• आश्विन ५ २०८१, शनिबार

घोराहीका तीनवटा तिनतारे होटल अतिउत्तममा पर्न सफल

चैत्र १३ २०७७, शुक्रबार

घोराही १३ चैत । दाङ जिल्लाको सदरमुकाम घोराहीस्थित होटेल सिटी प्लाजा प्रा.लि सबैभन्दा उत्तम होटेलमा पर्न सफल भएको छ । सरकारी मूल्यांकन अनुसार धेरै नम्बर तर्थात् ९६ अंक हासिलगरी सो होटेल अतिउत्तममा होटेलमा दर्ज हुन सफल भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख विवेक बञ्जारा नेतृत्वको टोलिले अनुगमन गरेको थियो । त्यसक्रममा तिनवटा होटेल अतिउत्तम सहित तिन तारे होटेलले हरियो स्टिकर पाए ।

सरकारी मूल्यांकनमा होटल माला इन र भिंग्रेली भिलेजले ९० अंक प्राप्त गरी अतिउत्तमको तिनतारे स्टिकर पाउन सफल भए । त्यसमा पनि होटेल माला इनले लगातार दोस्रोपटक अति उत्तमको स्टिकर पायो । यससँगै घोराहीमा तिनवटा होटेल खाद्य गुणस्तरमा अति उत्तममा स्तरीकरण हुने होटल बनेका छन् । ‘म ९८ अंक ल्याउँछु भन्नेमा ढुक्क थिएँ,’ होटेल सिटी प्लाजाका म्यानेजर कमलप्रसाद सुवेदीले भने, बुझे जतिको पुरै गरेको थिएँ ।’ उनका अनुसार नम्बर घट्ने ठाउँ छ जस्तो लाग्दैन्थ्यो । तर अनुगमन टोलिले खरीद गरेका केही वस्तुमा लेवल भेटाएन । खाने तेलमा एक पटक भन्दा दुईपटक नपकाउनु भन्यो । पिउने र भाँडाधुने पानी नियमित जाँचको रिपोर्ट माग्यो ।

सुझावहरु तत्कालै कार्यान्वयनमा ल्याउने होटेल माला इनका म्यानेजिङ डाइरेक्टर ओविन्द्रबहादुर महराले प्रतिवद्धता जनाए । अर्कोपटक अनुगमन हुँदा सबैभन्दा उच्च अंक ल्याउने विश्वास छ । होटल दर्ता गर्नेबेला देखि नै मापदण्ड जानकारी गराउन भिंग्रेली भिलेजका म्यानेजिङ डाइरेक्टर निरञ्जन राजभण्डारीको सुझाव थियो । कुनै कैफियत देखिन नदिने पनि उनको धारणा थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय प्रमुख विवेक बञ्जारा नेतृत्वको टोलिले अनुगमन गरेको थियो । प्रमुख बञ्जाराका अनुसार पचास प्रश्नका एक सय पूर्णाङ्क थियो ।

काम गरेपनि त्यसलाई लिखितरुपमा राख्न नसकिने कमजोरी भेटिएको प्रमुख बञ्जाराले बताए । होटेलका कर्मचारी स्वस्थ देखिन्छन् । स्वाथ्य जाँच गरेको लिखित प्रमाण छैन । फ्रिजहरु मरमत तथा जाँच गरेको छ, देखाउनुस् भन्दा रेकर्ड भेटिन्न । भौतिक पूर्वाधारको कमि देखिन्छ, बञ्जाराले भने । यसका लागि स्थानीय सरकारले मापदण्ड बनाउनुपर्छ । उनका अनुसार धारा, शौचालय कता र कस्ता बनाउने भन्ने समस्या छ ।

तर अघिल्ला वर्ष भन्दा राम्रो छ । सबैकुरा ट्याक ट्याक मिलेको छ यस्तो भयो भने काम गर्नपनि मजा आउँछ, डिभिजन प्रमुख बञ्जराले भने । उनको भनाई छ,‘दाङमा यति धेरै नम्बर कसैलाई दिएको थिइन । दुई वर्ष अघिदेखि स्तरीकरण गर्न थालिएको हो । त्यसबेला पनि सिटी प्लाजाले धेरै अंक ल्याई अतिउत्तम बनेको थियो । यसपटक पनि सो होटेलले यसअघिको आफ्नै रेकर्डलाई उछिन्दै दाङमा सबै भन्दा बढि नम्बर ल्याएको छ ।’

घोराहीमा स्तरीकरण भएका होटेलमा उपभोक्ताले ढुक्कसँग खान हुने डिभिजन प्रमुख बञ्जराको भनाई थियो । उनले स्तरीकरण नभएका होटेलहरुले कार्यालयमा सम्पर्क गर्न आग्रह गरे । उनले आफ्नो होटेलको स्तरीकरण गर्न माग गरेमा कार्यालयले गरिदिने बताए । उनका अनुसार होटेलका कर्मचारीको तालिम तथा स्वाथ्य जाँचमा सबै भन्दा कम चासो दिएको पाइयो ।

होटेलभित्र गरिएका मरमत तथा चेक जाँचको रेकर्ड धेरैकोमा भेटाउन सकिएन । काम गरेपनि त्यसलाई कागजमा व्यवस्थित नगर्दा नम्बर कम आयो । लुम्बिनी प्रदेशको राजधानी र यहाँ आउने पर्यटकलाई सत्कार गर्ने क्षमता विकास गरेको दाङ देउखुरी होटल व्यवसायी समितिका अध्ययक्ष रुद्रबहादुर डाँगीको भनाई थियो । उनका अनुसार ५० भन्दा कम नम्बर ल्याउने होटल छैनन् । दुई तारे, एक तारे होटेल धेरै छन् ।