने बाध्यता छ त्यहाँका स्थानीयहरुलाई । मौलाकोट उचाईमा भएका कारण पानीको सधै समस्या हुने गरेको स्थानीयहरु बताउँछन् । स्कुल जाने उमेरका ससाना बालबालिकाहरु त्यही कच्चीबाटोबाट करीब एकघण्टाको दुरीमा रहेको श्री गणेश प्रावी सेवार बगाले र करीब डेढ घण्टाको दुरीमा रहेको बराह क्षेत्र माविमा पठाउनु पर्ने बाध्यता मौलाकोटबासीलाई छ ।

सामान्य पूर्वाधारको रुपमा भ्यू टावर र पिकनिक स्पटहरुको निर्माण गर्ने हो भने पर्यटकीय स्थलको रुपमा मौलाकोट चर्चामा आउने देखिन्छ । तर विकासले पछाडी पारेर नाम मात्रको उपमहानगरपालिकाबासी बन्नु मौलाकोटबासीको नियति नै भैसकेको छ । पिउने पानीको अभाव हुने मौलाकोटमा सिचाई सुविधा पनि छैन । वर्षादको समयमा केही उब्जाउ भएपनि हिउँदको समयमा जमिन बाँझो नै रहने गरेको छ । चुनावको समयमा गाँउ छिर्ने विकासका लागि यसो गरिदिन्छौं भन्ने नेताहरुप्रति विश्वास हराउँदै गएको मौलाकोटबासी वसन्ता पुन बताउँछिन् । त्यहाँ स्वास्थ्यको पनि उत्तिकै समस्या छ । वडामा रहेको नगर स्वास्थ्य क्लिनिकमा आउन समेत उनीहरुलाई करीब एकघण्टाको समय लाग्ने गर्छ । बाटोको असुुविधा शिक्षा, स्वास्थ्य तथा पानिको समस्याले उनीहरुलाई गाँउ पञ्चायतकै पालादेखि अहिलेसम्म छोडेको छैन । देशमा ठूलाठूला परिवर्तनहरु भए तर मौलाकोट अझै मौलाउन सकेको छैन ।

मौलाकोटको परिचय नामबाटै थाहा पाउन सकिन्छ । मौलाकोटको फेदीमा धार्मिक तथा पर्यटकीय स्थल बराह क्षेत्र मन्दिर रहेको छ । बराह भगवानको पुजागर्दा मौलाकोटलाई पनि पज्ने गरेको स्थानीयहरु बताउँछन् । उक्त मन्दिरमा आउने आन्तरिक पर्यटकहरु मौलाकोटसम्म पुगेर घोराही बजारको दृष्यावलोकन गरेर फर्कने गर्दछन् । घोराही बजारदेखि करीव १० किलोमिटरको दुरीमा रहेको मौलाकोटमा अहिले वनभोज खान जानेहरु आउने गरेको स्थानीयहरु बताउँछन् । सनिबार तथा विदाको दिन त्यहाँ मानिसहरुको चहलपहल हुन थालेको छ । तर पनि त्यहाँको विकास भने कछुवाको गतिमै रहेको छ ।

मौलाकोटमा भौतिक विकास र पर्यटकीय हिसाबले पनि अथाह सम्भावनाहरु हुँदाहुँदै पनि आधारभूत पूर्वाधारबाट बञ्चित रहेकोले त्यसलाई विकास गर्नकोलागि अहिले घोराहीको सामाजिक संस्था जेसिजले चासो देखाएको छ । सरकारी पक्षको नजर नपुगेको मौलाकोटलाई थप सुन्दर बनाउनका लागि विकास गर्न जेसीजग्राम नामाकरणगरी पर्यटक तान्न प्रचारप्रसारका साथै वनभोज स्थल समेत बनाएको त्रिभुवननगर जेसीजका अध्यक्ष मुकेश शर्मा बताउँछन् । युवाहरुको संस्था त्रिभुवननगर जेसिजले जेसिज ग्रामको रुपमा विकास गर्ने योजना अगाडी ल्याएपनि बजेट तथा कार्यक्रमहरुको अभाव भएको अध्यक्ष शर्माले बताए । मौलाकोटको प्राकृतिक सुन्दरताले त्यहाँ जाने जो कोहीको पनि मन लोभ्याउने भएकोले पनि जेसीजग्रामका रुपमा विकास गर्न खोजीएको उनको भनाई छ ।

दाङ जिल्लाबाट सरकारमा प्रतिनिधित्व गर्ने सांसद मन्त्री तथा सभामुखहरुसँग मौलाकोटको विकासका लागि छलफल गरिएपनि सरकारी लगानी भने भित्र्याउन नसकिएको अध्यक्ष शर्माले जानकारी दिए । जेसीजले बनाएको योजना अनुसार मौलाकोटमा भ्यू टावर निर्माण गर्ने, बाटो, विजुली र विद्यालय जस्ता आधारभूत पूर्वाधार तयार पार्नको लागि स्थानीय सरकार र प्रदेश सरकारलाई ध्यानाकर्षण समेत गराएको उनले बताए । मौलाकोटबाट घोराहीको दृष्यावलोकन गर्न सकिने, स्वच्छ तथा कोलाहल मुक्त वातावरण भएकोले पनि त्यहाँको विकास गर्न जरुरी रहेको उनले बताए । सरकारी निकायको ध्यान नपुगेको बेला त्रिभुवननगर जेसीजले सरकारको ध्यानाकर्षण गराउँदा मौलाकोटबासीले भौतिक विकासको आशा गरेका छन् ।

सेवार पञ्चायत हुँदादेखि घोराही उपमहानगरपालिकाबासी हुँदासम्मपनि कुनै परिवर्तनको अनुभूति गर्न नपाएको मौलाकोटबासीको भनाई छ । अहिलेको संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले थोरै मात्र बजेट विनियोजन गरिदिने हो भने साँच्चिकै मौलाकोटबासीले परिर्वतनको महशुस गर्ने थिए की । सम्भावना हुँदाहुँदै पनि सम्बन्धित निकायको आँखा पुग्न नसकेको मौलाकोट परिवर्तनको पर्खाईमा रहेको छ ।